‘पोग्बा कतै जाँदैनन्’

२०७७ असार २६ शुक्रबार ०८:५४:०० मा प्रकाशित

लन्डन : इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सकरले आफ्ना अनुभवी खेलाडी पल पोग्बालाई गुमाउन चाहेका छैनन्। उनले २७ वर्षीय फ्रान्सेली मिडफिल्डर पोग्बालाई लामो समय म्यानचेस्टर युनाइटेडमै राख्न चाहेका छन्।

फ्रान्सले सन् २०१८ को विश्वकप फुटबलको उपाधि जित्दा पोग्बा टोलीका प्रभावशाली खेलाडी थिए। ‘राम्रा खेलाडीलाई कसैले पनि गुमाउन चाहँदैन। पल पोग्बा पनि लामो समय ओल्ड ट्राफोर्डमै रहून् भन्ने मेरो चाहना हो’, प्रशिक्षक सोल्सकरले भनेका छन्।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण तीन महिनाभन्दा लामो समय युरोपेली घरेलु लिग फुटबलहरू स्थगित थिए। सोही अवधिमा पोग्बाले म्यानचेस्टर युनाइटेड छाड्न लागेको चर्चाले व्यापकता पाएको थियो। जारी सिजनको समाप्तिपछि पोग्बा अन्यत्र जान लागेको समाचार अहिले पनि आइरहेका छन्।

पोग्बा सन् २०१६ मा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए। त्यसअघि चार वर्ष उनले इटालियन सिरिए क्लब युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलेका थिए। युभेन्ट्समा आबद्ध हुनुअघि पनि उनी म्यानचेस्टर युनाइटेडबाटै खेल्थे। उनले म्यानचेस्टर युनाइटेडको युवा टोलीबाट पनि खेलेका थिए।

पछिल्लो समय पोग्बा पुनः आफ्नो पूर्वक्लब युभेन्ट्समा आबद्ध हुन लागेको चर्चा चलेको छ। यसका अतिरिक्त स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडसँग पनि पोग्बाका प्रतिनिधिले छलफल गरिरहेको समाचारमा जनाइएको छ। यद्यपि यस विषयमा पोग्बा आफैंले भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

विगत केही समयदेखि पोग्बा घाइते समस्याबाट पीडित छन्। ‘पोग्बा म्यानचेस्टर युनाइटेडमै खुसी छन् भन्ने कुरामा म विश्वस्त छु। राम्रा खेलाडीमा जसले पनि आँखा लगउनु स्वाभाविक हो। तर, उनी अझै लामो समय ओल्ड ट्राफोर्डमै रमाउने छन्’, प्रशिक्षक सोल्सकर भन्छन्।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर