गोविन्द मामा ! घर नबनाउने ?

यसबेला म घरको वास्तविक अर्थ सम्झिने कोशिस गर्दैछु । मैले खोज्न सक्ने माध्यमहरूबाट यसको वास्तविकता बुझ्ने कोशिस गरेँ, पुस्तकालयहरू धाएँ । ठूला ठेलीहरू पनि पल्टाएँ । घरबारे धेरै व्याख्यानहरू भेटँे, तैपनि मेरो चित्त बुझेन । कतैबाट सन्तुष्ट हुन सकिनँ । 

 आज इन्टरनेटको जमाना छ । त्यहाँ पनि खुब चाहारेँ । इन्टरनेटको टुलले एकै पटक ९९ करोड ५० लाख संख्या देखायो घरका अनेक अर्थको बारेमा, त्यो पनि ५२ सेकेन्डमा । तीमध्ये केहीमा त घण्टौँ बिताएँ पनि तर मेरो चित्त बुझ्दै बुझेन । आफैँभित्र बाल्यकालदेखिको स्मृतिमा कुनै छाप पो छ कि भनेर खोतल्ने प्रयास पनि गरेँ । 

एउटा स्मृति जागा भयो । पाठशालामा ‘घर’ शीर्षकमा एक–दुई पटक निबन्ध लेखेको सम्झना भयो । एकपटक १० पूर्णाङ्कमा ३ अङ्क पाएको थिएँ । अर्को पटक पाएको अङ्क कति थियो, अहिले बिर्सें तर त्यो पनि थोरै थियो र शिक्षकको गाली पनि खानु परेको थियो । स्कूल छाडेर ४० वर्षभन्दा पछि ‘घर’ खोज्दा कुनै पनि भाष्यमा चित्त बुझेन । 

केही दिनयता सोच्दैछु, घर मेरो विषय नै होइन । घर मैले जान्ने, खोज्ने र भोग्ने विषय नै होइन । बाल्यकालदेखि ६० वर्षको उमेर छुनै लाग्दासम्म पनि घर बुझ्ने क्षमता विकास भएन । अर्कैले बनाइदिएको ‘घर’ मा पनि आजसम्म मेरो चित्त बुझेको छैन । 

मेरा गोविन्द मामा मैले जस्तै ‘घर’ खोज्छन् कि खोज्दैनन्, मलाई थाहा छैन तर हामी सबैले भन्ने घरेको घर नभएका, मजस्तै, हुन् गोविन्द मामा पनि । गोविन्द मामासँग सङ्गत भएको तीन दशक पूरा हुनै लागेको छ । आजसम्म मैले घरबारे उनले कुनै गुनासो गरेको सुनेको छैन ।

साँच्चै, गोविन्द मामा गुनासोविहीन हुन् ! मेरो विचारमा अवश्य होइनन् तर उनी आफ्नो गुनासो आफू एक्लै पिउन सक्षम छन् । उनी मजस्तै घर खोज्दै रङरङ बरालिँदै हिँडेनन् । उनले उस्तैउस्तै स्थितिमा एक घर र अर्को घर गर्दै कयौँ घर चाहारी सके । उनको भौगोलिक सीमा साँघुरो छ । उनलाई मैले जसरी संसार चाहारेर भौँतारिनु छैन । 

उहिले बाल्यकालमा गाउँखाने कथा हुन्थ्यो । जवाफ भन्न नसके नाम तोकेरै गाउँ दिनुपथ्र्यो । आफूले पाएको गाउँको सेरोफेरो आफ्नै हुन्थ्यो । गोविन्द मामाले गाउँखाने कथाको गाउँको सार राम्ररी बुझेका होलान् र त उनी जहाँ बस्छन्, त्यही रम्न जान्ने भएका छन् । घरका प्रसङ्गमा गोविन्द मामा अनौठो पाराले ढुक्क देखिन्छन् । 

म वातावरण र सामाजशास्त्रको विद्यार्थी हुँ भन्दै छाती फुलाउँछु । विद्यावारिधिको एउटा खोस्टो भित्तामा टाँसेर यसो हेर्दै आफैँ मख्ख पर्छु । आफूले लेखेका पुस्तक उठाउँदै एकातिबाट अर्कोतिर खात लगाउँछु । आफ्ना लेखहरूमाथि आएका टिप्पणी र विश्लेषण हेरेर कहिल्यै नपालेका जुँगा पनि मुर्साछु । 

बाँच्न त आत्मरति चाहिँदो रहेछ क्यार ! आफैँलाई भन्छु– घर नभएर के भयो र थर त मरेको छैन नि ! मेरो परिचय त मरेको छैन नि ! यसो भने पनि आफूले आफैँलाई फुल्याउनेजस्तो मात्रै हुँदोरहेछ र सधैँ यस्तै चलिरहँदो रहेछ । जो नयाँ मान्छे भेटिए पनि थोरै संवादपछि सोधिहाल्छ– घर कहाँ हो ?

के जवाफ दिने ! कहाँ भन्नु ! बनाउन सकेको छैन भन्दा नपत्याउने ! फेरि कहिलेकाहीँ त घर बनाएको छैन वा अमेरिकातिरको कुरा गर्दा घर किनेको छैन भनेर कसरी भन्नु ! साँचो कुरा नभनेर पनि के गर्नु ! म र मेरी अर्धाङ्गिनी त आफू बाँच्न र छाउरा हुर्काउनमै लखतरान छौँ । अब आफन्त र साथीसँगीले सोध्ने घर त सोच्नै छोडिसकेका छौँ भन्दा पनि गफ लगाएजस्तो हुने ।

 आजसम्ममा हामी धेरै घरमा बसिसक्यौँ, कतै पनि शान्तिको अनुभूति भएको छैन । सधैँ एक किसिमको असुरक्षा अनुभूति हुन्छ, बाहिरी र भित्री दुवैरूपमा । भित्री असुरक्षामा विचित्र खालको तिक्तता र शून्यताको अनुभूति हुन्छ । बन्दीगृहमा पो छौँ कि जस्तो पनि, आफ्ना सारा स्वतन्त्रताहरू र आवाज नै खोसिएजस्तो । पर्खाल र भित्तो गर्लम्म खसेर थिच्लाजस्तो । हामी दम्पती ठान्छौँ– हामीले जुगौँदेखि कतिको रिन खाएका छौँ र तिर्दै हिँडेका छौँ । 

आजकाल त म वर्षौंदेखि मैले र गोविन्द मामाले चाहारेका जस्ता घर होइन, साधुको कुटीजस्तो आश्रमको खोजीमा छु जहाँ मेरा र मेरी अर्धाङ्गिनीका विरह र दुखेसाहरू बिसाउन पाए हुन्थ्यो । त्यो कुटीमा कुनै त्रास नहोस्, स्वतन्त्रताको सास फेर्न पाइयोस्, एउटा अपार शान्तिको अनुभूति होस् । एउटा सच्चा सत्यको परख हुन सकोस् । 

मलाई मेरो यो कुटीकल्पना पनि सजिलै पूरा होला जस्तो लागेको छैन तर हिम्मत चाहिँ हारेको छैन । के थाहा कुनै आध्यात्मिक चमत्कार नै हुने पो हो ! 
कतै प्राकृतिक स्थलमा चराका गँुँड हेर्छु । कतै कतै त तिनका ओथारा, फुल र बचेरा पनि देख्छु । कतै बचेरालाई उड्न र आहारा खोज्न सिकाउँदै गरेका माउ पनि देख्छु । असीम आनन्दानुभूति गर्छु । तिनका अगाडि कहिलेकाहीँ त एकाएक थोरै लज्जा र हीनताबोध पनि नहुने होइन ।

 म आफ्ना लागि पनि यस्तै प्रकृतिको खोजीमा छु र हामी जिउन जानेनौँ भन्ने निष्कर्षमा पुगेको छु । यसै कारणले हो कि मैले घर भेटाउन नसकेको ! तैपनि, मेरो मुमुक्षुभाव भने जाग्रत छ । । घर खोज्ने क्रम रोकिएको छैन । 

आजकाल सोच्छु, पढेर मैले के जानेँ ! ज्ञानको यो अथाह महासागरमा मेरो भाग कति हो ! यो ब्रह्माण्ड र संसारबारे मेरो ज्ञान कति हो ! म पक्का छु, मेरो भाग विन्दु सरह पनि छैन ।

यो जगतको के कुरा गर्नु ! आफ्नै शारीरिक र मानसिक अवस्था, मन, मष्तिष्क र मुटुका बारेमा मेरो ज्ञान कति हो ! आजकाल म ठान्दछु– जान्दछु भनेर म मेरो अज्ञानता प्रदर्शन गर्दैछु । यति त म मेराबारेमा मात्र भन्न थालेको छु । म आफूबाहेक अर्कोको कुरा कसरी भनूँ ! आफूलाई नै चिनेको छुइनँ भने अरूको बारेमा के बोलूँ । मेरै श्वासप्रश्वास र रक्तसञ्चारका बारेमा के जानूँ ! आजसम्म त चलेकै त, समाप्तीका बारे अहिले नै के भनूँ !

भनूँ त भन्ने कुरो भेटिँदैन, नभनूँ त भन्न मन लागेको कति हो कति जस्तो ! यो शरीरको सञ्चालक म होइन, प्रकृतिको सञ्चालक पनि म होइन । म त केवल उत्पादन न हुँ । मेरा सबै सिर्जना कतैबाट, कसैबाट प्रभावित छन्, कृतिहरू यन्त्रवत छन्, आफ्नो केही छैन । 

मैले लिपिबद्ध गरेका विज्ञानका ठेलीहरू मेरा होइनन् । मेरा तर्क विवेचना हाम्रो प्राकृतिक र सांस्कृति वातावरणबाट अभिप्रेरित छन् । वास्तविक सर्जक भनेको त प्रकृति हो । समाज प्रकृतिकै एक अङ्ग हो । म अर्थात मान्छे त त्यसको नगन्य निमित्तमात्रै । निमित्त निर्णायक होइन । हाम्रो निर्णायक त प्रकृति हो । कोरोना भाइरस संक्रमणका सामुन्ने हाम्रो धनको फुर्ति र ज्ञानको अभिमानको के महत्व ! 

जग्गाजमिन, धनसम्पत्ति, हैसियत इत्यादिको स्रोत धराधरणीबाहेक अर्को छैन । आज यी धराधरणीलाई एकपटक गम्भीर आँखाले हेरौँ त के देख्छौँ ! फेरि घरतिर फर्कूं । आजको धराधरणीमा कैयौँ गगनचुम्बी महलहरूको अवसान पनि त हाम्रै आँखाले देखिसक्यौँ । अब म त्यो महलको कल्पना किन गरूँ ! धर्तीमा टेक्नुअघि आमाको गर्भाशय अथवा पाठेघर नै मेरो घर थियो । त्यसपछि म प्रकृतिमा मेरो घर खोज्ने क्रियामा छु । यी कङ्क्रिट घरहरू मेरो खोजीका होइनन् । थथार्थमा म घरविहीन हुँदैछु । घरविहीनताको बोधले अस्थिरता बढेको छ । 

मेरो र गोविन्द मामाको त छैन नै । घर भएका धेरै चराहरूले पनि गुमाइसकेछन् । धेरै वर्ष भयो, हामीले धान रोप्ने गरेको धाबीको बीचमा बाँकी रहेको एउटा सिमलको रुखमा टक्रकेको गुँड छैन । धाबीको आलीमा गँगटाले दुलो पार्दैन । मंसिरमा बोटैबाट मुसाले धान लुकाउँदैन । 

म कहिलेकाहीँ सोध्छु– गोविन्द मामा ! घर नबनाउने ?

गोविन्द मामा टक्रके र मुसातिर कुरा लान्छन् । 

अनि घरविहीन गोविन्दमामा किन घरको चिन्ता गरून् ! गोविन्द मामा त्यो बाल्यकालको गाउँखाने कथाको गाउँको सेरोफेरोमा आफ्नो घर खोज्दैछन् । त्यो गाउँ कहाँ छ र गोविन्द मामा ! गाउँको सेरोफेरो सबै मेरो ! वरपिपलका रुख र त्यहाँको चौतारो मेरो, चौतारोमुनिको धारो मेरो, बेँसीपारिको वन मेरो, वनको कालिज र मयुर मेरो ! पहिरो तेरो, डँढेलो तेरो, खडेरी तेरो !

यति कथा नजान्ने के हो ? 

के हो ? 

मान्छे !!

गोविन्द मामा यो भुक्तमान अनभूति गर्दैछन् । जटिलतालाई सरल बनाउने त उनको पेशा नै हो । त्यसो भए मेरा आदर्श हुन् गोविन्द मामा ! आदर्श होइनन् भनूँ भने घर खोज्ने मेरो प्रक्रिया नै बन्द हुन्छ । मेरो र गोविन्द मामा दुवैको घर नभएको प्रसङ्ग मनको कुण्ठा पोख्ने उपायमात्रै होइन । वास्तविक अर्थमा घर खोज्ने प्रयास हो । कस्तो घर, त्यो त माथि नै लेखिसकियो । 

घर खोज्ने आगामी यात्राका बारेमा मलाई ज्ञान छैन तर यात्रा जारी रहोस् र, सम्पूर्ण सुरक्षा र स्वतन्त्रतासहितको घर प्राप्त होस् भन्ने मुमुक्षा यथावत रहोस् । 
वसुधैव कुटुम्बकम् । (लेखक अमेरिकाको अकामाई युनिभर्सिटीमा पढाउँछन्)


 

ताजा खबर