सिन्धुपाल्चोकमा बाढीको वितण्डा : मध्यभोटेकोसी आयोजनामा अर्बौँको क्षति

२०७७ असार २६ शुक्रबार ०८:०२:०० मा प्रकाशित

सिन्धुपाल्चोकको जम्बुमा आएको बाढीले निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याएको छ । आयोजना प्रमुख सुनिल लामाले बाढीले आयोजनालाई अर्बौँको क्षति पुर्‍याएको बताए । ‘बाढीस्थलमा पुग्न सकेका छैनौँ । तर आयोजनामा व्यापक क्षति पुगेको जानकारी पाएका छौँ,’ उनले भने । उनका अनुसार आयोजनाको पावर हाउसमा लेदो भरिएको छ । जम्बुमा रहेका ६ गोदाम पुरिएका छन् । गोदाममा हाइड्रोमेकानिकलका सामाग्री थिए ।  

साना दुई गोदाम पूरै बगाएको प्रमुख लामाले बताए । ‘अरु सबै पुरिएका छन् । छाना मात्र देख्न सकिन्छ,’ उनले भने । गोदाममा पावर हाउसमा रहने टर्वाइन्, जेनेरेटर लगायत मेशिनरी उपकरणका सामाग्री रहेको उनले जनाए । उनका अनुसार ती सामाग्री केही पुरिएका र केही बाढीसँगै भोटेकोसीमा बगेका छन् । ‘गोदाममा पावर हाउसमा रहने उपकरणका ९० प्रतिशत सामान थिए,’ प्रमुख लामाले भने ।  

चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रोले हाइड्रोमेकानिकलको काम गरिरहेको थियो । क्षतिको एकिन बिवरण आउन अझै केही दिन लाग्ने आयोजनाले जनाएको छ । आयोजनाका सेक्रेटरी हिमेश शर्मा पहिरोमा बेपत्ता छन् । ‘अर्का एक चिनियाँ प्राविधिक पनि हराइरहेका छन् । उनको अवस्थाबारे केही थाहा भएको छैन,’ आयोजना प्रमुख लामाले भने । पावर हाउसको जेनेरेटर बन्द गर्न गएको बेला आएको बाढीले उनलाई बगाएको अनुमान गरिएको लामाले जनाए ।
(नागरिक न्युजबाट)

ताजा खबर