वैदेशिक रोजगार : नौ महिनामा ५४ करोड ठगी

२०७७ असार २८ आइतबार ०७:३८:०० मा प्रकाशित

काठमाडौं : वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी अत्यधिक छन्।

वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर व्यवसायी (संस्थागत) तर्फ २९ करोड २६ लाख ४४ हजार रुपैयाँ ठगी भएको छ। दलाल (व्यक्तिगत) तर्फ २४ करोड २२ लाख २३ हजार रुपैयाँ ठगी भएको छ। एक हजार दुई सय ४१ जनाले विभिन्न बहानामा म्यानपावर तथा व्यक्तिगत रूपमा ठगी भएको भन्दै विभागमा उजुरी दिएका हुन्। यसमध्ये म्यानपावरतर्फ नौ सय चार वटा र व्यक्तिगततर्फ तीन सय ३७ वटा उजुरी परेको छ।

चालू आर्थिक वर्षको चैतसम्म दर्ता भएको तीन सय ३७ उजुरीसहित विगतदेखि थाती रहेका एक हजार एक सय ९२ जनाको ८० करोड ३६ लाख ६२ हजार आठ सय ९० रुपैयाँ ठगी भएको छ। यसमध्ये यो वर्ष उजुरी परेका एक सय ८७ जनाको १८ करोड ७७ लाख बिगोसहित विगतदेखि थाती रहेका तीन सय ९६ जनाको ४१ करोड ३४ लाख अदालतमा बिगो दावी गरिएको छ। संस्थागत रूपमा भएका ठगी छिटो छिनोफानो हुने गरी व्यक्तिगत ठगीका उजुरीमा समयमै सुनुवाई हुन नसक्दा कामदार मारमा परेका छन्।

सरकारले घोषणा गरेको फ्री भिसा, फ्री टिकट कार्यान्वयन गर्नुपर्ने म्यानपावर व्यवसायीले कामदारमाथि खुलेआम ठगी गर्दै आएका छन्। सरकारले सेवाशुल्क १० हजारभन्दा बढी लिन नपाउने नियम बनाए पनि म्यानपावर व्यवसायीले त्यसको २० गुणाभन्दा बढी रकम असुल्दै आएका छन्। दुई लाख ५० हजारभन्दा बढी रकम असुल्दा पनि सरकारले ठगी रोक्न कुनै कदम चाल्न सकेको छैन।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उजुरी गर्ने सचेत नागरिक भएको बताए। सरकारले १० हजारभन्दा बढी लिन नपाइने व्यवस्था गरे पनि व्यवसायीले ४०÷५० हजार मात्रै लिने भेटाउन पनि मुश्किल हुने गरेको उनको भनाइ छ। ‘बढी शुल्क लिने व्यवसायी कानुनी दायरामा आउँछन््’ उनले भने। उजुरीका आधारमा विभागले आकस्मिक नियमन गर्दै आएको छ।

विभागले ठगीको अनुसन्धान र अभियोजन आफै गर्छ। व्यक्तिगततर्फका उजुरी वैदेशिक रोजगार न्यायाधिकरणमा पठाइन्छ भने संस्थागत उजुरी दुई पक्ष सम्झौता गराएर पीडितलाई न्याय दिन्छ। विभागले प्रभावकारी अनुसन्धान नगर्दा न्याय पाउन समस्या हुने गरेको पीडितको गुनासो छ।

विभागका अनुसार चैत महिनामा संस्थागततर्फ २५ जनाको ५५ लाख ४० हजार र व्यक्तिगततर्फ १४ जनाको एक करोड २४ लाख ९५ हजार ठगी भएको उजुरी परेको छ। फागुन महिनामा संस्थागतरूपमा ५४ जनाको एक करोड ७८ लाख एक हजार ४५ रुपैयाँ ठगी भएको छ भने व्यक्तिगततर्फ एक करोड ६१ लाख ५ हजार तीन सय १५ रुपैयाँ ठगी भएको उजुरी परेको थियो।

विभागका अनुसार माघमा ७७ जनाको दुई करोड ८९ लाख ४८ हजार संस्थागत र व्यक्तिगततर्फ ४४ जनाको तीन करोड ९० लाख ३१ हजार ठगी भएको छ। पुसमा म्यानपावरले चार करोड ६१ लाख ८० हजार रुपैयाँ ठगी भएको भन्दै एक सय सात वटा उजुरी परेको थियो। व्यक्तिगततर्फ एक करोड ९२ लाख ९५ हजार ठगी भएको भन्दै ३७ वटा उजुरी दिएका छन्। मंसिरमा एक सय ३९ उजुरीमा पाँच करोड ५२ लाख रुपैयाँ संस्थागत र व्यक्तिगततर्फ ३४ वटा उजुरीमा एक करोड ८७ लाख रुपैयाँ ठगी भएको छ।

कात्तिक महिनमा म्याननपावरले तीन करोड ७ लाख ९५ हजार रुपैयाँ ठगी गरेको भन्दै एक सय एक वटा उजुरी दिएका छन्। व्यक्तिगततर्फ ४१ वटा उजुरीमा तीन करोड ५० लाख रुपैयाँ ठगी भएको दावी गरिएको छ। असोजमा म्यानापवरले दुई करोड २८ लाख ९५ हजार रुपैयाँ ठगी गरेको भन्दै २५ वटा उजुरी परेको छ। त्यस्तै भदौमा एक सय ६७ उजुरीमा पाँच करोड १२ लाख ६२ हजार रुपैयाँ संस्थागत र ४८ व्यक्तिगत ठगीमा तीन करोड १८ लाख ४७ हजार रुपैयाँ ठगी भएको उजुरीमा छ। साउनमा संस्थागततर्फ एक सय ४६ जनाले तीन करोड ५३ लाख ८८ हजार र व्यक्तिगततर्फ पाँच करोड ४५ लाख २६ हजार चार सय रुपैयाँ ठगी भएको थियो।

अनुसन्धानकर्ता रामेश्वर नेपालका अनुसार वैदेशिक रोजगारीमा जाने ९० प्रतिशतभन्दा बढी कामदार ठगिने गरेका छन्। वैदेशिक रोजगारीका नाममा मानव तस्करी मौलाएको राष्ट्रिय मानव अधिकार आयोगले गत असारमा प्रतिवेदन सार्वजनिक गरेको थियो। अनुसनधानकर्ता नेपालका अनुसार ठगी रोख्न कामदार सजग हुनुपर्ने बताउँछन्। ‘ठगी रोक्न सरकारले एक्सन लिनै पर्छ’, उनले भने, ‘नियमन प्रभावकारी बनाउन सके मात्र ठगी रोकिन्छ।’
(अन्नपूर्ण पोष्ट दैनिकबाट)

ताजा खबर