सार्वजनिक यातायात खुलाउने निर्णय स्वागत, व्यवसायीको बैठक आज बस्दै

२०७७ असार २६ शुक्रबार ०८:४३:०० मा प्रकाशित

काठमाडौं : सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ। सरकारले कोभिड–१९ संक्रमणको जोखिम नियन्त्र गर्न आवश्यक सुरक्षा मापदण्ड पूरा गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो। यो निर्णयअनुसार ट्याक्सी तत्काल सञ्चालनमा आउनेछन्। यात्रुवाहक सवारीसाधन भने यातायात व्यवसायीसँग छलफल पश्चात् सञ्चालनमा ल्याइनेछ।

सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सार्वजनिक यातायात सञ्चालनमा आउने बताए। काठमाडौं उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्र र उपत्यका बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछ।

सरकारले सुरक्षाका उपाय अबलम्बन गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिन लागेको हो। चालक र सहचालकले मास्कका साथै फेस सिल्ड र पञ्जा अनिवार्य लगाउनुपर्नेछ। साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ। यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ।

दुई जनासम्म यात्रु राखेर ट्याक्सी भने तत्कालै चलाउन दिने निर्णय भएको छ। एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकाले पनि यात्रा गर्न पाउनेछन्। लामो दूरीका सवारीसाधन सञ्चालनसम्बन्धी सरकारले निर्णय गरेको छैन। निजी सवारीको हकमा जोरबिजोर कायमै छ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रवक्ता सरोज सिटौलाले सरकारले लकडाउन क्रमशः खुकुलो बनाउँदै लैजाने योजनाअनुसार सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय प्रतिमहासंघको ध्यान आकृष्ट भएको बताए। ‘यो निर्णयप्रति महासंघको आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी छ, शुक्रबार महासंघले सवारी सञ्चालन सम्बन्धमा आवश्यक छलफल गर्न बैठक आह्वान गरेको छ’, प्रवक्ता सिटौलाले भने, ‘बैठकबाट महासंघको आधिकारिक धारणा आउनेछ।’

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका ट्याक्सीतर्फका केन्द्रीय सदस्य अर्जुन गौतमका अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय स्वागतयोग्य रहेको बताए। तर चार महिनासम्म ग्यारेजमा थन्किएर रुग्न भएका सार्वजनिक यातायातका पार्टपूर्जा बिग्रिएर गुड्न सक्ने अवस्थामा छैनन्। ती सवारी कसरी सञ्चालनयोग्य बनाउन सरकारले चासो नदिएको गौतमले गुनासो पोखे।

‘धेरै सार्वजनिक यातायात बैंकमा धितो राखेर खरिद गरिएका छन्। सडकमा गाडी कुद्ने वित्तिकै बैंकले जफत गर्ने अवस्था छ। व्यवसाय बन्द हुँदा बैंकको ब्याज, किस्ताको मिटर बढेको छ’, गौतमले भने,‘सार्वजनिक यातायात सञ्चालन गर्दैमा व्यवसायीले तत्कालै ब्याज र किस्ता तिर्न सक्दैन।’ गाडी नगुड्दा टायर, इन्जिन, गियर बक्स मक्किनुका साथै रुग्न भएका छन््। एउटा गाडीलाई सडकमा चलाउन योग्य बनाउन कम्तीमा पनि ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको खर्च हुने व्यवसायीको अनुमान छ।

यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक शरदचन्द्र पौडेलले अर्थतन्त्र चलायमान गर्न पनि सार्वजनिक यातायात सञ्चालन आवश्यक भएको बताए। ‘महामारीको समयमा सुरक्षाका मापदण्ड पूरा गरेर मात्रै यातायात सञ्चालन गर्न दिनुपर्छ। यातायातको साधन प्रयोग गर्दा यात्रु आफै सजक हुनुपर्छ।

यातायात व्यवसायीले भने नगद कारोबारभन्दा पनि विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउनुपर्ने सुझाव दिए। भाडाको लेनदेन गर्दा पैसाबाट पनि संक्रमण हुन सक्छन्।

भाडा ५० प्रतिशत बढ्यो

सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय गरेको छ। तत्काल सार्वजनिक यातायात सिट क्षमताअनुसार सञ्चालन हुने छैनन्। सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको मन्त्री डा. खतिवडाले बताए। तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर