बाढीपहिरोको वितण्डा: तीन दिनमा ५५ जनाको मृत्यु, ३१ बेपत्ता

२०७७ असार २८ आइतबार ०७:२७:०० मा प्रकाशित

तीन दिनदेखिको अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित भएको छ। वर्षासँगै बाढीपहिरो र डुबानले सयौं परिवार विस्थापित भएका छन्। पहाडमा बाढीपहिरो र तराईमा डुबानको खतरा अझै टरेको छैन। बाढीपहिरोमा परी तीन दिनयता ५८ जनाको मृत्यु भइसकेको छ भने ३१ जना बेपत्ता छन्।

सबैभन्दा बढी गण्डकी प्रदेशमा ३७ जनाले ज्यान गुमाएका छन्। म्याग्दीमा २७, कास्कीमा सात र लम्जुङमा तीनजनाले ज्यान गुमाएका छन्। गण्डकीमा चारजना बेपत्ता छन्। कर्णाली प्रदेशमा १२ जनाले ज्यान गुमाएका छन्। जाजरकोटमा नौ, रुकुम पश्चिममा दुई र कालिकोटामा एकजनाको ज्यान गएको छ। उक्त प्रदेशमा ६ जना बेपत्ता छन्।

वाग्मती प्रदेशमा तीनजनाको ज्यान गएको छ। सिन्धुपाल्चोकमा बुधबार रातिको पहिरोमा परेका २० जना बेपत्ता छन्। यो प्रदेशमा मृत्यु हुनेमा सिन्धुपाल्चोकका दुई र चितवनका एकजना छन्। प्रदेश ५ अन्तर्गत नवलपरासी बर्दघाटमा दुईजना र गुल्मीमा एकजनाको मृत्यु भएको छ। प्रदेश १ अन्तर्गत सुनसरीको धरानस्थित सर्दु खोलामा डुबेर एक पुरुष बेपत्ता भएका छन्।  

म्याग्दीमा २७ शव फेला, चार अझै बेपत्ता

पश्चिम म्याग्दीका विभिन्न गाउँमा गएको पहिरोमा परेर हराएकामध्ये अहिलेसम्म २७ जनाको शव फेला परेको छ। धवलागिरि गाउँपालिका–६ मराङ र मालिका–७ बिममा शुक्रबार बिहान गएको पहिरोमा परेर बेपत्तामध्ये शनिबार साँझसम्म २७ जनाको शव भेटिएको प्रहरीले बताएको छ। बेपत्तामध्ये मराङमा १९ र बिममा आठजनाको शव भेटिएको हो। मराङमा तीन र बिममा एक गरी चारजना अझै बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए। अरू बेपत्ताको खोजीका लागि सुरक्षाकर्मी परिचालन भएको उनले बताए।  

प्रहरीका अनुसार मराङको रिखामा बेपत्ता भएकामध्ये सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, जनिमा केसीका १८ वर्षीय छोरा प्रकाश केसी, हीरामति जुग्जाली, करिस्मा जुग्जाली, कञ्चन जुग्जाली, गौसरा जुग्जाली, दिमा जुग्जाली, लिप्ती जुग्जाली, दिवन जुग्जालीलगायतको शव भेटिएको छ।  

यसैगरी बिमको पहिरोमा बेपत्ता भएकामध्ये ४० वर्षीय विष्णु पौडेल, चार वर्षीया इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनका तीन महिने छोरा, विष्णु नेपाली र सन्दीप नेपालीको शव भेटिएको छ। मृतक सबैको विवरण भने खुल्न सकेको छैन। बाढीपहिरोको चपेटामा परेका धवलागिरि गाउँपालिकाका पाँच सय ९० जनालाई बस्तीबाट अन्यत्र लगिएको प्रहरी नायब उपरीक्षक कुँवरलेल बताए।

मराङको पहिरोमा परेर मेरुदण्डमा समस्या भएपछि २२ वर्षीया गर्भवती मन्जिता श्रीपाली तथा सात वर्षीय सफल श्रीपालीको हेलिकोप्टरमार्फत उद्धार गरी बेनी अस्पतालमा प्राथमिक उपचार गरिएको छ। उनीहरूलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ। त्यस्तै मालिका–७ बिमका ३६ वर्षीय पूर्णबहादुर नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ। बाढीपहिरोबाट विस्थापित मराङको कल्लेनी र जहरेमा बस्ने ८९ जनाको उद्धार गरी धवलागिरी–७ सिबाङस्थित हेम माविमा ५० जना तथा बाँकी ३९ जनालाई आफन्तकोमा राखिएकोे छ।  

उत्तरी म्याग्दीको रघुगंगा–३ स्थित राहुघाट खोलानजिकैको बस्तीका २१ घरधुरीका ८५ जनालाई सोही ठाउँको गायत्री मन्दिरमा राखिएको छ। जिल्लाभरिबाट शुक्रबार र शनिबार गरी आठ सय ५० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। मराङ र बिममा १२ जना पहिरोस्थलमै फसेका छन्। मराङ र बिमस्थित पहिरोस्थलमा सांसद भूपेन्द्रबहादुर थापा, पूर्वसांसद नवराज शर्मा, म्याग्दीका प्रजिअ ज्ञाननाथ ढकाल र प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरसहितको टोली रहेको छ।  

जाजरकोटमा थप दुई शव फेला, ६ बेपत्ता  

जाजरकोटको बारेकोट–४ सार्कीगाउँमा आएको पहिरोमा बेपत्ता थप दुईजनाको शव फेला परेको छ। पहिरोमा पुरिएको अवस्थामा ३८ वर्षीय कलु र उनका ६ वर्षीय छोरा सुभाष सार्कीको शव फेला परेको हो। बिहीबार राति गोपाल सार्की र कलु सार्कीका घर पहिरोले बगाएको थियो। पहिरोमा पुरिएका सातजनाको शव शुक्रबार भेटिएको थियो। उक्त पहिरोमा परेका तीनजना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। साथै बारेकोट–६ धुममा आएको खहरे खोला बगाउँदा २० वर्षीय शिव चलाउने र १२ वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। जुनीचाँदे–१ सानुखोला तर्ने क्रममा पनि एकजना बेपत्ता भएका छन्।  

गृह जिल्लामा दाहालको निरीक्षण  

पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले शनिबार चितवनको माडीमा बाढीले पु¥याएको क्षतिको अवलोकन गरेका छन्। दाहालले माडी जानुपूर्व भरतपुर महानगरपालिका–२७ र २८ को सीमाक्षेत्र न्युरेमा नारायणी नदीले गरेको कटान अवलोकनपछि तटबन्धको काम प्रभावकारी रूपमा गर्न निर्देशन दिए।  

वाग्मती प्रदेशका सांसदद्वय कृष्ण भुर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनुु दाहाल, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारलगायतले बाढीबाट भएको क्षतिबारे  दाहाललाई अवगत गराए। नारायणीले कटान गरेको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा तटबन्ध भइरहेको छ।

त्यस्तै चितवनको माडीमा खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका ३० वर्षीय एक युवकको शव फेला परेको छ। उनको सनाखत हुन सकेको छैन।  

स्थानीय तह र सदरमुकामबीच सडक सम्पर्क विच्छेद

अविरल वर्षाका कारण रौतहटको सदरमुकाम गौरसहित दर्जन गाउँ डुबानमा परेका छन्। जिल्लाको पूर्वतर्फ वाग्मती र पश्चिममा लालबकैया तथा बीच भएर बग्ने सहायक नदीहरूमा आएको बाढीले खेतीयोग्य जमिन पूर्ण रूपमा डुबान गर्नुका साथै बस्तीमा समेत प्रवेश गर्न थालेका छन्। बाढीले ईशनाथ, राजपुर, परोहा र बौधीमाई नगरपालिकाको सडक सम्पर्क विच्छेद भएको छ।

लाल बकैया नदीमा आएको बाढीले ईशनाथ नगरपालिका–१ बन्जरहा गाउँ पडुवानमा परेको छ। बकैया नदीको पानी बन्जरहा गाउँको बस्तीमा सरदर २ देखि ३ फिटसम्म पानी जमेको छ। शनिबार बिहानै वाग्मती सिँचाइ आयोजनाको ३६ वटै ढोका खोलिएको हुँदा दक्षिणी भेगका जनता सजग भएर बस्न अपिल गरेको रौतहटका प्रजिअ वासुदेव घिमिरेले बताए।  

बस्ती डुबानमा पर्ने त्रास  

गण्डक नहरमा पानीको बहाव बढेसँगै डुबानको जोखिम बढेको छ। गण्डकमा पानीको वहाव बढेपछि नवलपरासी पश्चिमका दक्षिणी क्षेत्रका बस्तीहरू डुबानको खतरामा परेका छन। गण्डक ब्यारेजमा पानीको सतह बढ्न थालेपछि नेपालतर्फका बस्तीहरू जोखिममा परेका हुन।  

भारतीय पक्षले आफूलाई सुरक्षित बनाएर मात्रै गण्डक नहरको ढोका खोलिदिने भएकाले स्थानीयहरूले समस्या भोग्नुपरेको सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थरुनीले बताईन। नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको १६ वटा ढोका खोलिएको छ। २ लाख १५ हजार क्युसेक प्रति सेकेन्ड पानीको बहाव पुगेपछि ब्यारेजको ढोका खोलिएको हो। स्थानीयहरूलाई अहिले सचेत रहन सूचना जारी गरिएको नवलपरासी (पश्चिम) का प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए।  

सुस्ता गाउँपालिकामा भने बाढीले नहरमा निर्माण गरिएको कल्वर्ट बगाइदिएको छ। सुस्ता गाउँपालिका–४ मा पर्ने नर्सही बर्दीघाट सडकखण्डमा पर्ने कल्वर्ट बाढीले बगाएपछि प्रतापुपुर र सुस्ताका बासिन्दाको आवतजावत रोकिएको छ। यस्तै गरि सुस्ता–२ मा पर्ने सातपट्टी गाउँ जाने पुल बाढीले बगाएपछि त्यहाँ पनि आवतजावतमा समस्या भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। लगातार बर्षा भएपछि रूपन्देहीको तिनाउ र दानव नदीले डुबानको जोखिम बढाएको छ।  

 कर्णाली राजमार्गमा सवारीसाधन अलपत्र

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो गएपछि बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन्। तिला गाउँपालिका–१ राराको गाडगुडेनी खण्डमा पहिरो गएको हो। झन्डै २० मिटर सडकमा पहिरो आएकाले यातायात ठप्प छन्। दैनिक रूपमा बिरामी ओसारपसार गर्ने एम्बुलेन्सलगायत दर्जनांै गाडी सडकमै रोकिएका छन्।

सडकमाथिबाट ठूल्ठूला चट्टान सडकमा खसेकाले पन्छाउन सकस भइरहेको ट्राफिक प्रहरी दिलानन्द भट्टले जानकारी दिए। पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको टोली पहिरो गएको स्थानमा पुगेको छ। तर मेसिन नहुँदा पहिरो पन्छाउन समय लाग्ने बताइएको छ।  

सचेत रहन गाउँपालिकाको आग्रह  

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सावधानी अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण बाढी पहिरो र भूक्षयजस्ता प्राकृतिक प्रकोप निम्तिने खतरा बढेको भन्दै गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै पालिकाबासीलाई सुरक्षित रहन सचेत गराएको हो। गाउँपालिकाले वर्षाका कारण आफ्ना गाउँटोल वा छरछिमेकमा बाढी पहिरो गए वा बाढी पहिरोको जोखिम देखिए तत्काल खबर गर्न आग्रह गरेको छ। प्राकृतिक जोखिमबाट बच्न र बचाउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सात वडाध्यक्ष, कर्मचारी र प्रहरीचौकीको सम्पर्क नम्बरसमेत उल्लेख गरेर सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।  

बर्दियामा प्राथमिक उपचार र पूर्वाभ्यास तालिम

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा रेडक्रसका कर्मचारीले बाढीको डुबानबाट बचाउन पूर्वाभ्यास तालिम गरेको छ। तालिममा उद्धार र प्राथमिक उपचारको विधि सिकाउने गरेको सहायक प्रजिअ गणेशविक्रम शाहले बताए। बाढी आए उद्धार कसरी गर्ने भन्नेबारे सुरक्षाकर्मीले बबई नदीमा कला प्रस्तुत गरेका थिए। बाढी पूर्वतयारीका लागि कृत्रिम अभ्यास जरुरी भएकोे रेडक्रसका पूर्वअध्यक्ष महेशचन्द्र गौतमले बताए। ‘नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसका स्वयंसेवक र स्थानीय सहभागिता अभ्यास गरिँदै आएको छ,’ उनले भने। मनसुन सक्रिय रहेकाले कर्णाली र बबई नदीको सतह बढ्ने क्रममा छ।

सप्तकोसीमा खतरा टर्दै

सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेपछि खतरा टर्दै गएको छ। शनिबार बिहान ५ बजे यस वर्षकै उच्च पानीको बहाव पुगेकोमा अपराह्नदेखि भने घट्न थालेको छ। शनिबार बिहान ५ बजेको मापनअनुसार पानीको बहाव दुई लाख ७५ हजार पाँच सय ५० प्रतिसेकेन्ड क्युसेक पुगेकोमा अपराह्न ४ बजे दुई लाख ३७ हजार सात सय ९० मा झरेको छ। बिहीबार रातिदेखि बढेको पानीको बहाव निरन्तर बढ्न थालेको हो। सुनसरीका निमित्त प्रजिअ महेष पोखरेलले कोसीमा खतराको तहसम्म पानीको बहाव बढे पनि अब बिस्तारै घट्न थालेकाले आत्तिनुपर्ने अवस्था नभएको बताए। सुनसरी कोसी गाउँपालिका–८ को एक घर डुबेर क्षति पुग्नुका साथै अरू घर डुबानमा पर्न थालेपछि स्थानीयलाई स्कुलको आश्रयस्थलमा राख्न थालिएको छ। धरान उपमहानगरपालिका–१३ स्थित सर्दु खोलामा डुबेर ५५ वर्षे रामबहादुर बस्नेत बेपत्ता भएका छन्।  

अशोक स्तम्भको अस्तित्व संकटमा  

क्रकुछन्दका जन्मेको प्रमाणस्वरूप सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ पानीमा डुबेको छ। कपिलवस्तु नगरपालिका–५ गोटीहवा गाउँमा रहेको स्तम्भको आधा जति भाग पानीमा डुबेको हो। खुला स्थानमा रहेको स्तम्भ पानीले समेत डुब्दा यसको अस्तित्व संकटमा पर्दै गएको छ। स्तम्भ भएको ठाउँमा खाल्टो रहेकाले पानी जमेर त्यसको तीन फिट जति भाग डुब्ने गरेको छ। पानी बढी पर्दा स्तम्भको पाँच फिटजति डुब्ने गरेको छ। स्तम्भ एक दशकबाटै डुब्दै आए पनि सरोकारवाला निकायको खासै ध्यान जान सकेको छैन। स्तम्भ करिब १० फिट आठ इन्च अग्लो छ।  

डुब्यो ‘गोबरगाढा’ गाउँ

मनसुनसँगै निरन्तरको वर्षापछि कोसी नदीमा बढेको पानीको बहाव सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा गाउँ पसेपछि डुबानमा परेको छ। चारैतिरबाट कोसीनदीले घेरिएको टापु गाउँ ‘गोबरगाढा’सँग सहरको सम्पर्क विच्छेद भएको छ।

गोबरगाढाका ७० घरधुरीका करिब  सयजना घर छोडेर आधारभूत विद्यालय (राप्रावि) मा आश्रय लिएका छन्। उनीहरूले शनिबार दिउँसो चामल भुटेर भोक मेटेका छन्। त्यहाँका मेयर शैलेशकुमार साहले चामल, दाल, चिउरालगायत खाद्यान्न शनिबार राति गोबरगाढा पठाएको वडाध्यक्ष विन्देश्वरी यादवले बताए। प्रदेश २ का तीनवटै सुरक्षा निकायका साढे सात सय सुरक्षा उद्धारकर्मी तयारी अवस्था तैनाथ गरिएका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए।  
(नागरिक न्युजबाट)

ताजा खबर