म्याग्दीमा पहिरो, सात जना वेपत्ता

२०७७ असार २६ शुक्रबार ०८:३१:०० मा प्रकाशित

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान पहिरोमा पुरिएर सात जना वेपत्ता भएका छन्।  घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएको वडा अध्यक्ष राजाराम सुवेदीले बताए। 

भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ। भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए।  भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयबासी समेत रहेका वडा सदस्य लोकबहादुर पुनले बताए। माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएको उनले जानकारी दिए।

घण्टीवाङ मुनीको रिखामा ६ घरको बसोबास थियो। चार घर विस्थापित भएका छन्। ‘गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ,’ वडा सदस्य पुनले भने ‘पहिरो खसिरहेकाले हामीहरुको पनि भागाभाग छ।’

यसैगरी सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ। वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए। घरका मानिसहरुले भागेर ज्यान बचाएका छन्। भाग्ने क्रममा १ जना घाइते भएका छन्। 

यसैबीच रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज बगाएको सिडिओ ज्ञाननाथ ढकालले बताए। 

नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो। सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ। बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ। 

गलेश्वरका स्थानीय दिपक कार्की बिखर्चीले ठेकेदारले पक्की पुल बनाउन ढिलाई गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताए। बेलिब्रिजको छेउमा पक्कि पुल निर्माणको क्रममा छ। 

पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको डिएसपी किरनजंग कुँवरले बताए। प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए। पहिरोमा हराएकाको खोजी र फसेकाको उद्धारमा स्थानीयबासी समेत जुटेका छन्।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर