भुइँफूलले ढकमक्क खप्तड (फोटो फिचर)

२०७७ असार २५ बिहीबार ०८:५७:०० मा प्रकाशित

डोटी : अहिले खप्तडका पाटनहरु भुइँफूलले ढकमक्क भएका छन्। रंगिचंगी अनगिन्ती फूलले पाटनमा सफा नरम कार्पेट बिछ्याइएझैँ लाग्छ।  कोरोना महामारीका कारण लकडाउन सुरु भएसँगै खप्तडमा गाई, भैंसी लगायत चौपाया चरिचरनमा निषेध गिरिएको थियो। घुम्न जाने पर्यटकका लागि  पनि निषेध गरिएको छ। अहिले खप्तडमा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र पर्यटकका सुविधाका लागि भवन निर्माण गरिरहेका कामदार मात्रै छन्।

धेरै वर्षपछि मात्रै यस्तो सुन्दर देखिएको होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिपक खड्काले बताए। ‘बिगतका वर्षमा चरिचरन खुला भएकाले खप्तडका मैदानका फूलहरु गाई, भैंसी लगायत चौपायले चरेरै सिध्याउने गर्दथ्ये’, खड्काले भने, ‘यसपटक लकडाउनका कारण चरिचरन निषेध गरिएकाले यो सुन्दरता देख्न पाइएको हो।’

एक सय ३५ किसिमका फूल फुल्ने यो क्षेत्र प्राकृतिक इतिहासको संग्रहालय र जीवित बगैंचा हो। जेठ, असार, साउन, भदौमा खप्तडका पाटन रंगीचंगी अनगिन्ति भुइँफूलले ढक्कमक्क हुन्छन्। असोज, कार्तिक, मंसिर, पुष, माघ, फागुनसम्म हिउँले ढाकिएर खप्तड कम सुन्दर देखिंदैन। उक्त समयमा खप्तडमा हिउँ फुल्छ। चौतर्फी फुलेका लालीगुराँसले फागुन, चैत, बैशाखमा खप्तड ध्वजापताकाले सिंगारेको बेहुली मण्डपझै देखिन्छ। खप्तडमा नौ थरीका लालीगुराँस फुल्छन्।

चारैतिर कोणधारी वृक्ष, हरियाली, आँखाअगाडि उड्दै गरेको डाँफे र चराको चीरबिर आवाज सुनेर नलठ्ठिने कोही हुँदैन। खप्तडमा जताततै लामा अनि थुम्का सहितका हरिया फाँट, फाँटभरि कार्पेट ओछ्याएझैं थरीथरीका फूल तीमाथि उडिरहेका रंगीबिरंगी पुतली, जंगलभित्र नौ रङका लालीगुराँस, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल खप्तड प्रकृतिमा लुकेको स्वर्ग हो। समुद्री सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा रहेको र २ सय २५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज, विश्वमै अति दुर्लभ थलथले घाँसे मैदानयुक्त जमिन हो। यहाँ साना–ठूलागरी २५ भन्दा बढी पाटन (फाँट) छन्।

खप्तडलाई विसं २०४१ सालदेखि राष्ट्रिय निकुञ्ज बनाइएको हो। खप्तडको डाँफे कोट र भ्यु टावरबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङको सैपाल र बाजुराको बडीमालिका लगायत एक दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छ। नेपालमा पाइने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाइन्छन्। प्रकृतिको यो अनौठो संग्रहालयमा ५ सय ६७ प्रजातिका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुंगी छन्।


(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर