म्याग्दीमा बाढीपहिरोबाट मृत्यु हुने २७ पुगे

२०७७ असार २८ आइतबार ०७:१४:०० मा प्रकाशित

म्याग्दी — भारी वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरामा मृत्यु हुनेको २७ पुगेको छ । धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या शनिबार २७ पुगेको हो । पशुचौपायालगायत अन्य क्षति बारे लेखाजोखा हुन सकेको छैन ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार शनिबार राति साढे ८ बजेसम्मा २७ जना व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा शवहरु उत्खनन गरी सनाखतसमेत गरिएको छ ।

 

प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जारी गरेको विज्ञप्ति अनुसार धौलागिरिका १८, मालिकाका ८ र रघुगंगा गाउँपालिकाका १ जनाको शव भेटिएको बताए । हालसम्म १२ जना घाइतेहरुलाई उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रहरुमा पठाइएको छ ।

जिल्लाभरबाट करिब ८९६ जना जोखिममा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घौलागिरि गाउँपालिकाबाट ५९० जना, मालिका गाउँपालिकाबाट १९६, रघुगंगा गाउँपालिकाबाट ८५ जना र बेनी नगरपालिकाबाट २५ जरी ८९६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले बताएको छ । प्रभावित क्षेत्रहरुमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको संयोजन साथै विभिन्न संस्थाहरु समेतको सहयोगमा पाल, ब्ल्याङकेट, म्याट र कम्बल, खाद्यान्नलगायत राहत सामग्री वितरण गरिएको छ ।

पहिरोका कारण मालिका गाउँपालिका बिम, दुले र नुरवाङ र धवलागिरि गाउँपालिकाका मराङ, कल्लेनी, राम्चे र रिखा बढी प्रभावित भएको छ । पहिरोबाट ५० बढी घरका ७ सय जना विस्थापित भएका छन् । विस्थापितमध्ये सिवाङ माविमा ८०, दलित सामुदायिक भवन राम्चे, मराङमा २ सय ५०, जनविकास आधारभूत विद्यालय अर्वाङमा २ सय र अन्यलाई विमको किसानी मावि र आफन्तकोमा राखिएको छ । उनीहरुका लागि ३ देखि ५ दिनलाई पुग्ने ५० बोरा चामल, दाल, नुनतेल समेतको खाद्यान्न पुर्‍याइएको छ । सिवाङमा रहेका कल्लेनी र ताकमका विस्थापितलाई धौलागिरि गाउँपालिकाले छुट्टै खाने व्यवस्था मिलाएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

धौलागिरि गाउँपालिका

  • तुलबहादुर क्षेत्री
  • सुकना लामगादे
  • आशिस लामगादे
  • आयुष लामगादे
  • आयुषा लामगादे
  • रेश्मा सुनार
  • मन सुनार
  • कमला श्रीपाली
  • सुरक्षा श्रीपाली
  • सुरज श्रीपाली
  • प्रकाश केसी
  • हिरामति जुग्जाली
  • करिश्मा जुग्जाली
  • कञ्चन जुग्जाली
  • गौशरा जुग्जाली
  • दिमा जुग्जाली
  • दिप्ती जुग्जाली
  • दिवान जुग्जाली
    (कान्तिपुर अनलाइनबाट)

ताजा खबर