प्रधानमन्त्रीका अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित थिएनन्ः परराष्ट्र मन्त्रालय

२०७७ असार ३१ बुधबार १०:०३:०० मा प्रकाशित

काठमाडौँ। परराष्ट्र मन्त्रालयले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती सम्बन्धी एक कार्यक्रममा राम र रामायणसम्बन्धी दिनुभएको धारणाकाे राजनीतिक विषयसँग सम्बिन्धत नभएको स्पष्ट पारेको छ । साथै उहाँको धारणा कुनै पनि समुदायको भावना र मर्ममाथि आहत गर्ने उद्देश्य नभएको पनि सो मन्त्रालयले एक विज्ञप्ति जारी गरी स्पष्ट पारेको हो ।

विज्ञप्तिका अनुसार श्रीराम र रामसँग सम्बन्धित स्थानहरूबारे विभिन्न किम्वदन्ती र आधारहरू भएकाले प्रधानमन्त्री ओलीले समृद्ध सभ्यतासहित श्रीराम, रामायण र तीसँग सम्बन्धित स्थानहरू र बृहत सांस्कृतिक भूगोलबारे थप अनुसन्धान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीको धारणामा अयोध्या र त्यसको सांस्कृतिक मूल्यको औचित्यलाई नजरअन्दाज गर्ने कुनै पनि ध्येय नभएको पनि उक्त विज्ञप्तिमार्फत् स्पष्ट पारेको छ ।

यस्तै, विज्ञप्तिमा मे २०१८ मा ‘रामायण सर्किट’ अन्तर्गत प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पहलमा जनकपुर अयोध्या यातायात सेवा सञ्चालन भएको पनि उल्लेख छ ।
(गोरखापत्र दैनिकबाट)

ताजा खबर