आकस्मिक सेवा निःशुल्क गर्ने तयारी

२०७७ असार ३० मंगलबार ०९:४७:०० मा प्रकाशित

काठमाडौंं । देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७÷७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले सरकारले प्रारम्भिक आकस्मिक सेवा कार्यक्रम सुरु गर्न लागेको हो ।

केन्द्रीय अस्पतालहरूमा आकस्कि सेवा निःशुल्क बनाउने उद्देश्यले मस्यौदा लेखन अन्तिम चरणमा पुगेको बताइएको छ । सरकारको नीति तथा कार्यक्रममा गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने उल्लेख छ । सोही कार्यक्रम कार्यान्वयनका लागि मस्यौदा लेखन कार्य अन्तिम चरणमा पुगेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत उपचारात्मक महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलको संयोजकत्वमा आकस्मिक स्वास्थ्य सेवा निःशुल्कसम्बन्धी मस्यौदा तर्जुमा समिति गठन गरिएको थियो । संयोजक पोखरेलका अनुसार भोलि (मंगलबार)सम्म निर्देशक समितिलाई मस्यौदा पेस गर्ने तयारी छ ।

उनले भने, ‘इमर्जेन्सी कक्षमा बिरामी आइसकेपछि खतरामुक्त नहुँदासम्म लाग्ने खर्च सरकारले बेहोर्नेलगायतका विषय मस्यौदामा उल्लेख छ । आकस्मिक सेवाका लागि आएको व्यक्ति कि ज्यान कि अंगको खतरा भएर आएको हुन्छ ।’

वीर अस्पताल, कान्ति बाल अस्पताल, मानसिक अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति गृह, नरदेवी आयुर्वेदिक अस्पताल, सिभिल अस्पताल, नेपाल पुलिस अस्पताल केन्द्र्रीय अस्पतालमा यस किसिमको सेवा पाइनेछ ।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३५४
काठमाडौं उपत्यकामा हालसम्म ३ सय ५४ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । काठमाडौंमा २ सय ३४, ललितपुरमा ७५ र भक्तपुरमा ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौंमा तीन, ललितपुरमा पाँच र भक्तपुरमा एक जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १६ हजार ९ सय ४५ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १० हजार २ सय ९४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सोमबार मात्रै देशभर १ सय ४४ जनालाई संक्रमण देखिएको छ ।

संक्रमितमध्ये अधिकांश लक्षणविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, सोमबार मात्रै ५ हजार ८ सय ५६ जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म २ लाख ८९ हजार ३ सय ७१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, २३ हजार ४ सय ७० जना क्वारेन्टिनमा छन् । हालसम्म सक्रिय संक्रमित ६ हजार ६ सय १३ रहेको र उनीहरू आइसोलेसनमा उपचाररत छन् । संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर