करोडपति सन्दीप

२०७७ असार २४ बुधबार ०९:१६:०० मा प्रकाशित

काठमाडौं : पछिल्लो समय संसारका चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा आफ्नो प्रभाव जमाउँदै आएका युवा स्पिनर सन्दीप लामिछानेले यसपटक पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने पक्का भएको छ। उनले यो सिजन जमैका तलावाजबाट खेल्ने भएका छन्। जमैका तलावाजले सन्दीपलाई दोस्रो राउन्डमा छनोट गरेको हो।

सन्दीपले सीपीएलका लागि आफ्नो मूल्य ९० हजार अमेरिकी डलर (करिब एक करोड ८ लाख नेपाली रुपैयाँ) तोकेका थिए। क्रिक इन्फोका अनुसार सन्दीपसँग जमैका तलावाजले करिब एक लाख ३० हजार अमेरिकी डलरमा सम्झौता गरेको छ। सन्दीपसँगै अफगानी अलराउन्डर मोहमद नाबी र अस्ट्रेलियन ब्याट्सम्यान बेन डंक पनि सोही मूल्यमा अनुबन्ध भएका छन्।

सीपीएलमा सन्दीप अनुबन्ध भएको यो तेस्रोपटक हो। यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्सबाट खेलेका थिए। गत वर्ष सन्दीपले राष्ट्रिय टोलीबाट खेल्नुपर्ने भएपछि उनले सीपीएल बीचैमा छोडेका थिए। उनको टोलीले उपाधि जित्दा सन्दीपले फाइनल खेल्न पाएनन्। सिंगापुर र ओमानमा भएको टीट्वेन्टी शृंखलाका कारण उनले सीपीएलका ६ खेल मात्रै खेल्न पाएका थिए। सीपीएलको पहिलो संस्करणमा सन्दीप पाँच हजार अमेरिकी डलर तथा दोस्रो संस्करणमा ७० हजार अमेरिकी डलरमा अनुबन्ध भएका थिए।

सन्दीप आबद्ध जमैका तलावाजमा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, ओसाने थोमस, ग्लेन फिलिप्स, चादविक वाल्टन, रोभम्यान पावेल, तबरेज साम्सी लगायतका चर्चित खेलाडी छन्।

यसपटक सीपीएल ट्रिनिडाड एन्ड टोबागोमा आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुने भएको छ। कोरोना भाइरसको महामारीका कारण यो सिजन सीपीएलका खेलहरू बन्द रंगशालामा सञ्चालन हुने जनाइएको छ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर