जनता समाजवादी पार्टीलाई प्रमाणपत्र

२०७७ असार २९ सोमबार ०९:०९:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले आयोगमन दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा)लाई आधिकारिकता दिएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता पछि दल दर्ताका लागि आयोगमा बुझाएको निवेदनअनुसार आयोगले दुई पार्टी मिलेर बनेको दल जनता समाजवादी पार्टीलाई आइतबार प्रमाणपत्र दिँदै आधिकारिकता दिएको हो ।

आयोगले दिएको आधिकारकतासँगै जनता समाजवादी पार्टी १५९ नम्बरमा दर्ता भएको छ । जसपाका नेता शिवजी यादव र केशव झाले दल दर्ता भएको प्रमाणपत्र बुझेका हुन् । आयोगको गत बुधबारको बैठकले जसपा दर्ता गर्ने निर्णय गरेको थियो । दुई पार्टी एकीकरण भएपछि अब आयोगमा दर्ता भएका दलको संख्या १ सय ३१ भएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुई दलबिच एकीकरणपछि आयोगलाई प्राप्त निवेदनका आधारमा प्रक्रिया पु¥याएर दल दर्ता गरिएको र प्रमाणपत्र दिइएको बताए ।

जनता समाजवादी पार्टीका नेता केशव झाले समेत दल दर्ताको प्रमाणपत्र लिइएको जानकारी दिए । दुवै दलबीच गत १० वैशाखमा पार्टी एकीकरण भएको थियो । एकीकरणपछि घोषणा भएको जसपाले दल दर्ताका लागि २५ जेठमा आयोगमा आवश्यक कागजात बुझाएको थियो ।

पार्टीले आयोगमा बुझाएको नामअनुसार महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन । पार्टीका वरिष्ठ नेतात्रयमा अशोककुमार राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो छन भने तत्कालका लागि ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ ।

जसपाका दुई अध्यक्ष ठाकुर र यादवले संयुक्त रूपमा विज्ञप्ति प्रकाशित गरी दल दर्ता प्रमाणपत्र र आधिकारिक पत्र प्राप्त गरेको जनाएका छन । एकतापछि दलको कार्यालय बालकुमारी ललितपुरमा रहने बताइएको छ । एकता पछिको जसपामा ३३ सांसद छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर