लोकतन्त्रवादी एक हुने समय

२०७४ कार्तिक १५ बुधबार १०:२९:०० मा प्रकाशित

  लामो राजनीतिक संघर्षपछि नेपाल संविधानको निर्माण र कार्यन्वयनसँगै नयाँ युगमा प्रवेश गरेको छ । स्थानीयतहको निर्वाचन सम्पन्न भैसकेको र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रक्रिया समेत सुरु भैसकेर हामी लामो राजनीतिक संक्रमणको अन्त्यतिर आईपुगेका छौं । अहिले समग्र देश प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको उत्सवमा छ । मंसीर १० र २१ गते हुने निर्वाचन पश्चात हामीले संविधान कार्यन्वयनको राजनीतिक कार्यसूची पूरा गर्नेछौं । संक्रमणकालको अन्त्यपछि अव नेपाललाई बिकासको नयाँ युगमा प्रवेश गराउनुपर्ने चुनौती हाम्रा सामु छ । आर्थिक समृद्धिलाई राष्ट्रिय एजेण्डा बनाएर मुलुकलाई केही बर्षमै आर्थिक विकासमा निर्णायक बाटोतर्फ उन्मुख गराउनु हामी सबै लोकतन्त्रवादीहरुको साझा ध्येय हो ।

    तर आर्थिक बिकासको मोडल लोकतान्त्रिक शासन पद्धतिका विश्वव्यापी स्थापित मान्यता एवं खुला वजार अर्थतन्त्र र सामाजिक न्यायको छाता बाहिर गएर सम्भव छैन । लोकतान्त्रिक शासन पद्धतीको सुदृढिकरण र दु्रतगतिको आर्थिक विकास हाम्रो पहिलो प्राथमिकताको विषय भएकाले अव लोकतन्त्रवादीहरु फेरि एक हुनुपर्ने समय आएको छ । हामी नेपाली अर्थतन्त्रको निर्माणमा विषेश क्षमता प्रदर्शन गर्नुभएका व्यक्तिहरुलाई नेपालको आर्थिक विकास अभियानको नेतृत्वदायी भूमिकामा राख्न चाहन्छौं । उच्च दरको आर्थिक बृद्धि, समावेशी बिकास, पूर्वाधार निर्माण, गरिवी निवारण र रोजगारीमा प्रत्यक्ष योगदान पु¥याउने एवं विकास कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने हाम्रो बृहत्तर सोच र कार्यक्रम छ । यसका लागि राष्ट्रिय र अन्तराष्ट्रिय लगानीकर्ताहरुका लागि नेपाल विश्वमै लगानी मैत्री वातावरण भएको मुलुकका रुपमा स्थापित गर्नुपर्ने चुनौती हाम्रा सामु छ । साथै गैर आवासिय नेपालीहरुले आर्जन गरेको पुँजी, सिप र क्षमतालाई नेपालमा परिचालन गर्ने वातावरण तयार गरेर सबैलाई आर्थिक समृद्धिको अभियानमा गोलवद्ध गर्नु पर्नेछ ।

    यस पृष्टभूमिमा नेपाली अर्थतन्त्रको समृद्धिमा विशिष्ट योगदान पु¥याउनु हुने वरिष्ठ उद्यमीहरु, नेपाल उद्योग बाणिञ्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघको नेतृत्व गर्नुहुने सबै वर्तमान एवं पूर्व पदाधिकारीहरु, विभिन्न पेशा र व्यवशायमा रहेका व्यक्तित्वहरुलाई राष्ट्रिय समृद्धिको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाली कांग्रेस हार्दिक आग्रह गर्दछ ।

(नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाले नीजि क्षेत्रका नेताहरुलाई सम्वोधन गरी पठाएको पत्र)    

ताजा खबर