पेटमै हान्यो पहिरोले

२०७७ असार २९ सोमबार ०७:३१:०० मा प्रकाशित

म्याग्दी — झुरुप्प परेको बस्तीमा थियो मन्जिता श्रीपालीको घर । शुक्रबार बिहान झिसमिसे हुन भ्याएकै थिएन । २२ वर्षीया मन्जिता बस्तीका अरू सबैझैं ढुक्कको निद्रामा थिइन् । साथमा ६ वर्षका छोरा थिए भने पेटमा ६ महिनाको गर्भ । धौलागिरि गाउँपालिका–६ मराङ राम्चेस्थित त्यस बस्तीमा अचानक आएको पहिरोले घर मात्र भत्काएन, उनको पेटमै हान्यो । गर्भवती श्रीपाली गम्भीर घाइते भइन् ।

 

ग्दीको धौलागिरि–६ मराङ राम्चेकी २२ वर्षीया मन्जिता सिर्पाली आइतबार पोखराको मणिपाल शिक्षण अस्पतालमा र मराङमा गएको पहिरो । तस्बिर सौजन्य : शिव सिर्पाली

काखको छोरालाई चोट लाग्यो । आफन्तले उनलाई पहिरोबाट झिके । झिसमिसेमा छामछाम र छुमछुम गर्दै उनीहरू छिमेकीको पिँढीमा पुगे । त्यतिबेलासम्म श्रीपाली परिवारसमेत बस्तीका ९ जनालाई पहिरोले पुरिसकेको थियो ।

पहिरोले थिचिएर गम्भीर घाइते भएकी श्रीपालीलाई तत्काल उपचारका लागि अस्पताल लैजाने कुनै उपाय भएन । शुक्रबारको दिन भगवान्को प्रार्थना गर्दै बित्यो । घाइते गर्भवती अलपत्र परेको खबर सुनेपछि बेनीका युवा व्यवसायीहरू राजेश शाक्य र नारायण जीसीले निजी खर्चमा हेलिकप्टरबाट उनलाई उद्धार गरी बेनी पुर्‍याए ।

बेनी अस्पतालले ६ महिनाको उनको गर्भको शिशु नरहेको पायो । मन्जिताको हिपको हाड भाँचिएको भेटेपछि थप उपचारका लागि पोखरा रिफर गरिदियो । पोखराको मणिपाल शिक्षण अस्पतालमा आइतबार शल्यक्रिया गरेर उनको पेटबाट मृत शिशु निकालिएको छ ।

‘उता (गाउँमा) आफन्त गुमायौं । यता (अस्पताल) मा घाइतेलाई उपचार गर्ने पैसा नभएर समस्या भएको छ,’ आफन्त शिव श्रीपालीले भने, ‘ग्वार्रर्र, गड्याङ्ग गर्दै जतासुकै पहिरोको आवाज आइरहन्थ्यो, सबै बग्यो भन्ने लागेको थियो । छिमेकीको पिँढीमा पुगेर धन्न बाँचियो ।’

अग्लो सल्लेरी भीरको टुप्पीमा अवस्थित रुखो र भिरालो पाखोमा रहेको धौलागिरि मराङ र मालिका गाउँपालिका–७ विम गाउँ यतिबेला शोकमा डुबेको छ । पहिरोले यहाँका बस्ती उजाड भएका छन् । धेरैमाथिबाट सानो पहिरो झरे पनि बस्तीमा आइपुग्दा छरिएर धेरै क्षति भएको हो ।

पहिरोमा पुरिएकामध्ये आइतबार दिउँसोसम्म मराङका १९ र विमका ८ जनाको शव भेटिएको छ । आइतबार मराङमा एक जना खिम जुग्जालीको शव फेला परेको हो । शनिबारसम्म उनको नाम बेपत्तामा पनि थिएन । एकान्तको गोठमा पुरिएको अवस्थामा उद्धार टोलीले उनको शव फेला पारेको थियो । यहाँका चार जना अझै बेपत्ता छन् । पहिरोले मराङका कम्तीमा ५० र विमका १५ घर पूरै पुरेको छ । ६५ परिवार घरबारविहीन भएका छन् । एक सय ५० भन्दा बढी घर बस्नै नसक्ने गरी क्षतिग्रस्त भएका छन् । घर रहेकाहरूको पनि खेतीबाली पूरै नष्ट भएको छ । पीडितलाई हेम मावि सिवाङ, जनविकास मावि, दलित सामुदायिक भवन, किसानी मावि विम र केही आफन्तकोमा राखिएको छ । शनिबार साँझ केही दाताले पुर्‍याएको चाउचाउ, बिस्कुट र मेसमा खाना खुवाउन थालिएको छ ।

पहिरोपीडितलाई अहिलेको भोकले भन्दा भविष्यको चिन्ताले सताउन थालेको छ । पहिरोग्रस्त ठाउँमा फेरि बस्ती बसाउन सकिने सम्भावना देखिँदैन । यहाँ एउटै ठूलो पहिरोले सबै घर पुरेको होइन, मराङ र विममा घरभन्दा बढी पहिरो खसेका छन् । प्रत्येक पहिरोले एउटा वा दुईवटा घरमा क्षति पुर्‍याएकै छ । प्रभावित क्षेत्रमा पुग्ने झोलुंगे पुल भत्किएका छन् भने खानेपानीका मुहान र वितरण प्रणाली पहिरोले बगाएपछि आपूर्ति अवरुद्ध छ । पशुचौपायालाई चरन क्षेत्रमा पठाउन सकिएको छैन ।

‘घरगोठसमेत सबै एउटै भाइ परिवारका ६ जना गुमाउँदा पृथ्वी नै भासिएझैं भएको छ । सामुदायिक भवनमा ओत लागेको छु । खाना पनि निल्न सकेको छैन, भोकले भन्दा भविष्यको चिन्ताले सताएको छ,’ आफन्त गुमाएका सुमन जुग्जालीले भने, ‘घर, बस्ती र भविष्य सबै उजाड बनेको छ ।’

पहिरोले मराङको वडा कार्यालय बगाएपछि ०६० सालयताका सबै अभिलेख नष्ट भएको छ । प्रगतिशील आमा समूहको भवन पनि बगाएको छ । ‘बस्तीसँगै वडा कार्यालय पनि पूरै बगाएकाले पन्जीकरण, सामाजिक सुरक्षासमेत सबै सरकारी अभिलेखहरू पूर्ण नष्ट भएको छ,’ वडासचिव वेदुनाथ सुवेदीले भने, ‘म कार्यालयमै बस्थें । योजनाको फरफारक गर्न गाउँपालिकाको केन्द्र मुना गएकाले ज्यान बच्यो । ०६० सालअघिका अभिलेख तत्कालीन विद्रोहीले नष्ट गरे, त्यसयताको यसपालिको पहिरोले ।’

पहिरोमा पुरिएकाको खोजी र घाइतेको उद्धार तथा विपत्मा परेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम नसकिएकाले यकिन विवरण तयार भइनसकेको सम्बन्धित वडाध्यक्षहरूले बताएका छन् । पहिरोले घरबारविहीन भएकालाई सुरक्षित स्थानमा पुनर्वास गर्नुपर्ने स्थानीयको माग छ । मराङका वडाध्यक्ष राजाराम सुवेदीले भने, ‘घरबारविहीनलाई पुनर्वास गर्नु स्थानीय सरकारको दायित्व हो । अझै उद्धार र राहत व्यवस्थापनमै जुटेका छौं । सुरक्षित पुनर्वासको तयारी भइसकेको छैन ।’ शुक्रबार दिनभर पानी पर्न र बाढीपहिरो झर्न नरोकिएकाले कतैबाट पनि उद्धारकर्ता घटनास्थल पुग्न सकेनन् । पहिरोमा बाँचेका छिमेकीले विपत्मा परेकालाई आश्रय दिएका छन् । उनीहरूले सकेसम्मका घाइतेलाई उद्धार गरे । कैयन्लाई तातोपानी खुवाएर राखे ।

शनिबार दिउँसो पानी पर्न रोकिएसँगै खोल्साको बाढी घट्यो । पहिरोको दलदल केही ओभाएपछि हिलो छिचोल्दै छिमेकी गाउँका स्थानीय प्रभावित क्षेत्रमा पुग्न थालेका थिए । मध्याह्नदेखि हेलिकप्टरबाट आएका सेना र प्रहरी पुरिएकाको खोजी र उद्धारमा जुटेका थिए । उनीहरूले आफूसँग ल्याएका चाउचाउ र बिस्कुट दुई दिनदेखिका भोका पहिरोपीडितलाई दिए ।

पहिरोग्रस्त क्षेत्रमा छिमेकी गाउँका युवा क्लबका सदस्य, स्थानीय र सामाजिक कार्यकर्ता अवरुद्ध बाटो पन्छाउँदै पुगेका थिए । ‘धौलागिरिको कल्लेनी र रिखा दुई बस्तीमा २/२ जना अझै बेपत्ता छन् । त्यहाँ पहिरो निरन्तर खसिरहेकाले ताकम प्रहरी चौकीले पहिरो रोकिएपछि खोज्ने गरी सबै रेस्क्यु टोली फिर्ता गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘अब गाउँपालिका/वडा कार्यालयको सहकार्यमा पशुचौपाया, सम्पत्तिको क्षति र बस्ती सेटलमेन्टको काम सुरु गर्दैछौं ।’

घटनापछि उद्धार गरिएका १२ घाइतेमध्ये ३ जनालाई पोखरा, एकलाई काठमाडौं र ८ जनालाई बेनी अस्पतालमा उपचारका लागि लगिएको थियो । बेनी अस्पतालबाट ४ जना आइतबार डिस्चार्ज भएका छन् ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर