देशभर बाढीपहिरोको वितण्डा : २६ को मृत्यु, ४१ बेपत्ता, २४ जना घाइते

२०७७ असार २७ शनिबार ०७:४६:०० मा प्रकाशित

भारी वर्षासँगै बिहीबार राति र शुक्रबार आएको बाढीपहिरोबाट गण्डकी, कर्णाली र प्रदेश ५ बढी प्रभावित भएका छन् । सयौं परिवारको बिचल्ली भएको छ । सडक, जलविद्युत्‌लगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको छ । सबैभन्दा प्रभावित म्याग्दीमा जताततै पहिरो खसेकाले सदरमुकामदेखि ४० किलोमिटर पश्चिमको मुख्य घटनास्थलमा शुक्रबार साँझसम्म पनि उद्धारका लागि सेना र प्रहरीका टोली पुग्न सकेका छैनन् ।

काठमाडौँ — लगातार वर्षासँगै आएको बाढीपहिरोले म्याग्दी, कास्की, लमजुङ, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम, कालीकोट र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशमा शुक्रबार मात्रै १३, कर्णालीमा १० र प्रदेश ५ मा तीन गरी २६ जनाको मृत्यु भएको छ । थुप्रै बेपत्ता र घाइते भएका छन् । कतिपय घर पुरिएको र जोखिममा छन् । धेरै परिवार विस्थापित भएका छन् । सडक, बाटोघाटोसमेत अवरुद्ध भएको छ ।

म्याग्दीको धौलागिरि, रघुगंगा र मालिका गाउँपालिकाका विभिन्न ठाउँमा बिहीबार रातिदेखि आएको पहिरो र बाढीमा परी तीन जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । ३९ वटा घर पुरिएका छन् । धौलागिरि–६ मराङको पहिरोमा परी बेपत्ता भएका स्थानीय तुलबहादुर केसीको शुक्रबार साँझ शव फेला परेको छ । त्यही वडाको कल्लेनीमा अर्का एक जनाको शव देखिए पनि फेरि खसेको पहिरोले तलतिर हुत्याएकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ । त्यसैगरी रघुगंगा–६ ठाडाखानीका ललितमान छन्त्यालको ठाडोखोलाको बाढीमा बगेर मृत्यु भएको छ । सडक र पैदल बाटो भत्किएका कारण उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा धौलागिरि–६ मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक र कम्दीका २१ जना, धौलागिरि–७ ताकमका ३, मालिका गाउँपालिका–७ र विमका आठ जना बेपत्ता छन् । दुवै गाउँपालिकाका गरी २ सय ४० जना अलपत्र परेका छन् । धौलागिरिको कल्लनीबाट प्रहरी र स्थानीयले ७० जनालाई उद्धार गरी सुरक्षित स्थलतर्फ लगेका छन् । पहिरोमा घाइते सात जनालाई पनि उद्धार गरिएको छ ।

बाढीपहिरोमा उद्धारका लागि सेना, प्रहरीसमेतको टोली म्याग्दीका विभिन्न स्थानको पैदलमार्गमा पहिरो पन्छ्याउँदै दरवाङदेखि अघि बढे पनि बाटो नहुनाले शुक्रबार साँझसम्म उनीहरू घटनास्थलमा पुग्न सकेका छैनन् । मुख्य घटनास्थल सदरमुकामदेखि ४० किलोमिटर पश्चिममा पर्छ । उद्धारका लागि आएका दुई हेलिकप्टर खराब मौसमका कारण बीचबाटै फर्किएका थिए । बाढीपहिरोबाट धौलागिरिको मराङमा २० घर, ताकममा ५ र मालिकाको विममा १० घर पहिरोमा पुरिएका छन् । त्यस्तै मालिका–५ देवीस्थानको खारवाङमा एक घर र मगरदाङमा २० किलोवाट क्षमताका लघु जलविद्युत् आयोजनाको पावरहाउस पुरेका स्थानीय सूर्यमुखी युवा क्लबका अध्यक्ष भक घर्तीमगरले बताए ।

 

म्याग्दी

धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनका अनुसार ताकम मावि, हुलाक कार्यालय, स्वास्थ्यचौकी भवनसहित सयौं रोपनी धानखेती पनि पुरिएको छ । त्यस्तै वडा ५ को मल्कवाङमा दर्जन बढी पहिरो झरेपछि हेल्थपोस्ट, सामुदायिक भवन, विद्यालय भवनमा व्यापक क्षति पुर्‍याएको छ । राहुघाट खोलामा आएको बाढीले बेनी–जोमसोम सडकको गलेश्वरस्थित बेलीब्रिज बगाएको छ । पुल जगैसमेत बग्दा बाढी पिप्ले गलेश्वर बस्तीतर्फ सोझिएको छ । मोटर पुल बगेपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला यातायातबाट विच्छेद भएका छन् । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार राहुघाटको बाढीले वडा ८ द्वारीमा तीन घर पुरिएका छन् । रघुगंगा–३ पिप्ले गलेश्वर खण्डका २१ घरलाई सुरक्षित स्थानमा सारिएको छ ।

सिरानका बस्तीमा गएको भीषण बाढीपहिरोपछि म्याग्दी खोलाको तटीय क्षेत्रका बस्तीमा जोखिम बढाएको छ । बाढीले बस्तीतर्फ कटान थालेपछि सदरमुकाम बेनी मंगलाघाटका अस्थायी प्रहरी चौकीसहित सात परिवारलाई सुरक्षित स्थानमा पुर्‍याएको प्रहरीले जनाएको छ । म्याग्दी खोलाको बाढीले मंगला गाउँपालिका र बेनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रमा कटान गरेको छ । ‘पहिरोले बस्ती पूरै घेरिएकाले स्थानीय, प्रहरी र सेनाका तीन उद्धार टोली घटनास्थल पुग्ने प्रयास जारी छ,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सबै विवरण स्थानीय जनप्रतिनिधिबाट संकलन गरिएका हुन् । प्रहरीले क्षतिको विवरण संकलन गरिसकेको छैन । यो प्रारम्भिक तथ्यांक मात्र हो ।’

कास्कीको पोखराका विभिन्न ठाउँमा खसेको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । पोखरा–१८, सराङकोट गोठादीमा बिहान साढे २ बजेतिर खसेको पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुर्दा पाँच जनाको मृत्यु भएको छ । मृतकमा घरधनी ५० वर्षीय टंकबहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाइका नातिनातिना ६ वर्षीय सुवान थापा र ११ वर्षीया इसिका थापा छन् । आठ वर्षीय शीतल श्रेष्ठको पनि मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । पहिरोमा पुरिएर २२ वर्षीया पिंकी, १८ वर्षीया आशा थापामगर र पिंकीकी ५ वर्षीया छोरी पिरिसा थापामगर घाइते छन् । घटनामा तनहुँको दमौली घर भएकी मृतक सोममायाकी बहिनी २८ वर्षीया सरस्वती श्रेष्ठ पनि घाइते भएकी छन् । मृतक शीतल उनकै छोरा हुन् । सरस्वतीका १० वर्षका अर्का छोरा पनि घाइते छन् । यसैगरी छिमेकी १९ वर्षीय अनिश तामाङ, रशी थापा, रश्मी थापामगर घाइते भएका छन् ।

पोखरा–१८ सराङकोट, गोठादीमा बहिीबार राति खसेको पहिरो

घरमाथिको ग्रामीण सडकमा दुई साताअघि पहिरो आएर नाली पुरिएको थियो । त्यसलाई नहटाउँदा वर्षाको पानी सडकमा बगेर डिलमा बनाएको रिटेनिङ वालमा पुगेको र सोही वाल भत्किएर पहिरो जाँदा थापाको घर पुरिएको हो । बिहीबार राति पिंकीको जन्मदिनमा आफन्त र छिमेकी जमघट भएका थिए ।

पोखरा महानगरपालिका–२५ हेम्जा मेलबोटमा पहिरोले घर पुर्दा ७० वर्षीया हेमकली अधिकारी र पोखरा–२६ पैतेडाँडामा दुर्गाबहादुर सुनारको मृत्यु भएको छ । पोखरा–१७ छोरेपाटन सिमलटुडाका चन्द्रबहादुर मगरको घरमाथिबाट पहिरो आई भत्किँदा तीन जना घाइते भएका छन् । पोखरा–१९ तल्लोडाँडाका गिरीधारी बास्तोलाको धन्सार पुरिएको छ ।

कास्कीको माछापुच्छ्रे–९ चुङडुङस्थित मनबहादुर क्षत्रीको घर भत्किएर चार जनाको परिवार विस्थापित भएको, माछापुच्छ्रे–२ भुज्रुङखोलामा सार्वजनिक खानेपानीको ट्यांकी बगेको र स्थानीय अमर तामाङ, हीराबहादुर तामाङ, राममाया तामाङ र होमबहादुर गुरुङको घर जोखिममा परेका प्रहरीले जनाएको छ ।

कास्की जिल्ला विपद् व्यवस्थापन समितिले प्रतिमृतक एक लाखका दरले तत्काल राहत उपलब्ध गराउने र घाइतेको सरकारी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत दिएको छ । शुक्रबार दिउँसो प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मृतक दीपकका बुबा हर्कबहादुरलाई ३ लाख रुपैयाँ दिए ।

त्यसैगरी, लमजुङको बेंसीसहर नगरपालिका–७, सातबिसेमा घरमाथिबाट खसेको पहिरोले पुरिँदा वडा १०, खाँचेका एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ३३ वर्षीय दीपक तामाङ, उनकी श्रीमती २७ वर्षीया भीममाया र छोरा १० वर्षीय छेवाङको घटनास्थलमै मृत्यु भएको हो । दीपकका बुबा हर्कबहादुर, आमा र ६ वर्षीया छोरी पनि बिहीबार गाउँबाट फर्केका थिए तर बेंसीसहरस्थित घरमा कामदार भएपछि दीपककी दिदी सावित्रीकामा गएका थिए । दीपक, भीममाया र छेवाङ पनि जाने तयारी गरे पनि मुसलधारे पानी परेकाले रोकिएका थिए ।

दीपकसँगै काम गर्ने ६ जना सातबिसेस्थित घरमा बस्ने भएपछि परिवारका अन्य सदस्य घर नबसेका हुन् । घरभित्र पुरिएका सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमन गुरुङ घाइते छन् । उनीहरूलाई सकुशल उद्धार गरिएको हो । घटनास्थलमा स्थानीयसँगै प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्यमा जुटेका थिए । तीनै जनाको शव राति नै निकालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले बताए ।

भीषण वर्षा र बाढीपहिरोका कारण लमजुङमा १५ घर विस्थापित भएका छन् । बेंसीसहर नगरपालिका, मस्र्याङ्दी, दोर्दी र क्व्होलासोंथरका गरी १५ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । विस्थापितहरू छिमेकी र सामुदायिक भवनमा बसेका छन् । ५० घर उच्च जोखिममा परेको डीएसपी शर्माले बताए ।

पश्चिम नवलपरासीमा खहरे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दघाट नगरपालिकाको खहरे खोलाले बगाउँदा वडा १५ का २० वर्षीय सुधीर विक र १८ वर्षका प्रवीण विकको मृत्यु भएको हो । खोलामा बाढी आएको समयमा माछा मार्न गएका बेला विकद्वयको खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख होमनाथ रेग्मीले बताए ।

यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–४, फुस्रेमा पहिरोले पुरिएर शुक्रबार ६२ वर्षीय यमबहादुर श्रीसको मृत्यु भएको छ । घरनजिकै खेतमा कुलोको भल काट्न गएका उनलाई माथिबाट खसेको पहिरोले च्यापेको प्रहरीले जनाएको छ । उनलाई पहिरोले पुर्दा श्रीमती पनि सँगै भएको र तत्काल स्थानीयलाई खबर गरे पनि बचाउन नसकिएको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा आएको बाढीका कारण पुल्चोक क्षेत्रका ४२ घर डुबानमा परेका छन् । लगातारको वर्षाले सेती नदी उर्लिएर बढेसँगै नगरपालिकाको ४ र ८ वडाको पुल्चोकस्थित नदी किनारका बस्ती डुबानमा परेका हुन् । सेती र सुरौंदी खोलासमेत पुल्चोक क्षेत्रमा पसेपछि घर डुबानमा परेको नगरप्रमुख किसान गुरुङले बताए । वडा ४ का २८ घर र वडा ८ का १४ घर डुबानमा परेपछि यहाँका करिब १ सय ५० जनाभन्दा बढीलाई उद्धार गरी अहिले स्थानीय विभिन्न समाजका भवनहरूमा सुरक्षित राखिएको उनले बताए । सेतीको बाढीले सोही ठाउँको सेती नदीमाथिको पक्की पुल पनि जोखिममा परेको छ । सेना र प्रहरीसँगै जनप्रतिनिधिहरू पनि डुबानमा परेको क्षेत्रमा उद्धारका लागि खटिएका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए ।

यसैबीच गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरोले पुर्‍याएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । पहिरोमा बेपत्ताको खोजी उद्धार र पीडितलाई राहत दिलाउन शेरचनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्दै स्थानीय ।

जाजरकोटको बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा बिहीबार राति आएको पहिरोमा ७ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । पहिरोले सार्कीगाउँका २ घर बगाएको छ । ती घरमा परिवारका ८ जना र पाहुना बस्न आएका ४ जना थिए । प्रहरीका अनुसार ५२ वर्षीय गोपाल सार्की, उनकी पत्नी ५० वर्षीया पुष्पा, छोरी १३ वर्षीया लक्ष्मी र छोरा ११ वर्षीय अर्जुन, अर्काे घरका ३५ वर्षीया कलु सार्की, उनकी १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला, ६ वर्षीय छोरा सुभास र पाहुना बस्न आएका कुशे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की पहिरोमा पुरिएका थिए । तीमध्ये गोपाल, अर्जुन, तिर्खा, डिल्ली र वीरेन्द्र सार्कीको शव फेला परेको छ । अन्य २ जनाको सनाखत हुन सकेको छैन ।

कलुका श्रीमान् तुलबहादुरको भने ज्यान जोगिएको छ । उनी छिमेकीको घरमा बिरामी कुर्न गएकाले पहिरोबाट ज्यान जोगिएका हुन् । ‘म छिमेकीको घरमा बिरामी कुर्न बसेको थिएँ, राति पहिरो गएको थाहा पाएर घर नजिक आउँदा आँखा अगाडि सबैजना पहिरोले लगेको थाहा पाएँ,’ उनले भने, ‘मेरो भाग्य फुट्यो, छोराछोरी पनि फर्केर आउने आशा छैन ।’

त्यस्तै, बारेकोट–६, धुमास्थित खहरेखोलाले बगाएर २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धुमका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने रहेका छन् । बेपत्ता ७ जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार बाढीपहिरोमा परेर ३ जना गम्भीर घाइते भएका छन् ।

गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहका अनुसार बेपत्ताको शव पहिरोले बगाएको घरदेखि करिब १० मिटर तल भेटिएको थियो । ‘पानी परिरहेको छ, अझै पनि पहिरो गइरहेको छ,’ उनले भने, ‘यसले गर्दा बेपत्तालाई खोज्न निकै गाह्रो भएको छ ।’ घटनास्थलको भूगोल भिरालो र अप्ठेरो हुँदा खोजी कार्यमा कठिनाइ भइरहेको उनले बताए ।

आमाछोराको मृत्यु

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–३ स्यालाखदीमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ६ बजे स्थानीय तुलबहादुर दमाईको घर पहिरोले पुरेको थियो । घरभित्र रहेका २८ वर्षीया सीता दमाई र उनका छोरा ६ वर्षीय हाविलको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी ८ वर्षीया छोरी हीरा घाइते भएकी छन् ।

यसैबीच पहिरोमा परेर गत शुक्रबार कालीकोटको नरहरिनाथ–७, माल्कोटमा ३५ वर्षीया तुला बटालाको मृत्यु भएको छ । लेकको गोठमा भैंसी हेरालो गएकी बटालालाई राति पहिरोले पुरेको थियो । उनको शव भोलिपल्ट मात्र भेटिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । पहिरोले सोही राति नरहरिनाथ–७ को वडा कार्यालय रहेको घर पनि भत्काएको छ । पहिरोमा ६ कोठे घर भत्किएपछि वडा कार्यालयका सबै कागजात नष्ट भएका वडाध्यक्ष दलबहादुर विकले बताए ।

कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि लागू गरेको विपद् जोखिम बिमाबाट मृतकका परिवारलाई जनही २ लाखका दरले रकम उपलब्ध गराउने भएको छ । असोज १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले १७ लाख ७० हजार कर्णालीवासीको सामूहिक विपद् बिमा गरेको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार शोक वक्तव्य जारी गर्दै बिमा रकम उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको बताएका छन् ।

उच्च जोखिममा कर्णाली

कर्णाली प्राकृतिक विपद्को उच्च जोखिममा रहेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एक प्रतिवेदनमा कर्णालीमा पछिल्लो १० वर्षमा भएका ३ सय १३ विपद्का घटनामा परी ८ सय ८७ जनाको मृत्यु भएको उल्लेख छ । सन् २००९ देखि २०१८ सम्म सबैभन्दा बढी जाजरकोटमा २ सय ५५ जनाको विपद्का कारण मृत्यु भएको छ । तथ्यांकले जुम्लामा सबैभन्दा कम ३१ जनाको विपद्मा परी मृत्यु भएको देखाउँछ । तथ्यांकअनुसार रुकुममा १ सय, हुम्लामा ८९, सुर्खेतमा ७१, सल्यानमा ६७, कालीकोटमा ८४, दैलेखमा ९८, डोल्पामा ५६ र मुगुमा ३६ जनाको विपद्का घटनामा परी मृत्यु भएको छ । गत आर्थिक वर्षमा मात्र प्राकृतिक प्रकोपका कारण ५० जनाको मृत्यु भएको थियो ।

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा थप ३ बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोसी नदीले बगाएर थप तीन जना बेपत्ता भएका छन् । शुक्रबार बिहान ८ बजेतिर भोटेकोसी गाउँपालिका–४ लार्चाका नाम्टे मगर र पहिचान नखुलेका दुई जना बाढीमा बेपत्ता भएका हुन् । शुक्रबारै लार्चा पुलछेउमा एउटा शव भेटिए पनि पहिचान नखुलेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । बिहान ८ बजेतिर लार्चा, कोदारी र तातोपानीका चार घर भोटेकोसीले बगाएको छ । भोटेकोसी गाउँपालिका–३ दुगुनामा बस्तीमाथि पहिरो खसेपछि दुई दर्जन परिवार विस्थापित भएका छन् ।

बुधबार रातिको बाढीले भोटेकोसीमा बेपत्ता बाह्रबिसे नगरपालिका–५ जम्बुका १६ र भोटेकोसी–५ बुर्कटेका चार जना अझै फेला परेका छैनन् । प्रहरी, सेना र स्थानीय खोजीमा खटिएका छन् । बिहीबार दुई शवबाहेक अरू नभेटिएको प्रहरीले जनाएको छ । वर्षा रोकिए एक्स्काभेटरको सहयोगमा बेपत्ताको खोजी र सडक सम्पर्क जोड्ने प्रयास गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । बायाँतर्फ एल्मो र दायाँपट्टि काभ्रे खोलाले बगाएको पहिरोको हिलोले जम्बु बजार छोपेको छ । वारिपारिको बस्ती जोड्ने झोलुंगे पुलमुनि थुप्रिएको पहिरो उर्लिएको भोटेकोसीले बगाउँदै लगेको छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर