प्रदेशले तिरिदियो ४६६५ किसानको ब्याज

२०७७ असार २५ बिहीबार ०८:१५:०० मा प्रकाशित

चैत, वैशाख, जेठ र असार महिनाको ब्याज तिरिदिएको हो

वीरगन्ज — कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी लकडाउनमा प्रभावित बनेका किसानको ऋणको ब्याज प्रदेश २ सरकारले तिर्न थालेको छ । राहत तथा अनुदान कार्यक्रमअन्तर्गत प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले सोमबार पर्साका ४ हजार ६ सय ६५ जना किसानको ऋणको ब्याज अनुदानबापतको चेक विभिन्न बैंक तथा वित्तीय संस्थालाई हस्तान्तरण गरे । प्रदेश सरकारले चैत, वैशाख, जेठ र असार महिनाको ब्याज तिरिदिएको हो ।

 

पर्साका लागि प्रदेश सरकारले ३ करोड १० लाख रुपैयाँ ब्याज अनुदान विनियोजन गरेकोमा २ करोड ९६ लाख ४५ हजार खर्च भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । जिल्लामा ५ हजार ३ सय ६१ जना निवेदकबाट ५ लाख रुपैयाँसम्म कर्जा लिएका ४ हजार ६ सय ६५ जना ऋणीको ब्याजबापत अनुदान उपलब्ध गराइएको केन्द्रका प्रमुख डा. रामचन्द्र यादवले बताए । २३ वटा बैंक, २५ लघुवित्त संस्था, २२ वटा सहकारीमार्फत किसानले ऋण लिएका थिए ।

५ लाखदेखि १५ लाखसम्म र १५ लाखदेखि ३० लाखसम्म कृषि ऋण लिएका १ हजार ७९ किसानको ब्याज अनुदान अपुग बजेट र आवेदन नमिलेकाले उपलब्ध गराइएको छैन । बजेट आउनासाथ दोस्रो चरणमा बाँकी किसानलाई ब्याज अनुदान उपलब्ध गराउने यादवले जानकारी दिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत चैतमा किसानले लिएको ऋणको ब्याजमा अनुदान दिने घोषणा गरेको थियो । त्यसका लागि प्रदेश सरकारले चालु आवमा ३६ करोड रुपैयाँ विनियोजन गरेको छ । चार महिनाको ब्याज मिनाहा गर्दा प्रदेश २ का ८० हजार किसान लाभान्वित हुने जनाइएको छ ।

लकडाउनका कारण प्रभावित कृषि क्षेत्र उकास्न र आम जनताले कृषिमा लगानी गर्ने वातावरण बनाउन प्रदेश सरकारले योजना बनाइरहेको मन्त्री साहले बताए ।

लकडाउनका कारण बालीनालीमा परेको क्षतिको पनि राहत दिने योजनामा प्रदेश सरकार रहेको उनको भनाइ छ । ‘पशुपालक किसानलाई प्रतिलिटर १० रुपैयाँको दरले अनुदान दिन्छौं, कुखुरा पालक किसानलाई प्रतिकुखुरा एक सय रुपैयाँ, पशुको दाना र ढुवानीमा पनि अनुदान दिने योजना छ,’ उनले भने ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर