भूगोलपार्कमा सालिक राखिने

२०७७ असार २९ सोमबार ०९:२३:०० मा प्रकाशित

काठमाडौँ । रातो मत्स्येन्द्रनाथलाई भारतको कामारुकमाख्याबाट ल्याउने तत्कालीन राजा नरेन्द्रदेव, काठमाडौँ टेबहाल सर्वसङ्घका गुरुज्यु बन्धुदत्त वज्राचार्य र ललित ज्यापू भनिने चक्रधर ज्यापूको सालिक भूगोलपार्कमा राखिने भएको छ ।

सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बाग्मती प्रदेश सांसद अजयक्रान्ति शाक्यको पहलमा ४४ लाख रुपियाँको लागतमा सालिक स्थापना हुन लागेको हो । ढलौटबाट बनेका सालिक छ फिट उचाइका हुने शाक्यले जानकारी दिनुभयो ।

मूर्तिकार श्याम तुलाधरले सालिक निर्माण गर्नुभएको छ । नेपालमा अनिकाल लाग्दा गोरखनाथले नागलाई थिचेर राखेको तथ्य पत्ता लागेपछि गोरखनाथलाई आसनबाट उठाएर नागलाई फुकुवा गर्न नाथका गुरु मत्येस्न्द्रनाथलाई नजिक ल्याउनुपर्दा राजा नरेन्द्रदेवसहितको यो टोली भारतको कामारुकामाख्या पुगेको इतिहास छ । मत्स्येन्द्रनाथ गोरखनाथ अगाडि आएपछि सत्कारपूर्वक आसनबाट उठ्दा नाग फुकुवा भई भारी वर्षा भएको र यसै बेलादेखि सहकाल लागेको कथन छ । वर्षा र सहकालका देवताका रूपमा मत्स्येन्द्रनाथलाई पुज्ने र रथयात्रा गर्ने प्रचलन अझै छ ।

सालिक बनाउनुहुने श्याम तुलाधरका अनुसार सालिकका साथमा सात फिट अग्लो नागको प्रतीक पनि सँगै रहन्छ । भूगोलपार्कमा यो सालिक राख्न आवश्यक निर्माण भइरहेको कामनापा–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिनुभयो ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर