सेयर बजारमा उत्साह सातामा ५ अर्बको कारोबार

२०७७ असार २७ शनिबार ०९:११:०० मा प्रकाशित

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार रकम र परिसूचक दुवैमा उल्लेख्य सुधार आएको छ । लगानीकर्ता सक्रिय हुँदा ५ अर्ब बढीको कारोबार भएको बजारमा नेप्से परिसूचक पनि पहिलो दिनको तुलनामा ६५ दशमलव ६५ अंकले बढेर एक हजार ३ सय ३१ दशमलव ११ को बिन्दुमा पुगेको छ ।

१ सय ९७ कम्पनीको कारोबार भएको बजारमा ५ अर्ब १६ करोड २ लाख ६ हजार १ सय ६४ रुपैयाँबराबरका १ करोड ३६ लाख २६ हजार २ सय ५३ कित्ता सेयर खरिद बिक्री भएका छन् । गत साता १ सय ६६ कम्पनीको १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँभन्दा बढीको ४० लाख ९६ हजार ६ सय २ कित्ता सेयर खरिद बिक्री भएको छ । साताको अन्त्यसम्म आइपुग्दा बजार पुँजीकरण १७ खर्ब ४६ अर्ब ३५ करोड ७७ लाख ३० हजार पुगेको छ ।

कोरोना भाइरसको प्रभावकै बीचमा पनि सेयर कारोबारमा लगानीकर्ता कारोबारमा सक्रिय भएका छन् । वित्तीय प्रणालीमा पर्याप्त मात्रामा तरलता रहेको कारण पनि बजारका सकारात्मक प्रभाव गरेको लगानीकर्ताको बुझाइ छ । अर्कोतिर साउन लागेपछि ब्याजदर थप सस्तो हुने अनुमान, केन्द्रीयले निर्माण गर्न लागेको मौद्रिक उपकरणले पनि ब्याजदर थप तल झार्न सहयोग पुग्ने विश्लेषण भइरहेका छन् । यसले समेत बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । सेयर बजार सुधारका लागि अघि नियमक निकायले अगाडि बढाइएका कदमले पनि लगानीकर्ताको आत्मविश्वास र मनोविज्ञानलाई उच्च बनाएको छ ।

साताभरि निरन्तर उकालो लागेको नेप्सेसूचक एक दिन मात्रै सामान्य घटेको थियो । पहिलो दिन आइतबार १ हजार २ सय ५६ दशमलव ११ को बिन्दुबाट सुरु भएको नेप्से परिसूचक ९ दशमलव ३५ अंकले बढेको थियो । त्यस्तै, सोमबार ३३ दशमलव २७ अंकले, मंगलबार ३२ दशमलव ९४ अंकले र साताको अन्तिम दिन बिहीबार ४ अंकले बढेको परिसूचक साताको चौथो दिन बुधबार १० दशमलव ५७ अंकले घटेको छ ।

यस साता सबै समूहगत उपपरिसूचक बढेका छन् । गत साताको तुलनामा सबै उपसमूह बढेका हुन् । सबैभन्दा बढी जीवन बिमा समूह ६८५ दशमलव ४२ अंकले बढेको छ । निर्जीवन बिमा ६७६ दशमलव ५२ अंकले, होटेल १७८ दशमलव ७ अंकले, लघुवित्त १६९ दशमलव ९७ अंकले, उत्पादन तथा प्रशोधन समूह १३० दशमलव २५ अंकले बढेको छ । त्यस्तै, अन्य समूह ८० दशमलव ६ अंकले, व्यापार ४५ दशमलव ८५ अंकले, बैंकिङ समूह ३९ दशमलव ३१ अंकले, विकास बैंक ३६ दशमलव ०९ अंकले, जलविद्युत् ३२ दशमलव २४ अंकले, वित्त १८ दशमलव ३३ अंकले र म्युचुअल फन्ड शून्य दशमलव ३२ अंकले बढेको छ ।

यस साता बोनस, डिबेन्चर र प्राथमिक सेयर गरेर सातवटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएका छन् । स्वदेशी लघुवित्त वित्तीय संस्थाको ४६ लाख कित्ता, एभरेस्ट बैंकको ४० लाख ३३ हजार ४३१ दशमलव ६७ कित्ता, उन्नति लघुवित्त वित्तीय संस्थाको ३ लाख ४० हजार ७४१ दशमलव ५० कित्ता, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको १ लाख ९० हजार ३५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । कृषि विकास बैंकको २५ लाख कित्ता, सिटिजन बैंकको २५ लाख कित्ता ऋणपत्र तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको १ करोड ४८ लाख कित्ता प्राथमिक सेयर नेप्सेमा सुचीकृत भएको छ । यस साता नेप्सेको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला भएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ३८ अंकले बढेर २८० दशमलव ४१ अंकमा आइपुगेको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर