परीक्षण घटाइँदै, जोखिम झन् बढ्दै

२०७७ असार २४ बुधबार ०९:४०:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ ।

पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गत १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने प्रतिबद्धता जनाएकामा त्यसविपरीत परीक्षणको दर भने दिन प्रतिदिन घट्दै गएको छ । गत बुधबार ४ हजार ८ सय ६, बिहीबार ४ हजार ५ सय ३७, शुक्रबार ४ हजार ४ सय ८३, शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण गरिएको थियो ।

—१५ दिनमा थपिए ६ हजार संक्रमित
—काठमाडौं उपत्यका ‘हटस्पट’ बन्ने खतरा
—दैनिक ४,७०० जनाको मात्रै कोरोना परीक्षण
—संक्रमित १६ हजार नाघे

यस्तै, गत आइतबार ४ हजार ७ सय १०, सोमबार ४ हजार ७ सय २१ र हिजो मंगलबार ६ हजार १ सय ३३ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो १५ दिनको अवधिमा ६ हजार ६९ जनामा कोरोना पोजेटिभ देखिएको छ । गत ९ असारमा १० हजार ९९ जनामा कोरोना पोजेटिभ देखिएकामा मंगलबार संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको हो ।

मुख्यतः लकडाउन खुकुलो हुनु, पिसिआर परीक्षण नै नभई रेस्क्यु फ्लाइटमार्फत विभिन्न देशबाट नेपाल भित्रिनुलगायतका कारण पनि जोखिम बढेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितमध्ये ९९ प्रतिशत लक्षणविहीन छन् । उनले भने, ‘केही नागरिक विदेशबाट रेस्क्यु फ्लाइटमार्फत आउँदा पिसिआर टेस्ट नै नगरी आउने गरेको पाइयो । लकडाउन खुकुलो हुँदै जाँदा पनि जोखिम बढेको हो ।’

काठमाडौं उपत्यका कोरोनाको हट स्पट बन्ने खतरा बढेको विज्ञहरुको भनाइ छ । संक्रमण देखिएका जिल्लाबाट विभिन्न भित्री बाटो हुँदै हजारौं नागरिक काठमाडौं भित्रिँदै आएका छन् । उनीहरुलाई क्वारेन्टिनमा नराखिँदा जोखिम झन् बढेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले विदेशबाट चार्टर फ्लाइटमा आइरहेका व्यक्तिलाई अनिवार्य क्वारेन्टिनमा नराखिँदा उनीहरु घरमा पुगेपछि परीक्षण गर्दा संक्रमण देखिने गरेको बताए । उनले भने, ‘काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना परीक्षण गरिएको छ । जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ ।’
काठमाडौं उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण देखिएको बताए ।

मंगलबार मात्रै काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनालाई संक्रमण देखिएको छ । योसँगै हालसम्म काठमाडौंमा १७४ जना, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जनामा संक्रमण देखिएको छ । उपत्यकाका तीन जिल्लामा हालसम्म २ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार देशभर थप २ सय ४ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ८ हजार ६ सय ३४ जना आइसोलेसनमा छन् । यस्तै, २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा बस्दै आएका छन् । हालसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म संक्रमितमध्ये ७ हजार ४ सय ९९ जना डिस्चार्ज भएका छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर