मक्ख म्यानचेस्टर सिटी : च्याम्पियन्स लिग खेल्न पाउने

२०७७ असार ३० मंगलबार ०८:३५:०० मा प्रकाशित

लन्डन : प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले आगामी सिजनको युरोपियन प्रतियोगिता खेल्न पाउने भएको छ। दी कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) ले सोमबार म्यानचेस्टर सिटीको पक्षमा फैसला सुनाएको हो। उक्त फैसलापछि अब म्यानचेस्टर सिटीले आगामी सिजनको च्याम्पियन्स लिग पनि खेल्न पाउने छ।

सीएएसको फैसलासँगै विश्वभर रहेका म्यानचेस्टर सिटीका करोडौं समर्थक पनि खुसी भएका छन्। आर्थिक अनुशासन उल्लंघन गरेको आरोपमा युरोपेली फुटबल महासंघ (यूईएफए)ले गत फेब्रुअरीमा म्यानचेस्टर सिटीलाई आगामी दुई वर्षसम्म कुनै पनि युरोपियन प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो।

यूईएफएको उक्त निर्णयविरुद्घ म्यानचेस्टर सिटीले सीएएसमा पुनरावेदन गरेको थियो। म्यानचेस्टर सिटीमाथि सन् २०१२ देखि सन् २०१६ को बीचमा आर्थिक अनुशासनसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाइएको थियो। सोही आरोपमा यूईएफएले म्यानचेस्टर सिटीलाई तीन करोड युरो जरिवाना तिराउने निर्णय पनि गरेको थियो।

तर, सीएएसले जरिवाना रकम पनि घटाउने निर्णय गरेको छ। सीएएसको पछिल्लो निर्णयपछि अब म्यानचेस्टर सिटीले एक करोड युरोमात्र जरिवाना तिरे पुग्छ। सीएएसको उक्त निर्णयपछि म्यानचेस्टर सिटीले आफूहरूले न्याय पाएको प्रतिक्रिया दिएका छन्।

‘अन्ततः क्लबले न्याय पाएको छ। यो निर्णयपछि क्लबका समर्थक पनि खुसी भएका छन्। निष्पक्ष न्यायका लागि हामी न्यायालयप्रति आभार व्यक्त गर्न चाहन्छौं’, क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ। म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको साविक विजेता क्लब हो।

यो सिजन भने लिभरपुलले प्रिमियर लिगको उपाधि जितिसकेको छ। ६ पटकको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटी यो सिजन उपविजेता बन्ने पनि निश्चित भइसकेको छ। सीएएसको पछिल्लो निर्णयपछि अब म्यानचेस्टर सिटीले सन् २०२०÷२१ सिजनको च्याम्पियन्स लिग पनि खेल्न पाउने छ।

जारी सिजनको च्याम्पियन्स लिगमा पनि म्यानचेस्टर सिटी प्रिक्वार्टरफाइनलमा पुगिसकेको छ। प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको म्यानचेस्टर सिटीले प्रिक्वार्टरफाइनलको पहिलो लेग खेलमा स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडलाई २–१ गोलले हराएको थियो।

त्यसपछि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण च्याम्पियन्स लिगको बाँकी खेल स्थगित भएको थियो। अब प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेल आगामी अगस्ट ७ मा म्यानचेस्टर सिटीको घरेलु मैदानमा खेलिने कार्यक्रम तय भएको छ।

फैसलाको पूर्ण पाठ भने सीएएसले केही दिनपछि उपलब्ध गराउने छ। सीएएसको उक्त निर्णयमा चित्त नबुझे यूईएफएले स्विट्जरल्यान्डको संघीय अदालतमा पुनरावेदन गर्न पाउने छ। यद्यपि, फैसलाको पूर्ण पाठ नआएसम्म यूईएफएले यस विषयमा आधिकारिक प्रतिक्रिया नदिने बताएको छ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर