बिस्थापितको विद्यालयमा वास, सप्तरीको विभिन्न स्थान जलमग्न

२०७७ असार २९ सोमबार ०९:०३:०० मा प्रकाशित

सप्तरी, राजविराज । घरमा बाढी पसेपछि गभवति, बालबालिका र बृद्धबृद्धा समेत गरि अहिले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढा गाउँका ७५ परिवार बिस्थापित भई गाउँकै उच्च स्थानमा रहेको राष्ट्रिय आधारभुत प्राथमिक विद्यालयमा शरण लिएका छन् ।

चारैतिर कोशी नदीले घेरिएको सो गाउँमा शुक्रबार साँझ कोशीको बाढी पसेको थियो । बाढीले धमाधम घर डुवानमा परेपछि कोही आ–आफ्नो खाटमा चढे भने, कोही सुरक्षित ठाउँमा लगिदिन हारगुहार गर्न थाले । केहीक्षण पश्चात् वडा अध्यक्ष बिन्देश्वर यादवको पहलमा चार वटा डुङ्गाको व्यवस्था गरि रातारात ७५ परिवारलाई उच्च स्थानमा रहेको विद्यालयमा पु¥याइएको थियो ।

डुङ्गा चलाउने सीताराम यादव, लालु यादव, सन्तोष यादव र बलिराम सदाले अझ २५ परिवार बाढीले घेरिएको अवस्थामा रहेको र पालैपालो उद्धार गरि ल्याउने काम आइतबार पनि जारि रहेको बताए ।

वडा अध्यक्ष यादवले कोशीको बाढी विद्युतीय गतिमा पसेकाले चार वटा घर तथा एक दर्जन पशु चौपाया समेत बगाएको बताए । उनले अहिले पनि वर्षा जारि रहेकाले जोखीम बढ्दै गएको बताएका छन् ।

हाल बिस्थापित भई विद्यालयमा राखिएकाहरु मध्ये तीन जना गर्भवति महिलासहित बालबालिका र बृद्धबृद्धा गरि ७५ परिवार रहेको तथा केहीमा स्वास्थ्य समस्या समेत देखिएको वडा अध्यक्ष यादवले बताएका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले बिस्थापित मध्ये केहीमा स्वास्थ्य समस्या रहेको खबर आफूलाई पनि प्राप्त भएको बताउँदै औषधीसहित स्वास्थ्यकर्मीको टोलीलाई डुङ्गामार्फत त्यसतर्फ पठाउने तयारी भइरहेको जानकारी दिए ।

टप्पु गाउँको नाममले चिनिने गोबरगाढा गाउँ पुग्ने सबै मार्ग बाढीका कारण डुवानमा परेकाले एकमात्र साधन डुङ्गाको प्रयोग गरिएको र फसेकाहरुलाई सुरक्षित स्थानमा ल्याउने क्रम जारि रहेको उनको भनाई छ ।

यता निरन्तरको वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकाको विभिन्न वडा समेत जलमग्न भएको छ । कतिपयका घरमा वर्षाको पानी पसेर दुई फिटसम्म पानी जमेको छ । पीडितहरुले अविलम्ब पानी निकासको व्यवस्थापन गर्न माँग गरेको छ ।

सप्तरीमा वर्षेणी वर्षायाममा ठूलो जनधनको क्षति हुने गरेको छ । तर यसको दिर्घकालिन उपाय र स्थायी समाधान खोज्न नसक्दा क्षतिलाई टुलटुल हेरेर बस्न स्थानिय बाध्य छन् । तसर्थ यसतर्फ सम्बन्धीत निकायले ठोस पहल गर्नुपर्ने जरुरी देखिएको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर