बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

२०७७ असार २८ आइतबार ०८:०५:०० मा प्रकाशित

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले तयार गरेको क्षतिको विवरणअनुसार गत १ वैशाखयता २७ असारसम्म(तीन महिना)मा भएका ९ सय २२ घटनामा परेर १ सय ५३ जनाको मृत्यु भएको हो ।

केन्द्रका अनुसार बाढी, पहिरो, चट्याङ, हावा हुरी तथा सर्पदंशजस्ता घटनाबाट यो अवधिमा सो किसिमका जनधनको क्षति भएको हो । यो अवधिमा सबैभन्दा पहिरो तथा बाढीबाट क्षति पुगेको छ । यसबीचमा ४६ करोड १८ लाख ७२ हजार ५ सय ५० रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ ।

यसबीचमा भएका विभिन्न घटनामा परी ३७ जना बेपत्ता भएको र ४ सय ०६ जना घाइते भएको विवरणले देखाएको छ । यसबीचको समयमा प्राकृतिक विपद्का कारण ३ हजार ८ सय २० घरपरिवार विस्थापित भएका छन् । यस्तै, २ हजार ५ सय ४६ घर पूर्ण रूपमा क्षति भएको छ भने ३ सय ६१ घरमा आंशिक क्षति पुगेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने बढ्दो जोखिम कम गर्न आवश्यक तयारीलाई तीव्रता दिइरहेको बताएको छ ।

कोरोना संक्रमणकै बीच देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याएपछि प्राधिकरणले उद्धार र राहतलाई समेत तीव्रता दिइरहेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्को जोखिम न्यूनीकरणसहित प्रभावित भएका स्थानमा उद्धार, राहतसहित पुनस्र्थापनको कामलाई तीव्र रूपमा अघि बढाइएको बताए ।

‘विपद्को जोखिम बढ्दो क्रममा छ, बढ्दो जोखिमसहित न्यूनीकरणका प्रयास र प्रभावित स्थानमा उद्धार, राहत तथा पुनस्र्थापनका कामलाई तीव्र रूपमा अघि बढाइएको छ,’ प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले राजधानीसँग भने ।

तर, उद्धार तथा राहतका लागि पूर्वतयारी भए पनि कहिलेकाहीँ मौसमका कारण समस्या हुने गरेको पोखरेलको गुनासो छ । गत शुक्रबार म्याग्दीमा भएको घटनामा मौसमका कारण उद्धारका लागि तुरुन्त हेलिकोप्टर पठाउन नसकिएको उनले दुःख व्यक्त गरे ।

प्राधिकरणले उद्धारपछिको व्यवस्थापनका लागि ५ हजार गैरखाद्य सामग्रीको सेट सातवटै प्रदेशमा पठाइसकेको छ । प्राधिकरणले पठाएको एक सेटमा एक परिवारलाई राख्न सकिन्छ । सेटमा खाद्य सामग्री, लत्ताकपडा, ग्यास, भाँडाकुँडा, म्याट्रेस, प्राथमिक उपचारका सामग्रीलगायत आधारभूत आवश्यकताका सामान समावेश छन् ।

प्रभावितलाई विद्यालयमा राखिने

विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रभावित स्थानबाट उद्धार गरिएकाहरूलाई विद्यालय तथा संघसंस्थाहरूमा राख्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार प्रतिपक्षी दलका नेतासहित प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको छलफलमा प्रभावित स्थानमा रहेकाहरूलाई विद्यालय तथा सार्वजनिक संघ संस्थामा राख्नेबारे छलफल भएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बाढी तथा पहिरोबाट विस्थापितलाई उद्धार गरेर सार्वजनिक भवन र विद्यालयमा राख्नेबारे छलफल भएको जानकारी दिए ।

प्राधिकरणले शनिबार प्रधानमन्त्री निवासमा बाढी पहिरोका घटनाहरू बढिरहेको अवस्थामा उद्धार, राहत र पुनस्र्थापनालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता तथा सरकारका मन्त्रीहरूसँग छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवालगायत विभिन्न मन्त्रालयका मन्त्री र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।
(राजधानी दैनिकबाट)

ताजा खबर