गोकर्णले सम्झियो बहादुर शाह

२०७७ असार २७ शनिबार ०९:२२:०० मा प्रकाशित

काठमाडौँ । पृथ्वीनारायण शाहको अचानक निधनपछि नेपाल एकीकरणको अभियान एक खालले अलपत्र परेको थियो । पूर्वी अभियान करिब सम्पन्न भए पनि पश्चिमतिर अगाडि बढ्न बाँकी नै थियो ।

एकीकरणको अलपत्र अभियानलाई पूर्णता दिने इतिहासका नेतृत्वदायी पात्र राजकुमार बहादुर शाहको (पृथ्वीनारायणका कान्छा छोरा) मृत्यु भएको २२३ वर्षपछि गोकर्णको दक्षिण ढोकामा स्मरण गर्ने प्रयास थालिएको छ ।

गोकर्णको जङ्गल नजिकै दक्षिण ढोकामा ढाल–तरबार बोकेर बहादुर शाह ठिङ्ग उभिइसकेका छन् । यस कर्मको सूत्रधार रामेश्वर फुुँयाल हुनुुहुन्छ । तत्कालीन संविधान सभा सदस्य र अहिले बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्छ फुँयाल । दक्षिण ढोकामै बहादुर शाहको सालिक किन ? मन्त्री फुँयाल इतिहासमा अन्यायमा परेका पात्रलाई वर्तमानमा न्याय दिने प्रयास गरेका हाँैं भन्नुहुन्छ ।


सुगौली सन्धिले लगाएको पश्चिम साँध सिमाना समेटर लिम्पियाधुरा सहितको अद्यावधिक नक्सा सरकारले सार्वजनिक गरिसकेको छ । यही बेला नेपाल एकीकरण अभियानका पात्र बहादुर शाहको सालिक निर्माण हुनु एउटा गजब संयोग भएको अनुभव मन्त्री फुँयालको छ ।

नेपाल ट्रस्टको नाममा रहेको करिब अढाइ रोपनी जग्गामा निर्माण गरिएको ‘दक्षिण ढोका शान्ति वाटिका’मा बहादुर शाहको सालिक स्थापना गरिएको छ । यो कार्यलाई मन्त्री फुँयाल उब्रिएको जग्गाको उत्कृष्ट उपयोग भन्नुहुन्छ ।


जोरपाटी–साँखु सडकसँगै जोडिएको सार्वजनिक जग्गामा धेरैका आँखा लागेका थिए । फोहोर फाल्ने ठाउँका रूपमा रहेको चौर २०७१ सालपछि संयुक्त जनआन्दोलन उद्यानका रूपमा नामकरण गरी संरक्षण प्रयास थालियो । गोकर्णेश्वर नगरपालिका–७ स्थित उद्यानको सुरुवाती अवधारणा र विकासमा मन्त्री फुँयालले नै पहल गर्नुभएको थियो । शान्ति वाटिका व्यवस्थापन समितिका अध्यक्ष नानीकाजी गिरीका अनुसार नेपाल ट्रस्टको जग्गा भोगाधिकार लिनेदेखि सुरुमा ५० हजार रुपियाँ बजेट विनियोजन गर्ने सम्मको काम मन्त्री फुँयालबाटै भएको हो ।


गोकर्णेश्वर नगरपालिका–७ का वडा अध्यक्ष केशव गुरुङका अनुसार प्रदेश भौतिक पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट प्राप्त १० लाख र बाग्मती प्रदेश सरकारबाट नेपाल भ्रमण वर्ष २०२० स्तम्भ निर्माण गर्न प्राप्त पाँच लाख रुपियाँले सालिक र स्तम्भ निर्माण कार्य गरिएको हो । करिब तीन फिट अग्लो स्तम्भमाथि सात फिट तीन इन्च अग्लो सालिक स्थापना गरिएको छ । उहाँका अनुसार दक्षिण ढोकाबाट गोकर्ण जङ्गलको पश्चिम किनार हुँदै गोकर्णसम्म पुग्ने करिब तीन किलोमिटर सडकको नामकरणसमेत बहादुर शाह मार्ग राखिएको छ ।

शान्ति वाटिकामा ब्याडमिन्टन कोर्ट पनि छ । सानो पानीपोखरी पनि छ । पोखरीमा कमल फुलेका छन् । माछा रमाएका छन् । वाटर फाउन्टेन पनि छ । व्यवस्थापन समितिका पूर्व अध्यक्ष बद्री अर्याल बिहान बेलुका थकाइ मार्ने र आनन्द लिने ठाउँ बनेको छ । वरपरका ज्येष्ठ नागरिक, बालबालिका र युवाको थकाइ मार्ने थलो हो । यहाँबाट गोकर्णका मृग, घोरल र चित्तल हेरेर आनन्द लिन सकिन्छ भन्नुहुन्छ ।


दरबारभित्र शक्ति र सत्ताका लागि भाइभारदारबीच वैमनश्य र षड्यन्त्र झाँगिदै थियो । त्यो षड्यन्त्रको सिकार बनेका थिए, बहादुर शाह ।
इतिहासकार बाबुराम आचार्य लिखित ‘अब यस्तो कहिल्यै नहोस्’ पुस्तक अनुसार, राजकुमार बहादुर शाहको गुप्त हत्या १८५४ साल असार १४ गते भीमसेनथानभन्दा केही तल मल्लकालीन गढी किल्लामा गरिएको थियो ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर