९ घर पहिरोले बगायो, ११ जना बेपत्ता

२०७७ असार २९ सोमबार ०८:४६:०० मा प्रकाशित

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको पहिरोले ९ घर बगाएको छ भने ११ जना बेपत्ता भएका छन् । पहिरोमा परेका ४ जनाको स्थानीयले जीवितै उद्धार गरेको प्रहरीले जनाएको छ । पहिरोमा परी ५ घर परिवारका ११ जना बेपत्ता भएका छन् ।

पहिरोमा परी बेपत्ता हुनेमा सिलिचोङ–१ बेसिन्दा गाउँका राममान राईसहित उनकी श्रीमती हस्तकुमारी राई, छोरीहरु एन्जिला राई र नम्रता राई रहेका छन् । त्यसै गरी बेपत्ता हुनेमा जुद्धबहादुर राईको श्रीमती गोरीमाया राई, छोरी प्रकृति राई रहेका छन् ।

त्यसै गरी बेपत्ता हुनेमा जुद्धबहादुर राई (माने) र उनकी श्रीमती उत्तरकुमारी राई, हर्कराज राई र उनकी श्रीमती आइतमाया राई तथा नजमाया राई रहेका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो ।

पहिरोबाट स्थानीयद्वारा उद्धार गरिएका गोवासिंह राई गम्भीर घाइते भएका छन् भने उनकी श्रीमती फूलमाया र छोरी भीमसरी राई तथा भीमबहादुर राई सामान्य घाइते भएका छन् । अहिले पनि घटनास्थलमा पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको र बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन पैदल टाढा रहेको छ । बेपत्ताको खोजीका लागि ताम्कु, सिसुवाबाट प्रहरी र सेनाको टोलीले घटनास्थलमा पुगी खोजी कार्य गरिरहेको र सदरमुकाम खाँदबारीबाट थप प्रहरी १५ जना, सशस्त्र प्रहरी १५ र नेपाली सेना ३० जना त्यसतर्फ पैदल मार्गबाट पठाइएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो ।

पहिरो बेसिन्दा गाउँको करिब ३ सय मिटर माथिबाट झरेको थियो । पहिरोले गोवासिंह राई, राममान राई, जुद्धबहादुर राई गैरी, जुद्धबहादुर राई माने, नजमाया राई, हर्कराज राई, भीमबहादुर राई, सन्दीप राई र सुभधन राईलगायत ९ घर बगाएको प्रहरीले जनाएको छ । पहिरोमा उद्धार गरी रहेका दमका रोगी मदन राईको भने हृदयाघात भई मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले लगाएको अन्नबालीमा समेत लाखांैको क्षति पु¥याएको बताइएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर