पूर्वगभर्नर रावलले पाए सफाइ

२०७७ असार ३१ बुधबार ०८:५०:०० मा प्रकाशित

विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तीन जनालाई सफाइ दिएको छ। विशेषका अध्यक्ष एवं न्यायाधीश शिवराज अधिकारी, न्यायाधीश बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको इजलासले विश्वसनीय प्रमाण नपुगेको भन्दै मंगलबार सफाइ दिएको हो।  

रावलविरुद्ध ९१ लाख रुपैयाँ र सजाय मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको आरोपमा २०७५ पुस ५ गते मुद्दा दर्ता गरेको थियो। विशेषका प्रवक्ता पुष्पराज पाण्डेयले विश्वसनीय प्रमाण नपुगेकाले सफाइ भएको फैसला उद्धृत गर्दै बताए। ‘शंकाको आधारमा मात्र कसुर भएको कानुन सम्बद्ध र न्यायोचित नहुने’ फैसलामा उल्लेख गरिएको उनले जानकारी दिए।  

‘इमेलसम्बन्धी प्रमाणका विषयमा पर्याप्त अनुसन्धान भएको नदेखिएको, इमेलसम्बन्धी प्रत्यक्ष प्रमाणको रूपमा नदेखिएको’ विशेष अदालतले फैसलामा भनेको छ, ‘प्रत्यक्ष र विश्वसनीय प्रमाणको अभाव रहेको देखिएको छ।’  

नेपाल राष्ट्र बैंकबाट १० रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छाप्दा आर्थिक लेनदेनको आरोप अख्तियारले लगाएको थियो।  

त्यसैगरी तत्कालीन नोट विभागप्रमुख उपेन्द्र केशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध जनही ९१ लाख ९ हजार रुपैयाँ र थप सजायको मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो। यी दुवैले सफाइ पाएका छन्।  

नोट छाप्ने क्रममा अस्ट्रेलियाको तर्फबाट स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको र गुणस्तरहीन नोट छपाइ भएको आरोप लगाएको थियो। छपाइ प्रक्रियामा गैरकानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको अख्तियारको दाबी थियो। 
(नागरिक न्युजबाट)

ताजा खबर