करोडौंको सामान अलपत्र

२०७७ असार २९ सोमबार ०८:३२:०० मा प्रकाशित

भोजपुर : ठेकेदार कम्पनीले समयमै काम नसक्दा नेपाल टेलिकमका करोडौं मूल्यको सामान अलपत्र बनेको छ। पौवादुङमा गाउँपालिका ३, च्याङ्गे्रको चाम्ताङस्थित टेलिकमको टावर बनाउने ठेक्का पाएको ठेकेदार कम्पनी इस्टर नेपाल प्रालिले करोडौंका सामान ल्याएर अलपत्र पारेपछि विगत ५ वर्षदेखि सेवा सञ्चालनमा आउन सकेको छैन।

टावर सञ्चालनमा नआउँदा स्थानीयबासिन्दा सूचनाको पहुँचबाट बञ्चित छन्। कम्पनीले सामान ल्याएर पनि जडान नगर्दा सिंगो पौवादुङमा गाउँपालिकाबासी र आसपासका अन्य क्षेत्र सञ्चार सेवाबाट प्रभावित बनेका हुन्। स्थानीय बासिन्दा राम मगरका अनुसार टेलिकमको टावरको सामान वर्षौंदेखि त्यतिकै छ, गाउँमा नेटवर्क नै टिप्दैन, टेलिफोन गर्न डाँडातिर जानुपर्छ।

टेलिकमको टावर राख्ने कुरामा ठेकेदार कम्पनी इस्टर नेपाल प्रालिले कुनै चासो लिएको छैन। तात्कालीन समयमा उपकरण जडानका लागि भारतबाट ल्याइएका कामदारले सोलारसेट मात्रै जडान गरेर हिँडेपछि काम सम्पन्न हुन नसकेको नेपाल टेलिकमका केन्द्रीय प्रबन्धक सुजितानन्द मल्लले बताए।

उनका अनुसार ठेकदार कम्पनीले भारतबाट दक्ष कामदारलाई ल्याएर बस्ने, खाने राम्रो प्रबन्ध उपलब्ध भएमात्र काम अघि बढाउने तयारी गरेको बुझिएको छ। कम्पनीले कोभिड १९ का कारण काम गर्न नसकिएको उनले बताए। यता नेपाल टेलिकम भोजपुर शाखाले भने उक्त टावर निर्माणसम्बन्धी बेखबर रहेको बताएको छ।

जिल्लामा सञ्चालित सबै सेवा सञ्चारमा टेलिकमले निगरानी र प्राविधिक सहयोग गरे पनि उक्त टावर अलपत्र रहेकोमा कुनै जानकार नभएको नेपाल टेलिकम भोजपुर शाखा प्रमुख रामसेवक यादवले बताए। उनले कम्पनीले काममा ढिलाई गरेको पनि जानकारीमा नआएको बताए। सम्बन्धित ठेकेदार कम्पनीले टावर सुरु गरिदिए सञ्चार सेवाबाट लाभान्वित हुनेमा स्थानीय आशावादी देखिन्छन्। सेवा सुरु गरिए नेटवर्कको पहुँचबाट सहजता पुग्ने पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए।

उनले टावरका सम्पूर्ण काम सम्पन्न गर्न सम्बन्धित कम्पनीसँग पहल भइरहेको बताए। जिल्लामा अहिले १९ वटा नेपाल टेलिकमको टावर सञ्चालनमा छन्। ७ वटा टावर विविध प्राविधिक समस्याले सञ्चालनमा आउने नसकेको टेलिकमले जनाएको छ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर