बाढीले सिन्धुपाल्चोकमा १५ घर बगे : दुईको मृत्यु, ९ जना बेपत्ता

२०७७ असार २५ बिहीबार ०८:०६:०० मा प्रकाशित

सिन्धुपाल्चोक — बुधबार राति साढे १२ बजे भोटेकोसीमा बाढी आएसँगै बाह्रबिसे नगरपालिका–५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १४ घर बगाएको छ । बाढीले बस्तीका ११ जना बेपत्ता बनाएकोमा दुई जनाको शव फेला परेको छ ।

स्थानीय युधिर पौडेलका अनुसार २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो । ‘अझै नौ जना बेपत्ता छन्, उनीहरूको सेना र स्थानीय मिलेर खोजी गरिरहेका छन्,’ उनले भने । तीन जना घाइते रहेको र उनीहरूलाई उपचारमा लैजान माथिल्लो निकायमा हेलिकप्टरका लागि प्रयास भइरहेको पौडेलले बताए ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इप्रका चौकीछेउ, खाग्दलदेखि जम्बु बजारसम्मको वरिपरिको सडक र पुल सबै खोलाले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबीसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।

 

जम्बुसम्म पुग्ने राजमार्ग क्षेत्रको सबै सम्पर्क टुटेपछि माथिल्लो गाउँको बाटो हुँदै प्रहरी टोली घटनास्थल गइरहेको प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । ‘जम्बुलगायत तातोपानी क्षेत्र जान मानेस्वाराको बाटो प्रयोग गर्नुपर्ने हुन्छ, त्यहाँसम्म गएपछि आधिकारिक विवरण आउनेछ,’ उनले भने ।

सेना र सशस्त्र प्रहरीको टोली भने घटनास्थल पुगिसकेको उनले सुनाए । त्यसै गरी भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँको बल्कुटे खोलामा बाढी आएर एक घर बगाएको छ । ‘सबैतिरको यकिन विवरण आइसकेको छैन, ठूलो जनधनको क्षति भएको छ,’ न्यौपानेले भने ।


(कान्तिपुर अनलाइनबाट)

ताजा खबर