चौबीस घण्टामा ७० नयाँ सङ्क्रमित थपिए, कुल १६ हजार ७१९

२०७७ असार २८ आइतबार ०८:१९:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको सङ्ख्या १६ हजार ७१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमितकाे सङ्ख्या १६ हजार ७१९ पुगेको जनाइएको छ । पछिल्लो चौबिस घण्टामा तीन हजार ६४८ जनामा कोभिड–१९ को परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोभिड–१९ का आठ हजार २३९ जना भाइरसको सङ्क्रमण सक्रिय रहेको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका कोभिड–१९ को आशङ्का गरिएकाको सङ्ख्या २४ हजार ८७ रहेको छ । पछिल्लो चौबिस घण्टामा ४३१ जना सङ्क्रमित निको भई घर फर्केका छन् । आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या आठ हजार २३९ छन् ।
त्यसैगरी, कोभिड–१९ सङ्क्रमितको निको हुने दर पहिलो पटक ५० प्रतिशतभन्दा माथि पुगेको छ । मन्त्रालयले परीक्षण बढ्दैजानु, सङ्क्रमित कम फेला पर्नुले निको हुने दर बढेर ५०. ५ प्रतिशत पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार थप तीन जना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ । मृत्यु हुनेमा काठमाडाैं महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरूष रहेकाे र उहाँ मृर्गाैला राेग पीडित हुनुहुन्थ्याे । त्यस्तै अर्का मृतक संक्रमित सिन्धुपाल्चाेक पाँच पाेखरीका ४५ वर्षाीय पुरूष रहनु भएकाे पत्रकार सम्मेलनमा जानकारी गराइयाे । त्यस्तै अर्का मृतक काठमाडाै गाेकर्णेश्वर नपा ४ निवासी ५४ वर्षीय पुरूष रहनुभएकाे छ । 
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर