राष्ट्रिय स्वाभिमान उचो बनाउन दृढताकाे साथ लागेको छुः प्रधानमन्त्री ओली

२०७७ असार २७ शनिबार ०८:५९:०० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्रिय स्वभिमान उचो बनाउन लागि परेको बताउनुभएको छ । उहाँले अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेकोप्रति आश्वस्त पार्दै आमनेपालीहरूका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरोतर्फबाट दृढ अडान र हदैसम्मको प्रयास गर्ने बताउनुभएकाे हाे ।

शुक्रवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलील्े यतिवेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि नमिल्ने बताउनुभयो । रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बाेधन जस्ताको तस्तै
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज म यहाँहरूसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तिमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पुऱ्याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखी तुल्याएको छ ।

गत जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्ला बाढीपहिरोबाट प्रभावित भएका छन् । हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले क्षति पुऱ्याएको छ । सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी तीन जिल्लाले भीषण बाढी र पहिरोका कारण क्षति व्यहोर्नुपरेको छ । यस क्रममा ३५ जनाले ज्यानै गुमाउनुपरेको छ, ३२ जना घाइते भएका छन् र ३४ जना अझै बेपत्ता छन् । एक सय घर क्षतिग्रस्त बनेका छन्, तीन सय एक परिवार विस्थापित हुनुपरेको छ । सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरूको उद्धारमा आवश्यक सुरक्षाकर्मीहरू परिचालित गरिसकेको छ । संघीय, प्रदेश र जिल्लास्थित विपत् समितिबाट राहत प्रदान गरिएको छ र प्रभावितहरूलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको छ ।

यस्ता विपत्तिहरूबाट सुरक्षित हुन सरकारले उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरू मात्र होइन, विपत्तिमा पर्नै नपरोस् भनेर असुरक्षित बसोवासका स्थानहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपत् न्यूनीकरणका उपायहरू अवलम्बन गर्नेजस्ता अनेकौँ दूरगामी महत्वका कार्यक्रमहरू पनि सँगसँगै सञ्चालन गरिरहेको छ ।

बाढीपहिरोको यस प्राकृतिक विपत् कारण झन्डै तीन दर्जन नेपाली दाजुभाइ तथा दिदीबहिनीको असमयमै जीवन गुमेकोमा गहिरो दुःख व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु ।

दाजुभाइ तथा दिदीबहिनीहरू,
बाढीपहिरो, भूक्षय, आगजनी, चट्याङ, भूकम्पजस्ता विभिन्न खालका प्राकृतिक विपत्तिको नेपाल सधैँ उच्च जोखिममा रहेको छ । हरेक वर्ष गर्मी याममा हामीले आगजनीको समस्या भोग्नुपरेको हुन्छ र वर्षात् सँगसँगै बाढी पहिरोका कारणले क्षति व्यहोर्नुपरेको हुन्छ । विपतमा परेर घरबार गुमाउने र जिउधनको क्षति व्यहोर्नुपर्ने समस्या हामी नेपालीको नियतिजस्तै बन्ने गरेको छ । यस क्रममा सरकारले तत्काल उद्धार कार्यमा कुनै कसर नराखी सम्पूर्ण सामर्थ्यका साथ ध्यान दिँदै आएको छ । जोखिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरू बाढीपहिरो सुरु भएदेखि नै तत्परताका साथ उद्धार र सहयोग कार्यमा जुट्दै आएका छन् । नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको छ ।

यतिवेला मेरो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ । हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ पनि मिल्दैन । तसर्थ जहाँ विपत् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधिहरू, राजनीतिक नेता, कार्यकर्ताहरू एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रूपमा अघि बढाइहाल्नुपर्दछ । म यहाँहरू सबैलाई सम्बन्धित स्थानमा उद्धार कार्यमा जुट्न र आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगमा केन्द्रित हुन विशेष आह्वान गर्न चाहन्छु ।

यस्तो प्राकृतिक विपत्तिप्रति सजग रहँदै अत्यावश्यक उद्धार, सहयोग र उपचारमा ध्यान दिइरहेको वेला हामी विश्वव्यापी कोरोना महामारीको नियन्त्रण, उपचार र रोकथामको लामो प्रयासमा रहेको तथ्यलाई पनि भुल्नुहुँदैन । विश्वका विभिन्न मुलुकहरूमा झैँ हामीकहाँ पनि कोरोना महामारीको संकट हटिसकेको छैन । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा करिब चार महिनादेखि हामी सम्पूर्ण रूपमा केन्द्रित रहेका छौँ । र, कोरोनाको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरुत्थानमा लागिपरेका छौँ ।

असार २६ गतेसम्म १६ हजार ६ सय ४९ जना नेपाली कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये हालसम्म ज्यान गुमाउनेहरूको संख्या ३५ रहेको छ, जुन कुल संक्रमितहरूको ०.२१ प्रतिशत हो । उमेर समूहका हिसाबले २१ वर्षमाथि र ४० वर्षमुनिका संक्रमितहरूको संख्या ६० प्रतिशतभन्दा बढी रहेको छ । यसबाट स्पष्ट हुन्छ, संक्रमितहरूमध्येको ठूलो संख्या सक्रिय र कामकाजी उमेर समूहको छ । कुल संक्रमितको ४८.१ प्रतिशत अर्थात् आठ हजार ११ जना निको भएर घर फर्किसक्नुभएको छ । अझै कुल संक्रमितको ५१.९ प्रतिशत उपचारकै क्रममा हुनुहुन्छ । र, २३ हजार नाै सय १० जना क्वारेन्टाइनमा हुनुहुन्छ ।

दाजुभाइ तथा दिदीबहिनीहरू,
हामीले सुरुदेखि नै संक्रमितहरूको पिसिआर परीक्षणमा जोड दिँदै आएका छौँ, र यसलाई कुल जनसंख्याको दुई प्रतिशत पुदुईउने लक्ष्य राखेका थियौँ । हाम्रो यो प्रयास जारी छ र हालसम्म दुई लाख ७५ हजार नाै सय ५१ जना संक्रमितहरूको पिसिआर परीक्षण गरिएको छ । यो संख्या प्रतिदश लाख जनसंख्यामा नाै हजार तीन सय ७७ हो ।

कोरोना रोकथाम कार्यमा एक लाख १० हजार चार सय ६२ जना सुरक्षकर्मीलाई परिचालन गरिएको छ । सुरक्षाकर्मीसँगै उपलब्ध संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रूपमा उपचार कार्यमा अहोरात्र खटिरहनुभएको छ । वास्तवमा यही जनशक्तिको बलमा हामीले कोरोनालाई परास्त गर्दै अघि बढ्न सकिरहेका छौँ ।
लकडाउनको यस अवधिमा भारतबाट दुई लाख ८८ हजार आठ सय ६४ जना र विभिन्न अन्य मुलुकहरुबाट २३ हजार दुई सय ५४ जना नेपाली स्वदेश फर्किनुभएको छ ।

यही असार २५ गतेसम्मको प्रदेशअनुसारको स्थिति हेर्दा सबैभन्दा बढी संक्रमित संख्या प्रदेश नं. २ मा रहेको छ । त्यसपछि क्रमशः प्रदेश नं. ५, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. १ र बागमती प्रदेश रहेका छन् । हाम्रा प्रयासले कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउने क्रममा यो स्थितिमा परिवर्तन पनि आएको छ ।

लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको छ । गत असार ९ देखि २४ गतेबीच मात्रै उपत्यकामा संक्रमितहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । ९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या दुई सय ३३ पुग्यो । यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीव्र रूपमा बढ्दै जाँदै छ । यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जनासमेत हुन सक्छ । तसर्थ हामी सबैमा थप गम्भीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ ।

राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक–स्वास्थ्यकर्मीहरूबाट सुझाइएको सुरक्षित रहने उपाय कुनै पनि हालतमा अपनाउनुपर्दछ । छोटकरीमा एसएमएस भनिएको– सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय–समयमा हात धुने कामको लागि म सबैको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।

दिदीबहिनी तथा दाजुभाइहरू,

अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वाभाविकै हो । महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरू पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुऱ्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।

अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुन सक्छ । म आश्वस्त पार्न चाहन्छु, आमनेपालीहरूका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरोतर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।

यतिवेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।
धन्यवाद ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर