महिलामा कोरोना सङ्क्रमण देखिएपछि गाउँ नै सिल

२०७७ असार २४ बुधबार १०:०३:०० मा प्रकाशित

सिन्धुलीमाढी। कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सिन्धुलीको कमलामाई नगरपालिका–८ बाघमारा निवासी ६० वर्षीया महिलाको घरसहित गाउँनै सिल गरिएको छ ।

उपचारका लागि काठमाडौँ जानु भएकी ती महिलामा पाटन अस्पताल ललितपुरले सोमबार कोरोना भाईरस सङ्क्रमण पुष्टि गरेपछि बाघमारास्थित उहाँको घरसहित गाउँनै सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा गएको टोलीले सोमबार दिउँसो बाघमारामा २० घर सिल गरेको हो । प्रमुख जिल्ला अधिकारी पाण्डेको अनुसार सिन्धुली अस्पतालमा दुई दिन उपचार गराई ती महिला पत्थरीको अप्रेशनका लागि शुक्रबार पाटन अस्पताल गएको खुल्न आएको छ ।

सोमबार विहान पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि घर र टोल नै सिल गरेको उहाँले जानकारी दिनुभयो । सिन्धुली अस्पतालमा दुई दिन उपचार गराएकी ती महिलालाई पत्थरीको अप्रेशन गर्न अस्पतालले पाटन अस्पताल रिफर गरेको बताईएको छ ।

‘सङक्रमित महिलाको बढी सम्पर्कमा रहेका तीन घरका सबैको र अरु घरमा स्वाबका नमुना सङकलन गरी पीसीआर जाँच गर्न पठाउछौं,’ उहाँले भन्नुभयो ।
महिलामा कोरोना पुष्टिपछि अस्पतालका स्वास्थ्यकर्मी तथा उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु गरिएको भन्दै स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र साहले सङक्रमित महिलाका परिवार, महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलगायतको स्वाब सङ्कलन गरी जाँचका लागि पठाइने बताउनुभयो ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर