कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट देश सुरक्षित छैन : थापा

२०७७ असार ३१ बुधबार ०८:०६:०० मा प्रकाशित

'नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस, अब ओलीलाई प्रमबाट बिदा गर्नोस्।'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र रामबारे दिएको अभिव्यक्तिको व्यापक रुपमा आलोचना भइरहेको छ । सोमबार भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक अतिक्रमणमा परेको उल्लेख गर्दै भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्जदेखि पश्चिममा पर्ने बताएका थिए ।

उनले राम नेपाली भएको र भारतले विवादित अयोध्या खडा गरेको दाबी गरेका थिए । बिनाप्रमाण प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ ।

यसैक्रममा कांग्रेस सांसद तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री ओलीले नेकपाभित्रको आन्तरिक किचलोमा कुर्सी जोगाउन योजनाबद्ध ढंगले अस्त्र उठाउँदै राजनीतिक स्टन्ट गरेको आरोप लगाएका छन् ।

थापाले ट्वीटरमा लेखेका छन्, 'प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले 'जे पनि बोल्ने' प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ। मेरो विचारमा-यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढंगले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो ।'

प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिँदा भारतबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने हेक्का भए पनि त्यही आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई'कथित राष्ट्रवादी'बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा संवेदनशील विषयमा असंगत अभिव्यक्ति दिएको थापाले आरोप लगाएका छन् ।

गगन थापा लेख्छन्, 'यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रस्ट पार्छ । आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने,प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ।यसलाई हल्का रुपमा नलिऔं।यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पूरा हुन नदिऔं।'

सांसद थापाले प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले 'अन्टसन्ट' बोलेको पनि आरोप लगाएका छन् । प्रधानमन्त्रीको अभिक्यक्ति प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आएको उल्लेख गर्दै थापा भन्छन्, 'कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र !नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस,अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।'

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मबारे सोमबार दिएको अभिव्यक्तिप्रति नेपाल र भारतबाट टिकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाई राजनीतिक विषयसँग सम्बन्धित नभएको जनाएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर