राजस्व छली गर्नेहरू भागाभाग

२०७७ असार २७ शनिबार ०९:०६:०० मा प्रकाशित

काठमाडौं । राजस्व छली गर्नेहरूमाथि सरकारले आक्रामक कारबाही थालेपछि उनीहरूको सातो जान थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले राजस्व छली गर्नेहरूलाई एकपछि अर्को गर्दै अनुसन्धानको दायरामा ल्याउन थालेपछि राजस्व छली गर्नेहरू भागाभाग गर्न थालेका छन् ।

विभागले एक साताको अवधिमा मात्रै राजस्व ठगी गर्ने विभिन्न व्यक्ति तथा फार्मविरुद्ध १ अर्बभन्दा बढी बिगो दाबी गर्दै विभिन्न अदालतमा मुद्दा दायर गरेको छ । ती व्यक्ति तथा कम्पनीले कोरोना संकटको समयमा जारी भएको लकडाउनकै अवधिमा राजस्व छली गरेका हुन् । विभागले विगत एक सातामा नक्कली भ्याटबिल, भन्सार छलीलगायत अनेकौं तरिका अपनाएर करोडौं राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फार्म, कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागका अनुसार गत साता मात्र विभिन्न फार्म, कम्पनी तथा व्यक्तिविरुद्ध गरी कुल १ अर्ब १७ करोड ६५ लाख १३ हजार २२० रुपैयाँ बिगो र कैद सजायको माग दाबी गर्दै विभिन्न अदालतमा मुद्दा दायर गरिएको हो । यो तथ्याङक गत आइतबारदेखि शुक्रबारसम्मको हो । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा विभागले राजस्व छली गर्ने सयौं व्यक्ति र फार्मलाई कारबाहीको दायरामा ल्याइसकेको छ ।

कसले कति राजस्व ठगे ?
न्यु सागर प्लास्टिक कन्सर्न– ३२ करोड रुपैयाँ
बिकोई स्काई बंगलामुखी जेभी– ८ करोड रुपैयाँ
भारतीय नागरिक अब्दुल मजिद र लुक्मान्युल हकिम– ४ करोड २२ लाख
भारतीय नागरिक सविकुमार शर्मा र पप्पु कुमार– १ करोड ७५ लाख
न्यु कोइराला ब्रदर्स– १ करोड ७० लाख ३९ हजार ८५५
समर ट्रेडर्स– ४ करोड ५८ लाख २ हजार २३९
मयुर मालाकारसहित दुई जना– ४३ करोड १८ लाख ९५ हजार ४३१
काठमाडौं महानगरपालिका–४ स्थित जिमी ग्रुप – १८ करोड ३३ लाख
ललितपुर महानगरपालिका–३ स्थित न्यु क्रिएसन इम्पेक्स, बंगलामुखी ट्रेड एन्ड सप्लायर्स, बिएस ट्रेड इन्टरनेसनल –९ करोड २३ लाख रुपैयाँ
श्याम ग्लास इन्डस्ट्रिज– ६ करोड ६ लाख २५ हजार २८२
महाशक्ति गुट्खा उद्योग– ६३ लाख ८ हजार ७०६

चालु आर्थिक वर्ष समाप्त हुन अब जम्मा पाँच दिन मात्र बाँकी रहँदा करिब एक वर्षको अवधिमा कुल २८ अर्ब १७ करोड ६५ लाख २३ हजार ११५ रुपैयाँको राजस्व छलीका मुद्दा दायर गर्दै राजस्वमाराविरुद्ध कारबाही प्रक्रिया जारी राखिएको विभागले जनाएको छ । विभाग यसअघि अर्थ मन्त्रालय मातहत रहेको थियो । वर्तमान सरकारले विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएर राजस्व छली गर्नेविरुद्ध आक्रामक बनाएको हो ।

विभागले शुक्रबार मात्रै श्याम ग्लास र महाशक्ति गुट्खा उद्योगविरुद्ध ६ करोड ६९ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायरा गरेको छ । विभागले श्याम ग्लास इन्डस्ट्रिज र महाशक्ति गुट्खा उद्योगलाई बिगो असुल उपर गरी जरिमाना एवं कैद सजायसमेतको माग दाबी गरी उच्च अदालत तुल्सीपुर र बुटवलमा मुद्दा दायर गरेको हो । श्याम ग्लास इन्डस्ट्रिजविरुद्ध ६ करोड ६ लाख २५ हजार २८२ रुपैयाँ बिगो दाबी र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको हो ।

सो इन्डस्ट्रिजले नेपाल सरकारलाई तिर्नु÷बुझाउनुपर्ने राजस्व नतिर्ने एवं कम तिर्ने उद्देश्य राखी उत्पादित सिसा तथा सिसाजन्य मालवस्तुमा अन्तःशुल्क असुल नगरी राजस्व चुहावट गरी राजस्व छली गरेको विभागको अनुसन्धानले देखाएको छ । यसैगरी, राजस्व छली गर्ने अर्को उद्योग महाशक्ति गुट्खा उद्योगविरुद्ध पनि ६३ लाख ८ हजार ७०६ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । अनुसन्धानको क्रममा महाशक्ति गुट्खा उद्योगका सञ्चालकहरूले सरकारलाई बुझाउनुपर्ने राजस्व नतिर्ने एवं कम तिर्ने उद्देश्य राखी अन्तःशुल्कजन्य पदार्थ उत्पादित तथा बिक्री वितरण गरी अन्तःशुल्क असुल नगरी राजस्व छली गरेको पाइएको विभागले जनाएको छ ।

यसैगरी, गत मंगलबार मात्रै विभागले एकै दिन भन्सार चोरी पैठारी तथा नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा विभिन्न चारवटा फार्म र व्यक्तिविरुद्ध कुल ७७ करोड ४ लाख १३ हजार २ सय २० रुपैयाँ बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो । यस्तै भन्सार चोरी पैठारीमा संलग्न एक जना व्यक्तिविरुद्ध पनि सोही अदालतमा मुद्दा दायर गरिएको छ ।

विभागले काठमाडांै र ललितपुरका न्यु कोइराला ब्रदर्स इन्टरप्राइजेज, समर ट्रेडर्स, जिमी ग्रुप तथा न्यु क्रिएसन इम्पेक्सविरुद्ध समेत करोडौं रुपैयाँ राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । त्यसैगरी, विदेशबाट मोबाइल लगायतका विभिन्न इलेक्ट्रोनिक्स सामान चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा काठमाडौं महानगरपालिका–१५ का मयुर मालाकारविरुद्ध पनि मुद्दा दायर गरिएको विभागले जनाएको छ । यसअघि गत १९ असारमा विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट) विजक प्रयोग गरी राजस्व छलेको आरोपमा विभिन्न कम्पनी तथा फार्मका सञ्चालकहरूविरुद्ध ४० करोड ६१ लाख रुपैयाँ बिगो माग गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

विभागले काठमाडौं महानगरपालिका–१५ बस्ने न्यु सागर प्लास्टिक कन्सर्नका प्रोपाइटर सागर किजुलाई ३२ करोड ६० लाख ६ हजार १११ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो भने नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छली गरेको आरोपमा बिकोई स्काई बंगलामुखी जेभीका सञ्चालक रोशनकुमार श्रेष्ठविरुद्ध ८ करोड बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।

यस्तै, विभागले भारतीय नागरिक अब्दुल मजिद र लुक्मान्युल हकिमलाई ६ किलो २८९ ग्राम सुन चोरी-पैठारी गरेको आरोपमा ४ करोड २२ लाख रुपैयाँ बिगो कायम गरी उच्च अदालत हेटांैडामा मुद्दा दर्ता गरेको थियो । त्यसैगरी, भारतीय नागरिक सविकुमार शर्मा र पप्पु कुमारलाई विदेशी मुद्रा अपचलन गरेको आरोपमा १ करोड ७५ लाख रुपैयाँ बिगो कायम राखेर उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको थियो ।

विभागका अनुसार अनुसन्धानको क्रममा अधिकांशले बिजकीकरण गर्ने र बिक्री बिलको रकम आम्दानीमा नदेखाउने गरेको भेटिएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले अनुसन्धान एवं विशेष सुराकीका आधारमा विभागले राजस्व छलीमा संलग्नको अवैध धन्दा फेला पारी मुद्दा दायर गराएको जानकारी दिए ।

अनुसन्धान टोलीमार्फत विभिन्न सूचनाका आधारमा आर्थिक अपराध गर्नेविरुद्धको कारबाहीलाई सशक्त पारिएको बताए ।
विभागका अनुसार उनीहरूले राजस्व चुहावट गर्ने क्रममा आफ्नो कम्पनीले तिर्नु नपर्ने खरिदको लागत देखाउने र मालवस्तु बिनाबिल र बिजक बिक्री गर्ने, भन्सार छल्ने, नक्कली विजक बनाउनेलगायत अनेक तरिका अपनाउने गरेको पाइएको छ । यसैगरी, उनीहरूको फर्म एवं उद्योगबाट मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखिएको समेत पाइएको थियो ।

राजस्व छलीमा संलग्न हुनेहरूले यसअघि पनि झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट) बिजक प्रयोग गर्ने, कमजोर आर्थिक अवस्था भएका मजदुरको नाममा नक्कली फार्म खडा गरी झुटा विवरण पेस गर्ने, अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने, फल्सबटम बनाउने, विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारमा संलग्न, नक्कली बिजक प्रयोग गर्नेदेखि लिएर भ्याट बिलको नक्कली कारोबारमा संलग्न लगायतका तरिका अपनाएर राजस्व छल्ने गरेको भेटिएको थियो ।
(राजधानी दैनिकबाट)

ताजा खबर