आफ्नै आत्मकथामा फसे नुवाजुद्दीन

२०७४ कार्तिक १४ मंगलबार १६:०९:०० मा प्रकाशित

मुम्बई । केही हप्ता देखि बलिउड कलाकार  नुवाजुद्दीन सिद्दीकी आफ्नो आत्मकथा ‘एन अर्डिनरी लाइफ’ लाई लिएर बलिउड नगरीमा एकदमै चर्चामा छन् । उनको आत्मकथामार्फत प्रशंसकले उनका बारेमा धेरै कुरा थाहा पाएका छन् । तर यतिबेला भने उनी एकदमै तनावमा देखिन्छन् । उनका बिरुद्धमा मुम्बईको राष्ट्रिय महिला आयोगमा उजुरी समेत परेको छ ।

उजुरीको कारण भने उनको आत्मकथा नै हो । उनले आफ्नो जिन्दगीमा आफुसँग जोडिएका केही कुराहरुलाई आत्मकथामा बताएका छन् । तिनै कुराहरु अहिले  विवादमा तानिएका हुन् । उनको किताबको केही अंश, केही दिन अघि एक वेबसाइटमा प्रकाशन भएको थियो । त्यो किताबको अंशमा   उनका केही प्रेमका गतिविधि समेत जोडिएका थिए । उक्त किताबको अंशमा उनीसँगै फिल्महरुमा काम गरेकी नायिका निहारिका सिंहको नाम पनि उल्लेख गरिएको छ  । तर निहारिकाले किताबमा बताइएका सबै कुराहरु झुटो भएको दावी गरेकी छिन् । अहिले यही कुरा राष्ट्रिय महिला आयोग समेत पुगेको छ ।

नुवाजुद्दीनको अत्मकथामा लेखिएको छ कि  – निहारिका पहिला देखि नै मसँग धेरै नै घुलमिल हुन्थिन्  तर उनले अचानक मसँग भेटघाट बन्द गरिन् । एक दिनको कुरा हो म निहारिकासँग एउटा फिल्मको लागि डान्स सिक्वेन्सको शूटिङ गरिरहेको थिएँ । त्यतिबेला देखि नै उनी मसँग टाढा हुन   खोजिन् । उनी चुप नै थिइन् । मैले कतिपटक त के भयो भनेर सोधें पनि तर उनको केही जवाफ आएन । मैले उनलाई आफ्नो घरमा खानाको लागि निम्ता पनि दिएँ, उनी मेरो घर पनि आईन् र खानाको प्रशंसा खुबै गरिन् ।

भारतीय मिडियाका अनुसार, दिल्लीका वकिल गौतम गुलाटीले राष्ट्रिय महिला आयोगमा उनी बिरुद्ध  रिपोर्ट लेखाएका छन् । रिपोर्ट दिनुको कारण भने किताबमा लेखेका कुराले महिलाको जीवनमा असर पर्ने सक्ने भएको उनको दावी छ । एजेन्सी 

ताजा खबर