विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ

२०७७ असार २५ बिहीबार ०९:०९:०० मा प्रकाशित

विश्व स्वास्थ्य संगठन नेपालको कर्मचारी भएको बताउँदै विभिन्न व्यक्तिलाई ठगी गर्ने विजय पाण्डेलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीसँग एक वर्ष अघिदेखि सम्पर्कमा रहेका पाण्डेले अहिले विश्व स्वास्थ्य संगठनबाट कर्मचारीको माग भएकाले आफूले जागिरमा लगाइदिने भन्दै १ लाख ८२ हजार रुपियाँ ठगी गरी फरार भएका थिए । उनी फरार भएपछि भण्डारीले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि प्रहरीले पाण्डेलाई बानेश्वरबाट पक्राउ गरेको थियो ।

पाण्डेले आफ्नो ठगी पेसालाई विभिन्न आवरणमा प्रस्तुत गर्ने गरेका थिए । उनले शंखमूलमा फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका धनबहादुर विष्टलाई विश्वासमा पारेर ५० हजार ठगी गरी भागेका थिए ।

त्यस्तै पाण्डेले चितवनको भरतपुर बस्ने निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै ३ लाख ५० हजार, नवरपरासीका धनबहादुर क्षत्री, दीपक खनाल, मनाङका कासी गुरुङ, सरिता भण्डारी, रमा घिमिरेलाई समेत डब्ल्यूएचओमा जागिर लगाइदिने भन्दै ठगी गरेको महाशाखाले जानकारी दिएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर