‘ओलीलाई प्रचण्डले नजिस्क्याए हुन्छ’

२०७७ असार २३ मंगलबार १२:२४:०० मा प्रकाशित

काठमाडौं । नेकपाभित्र चर्किँदो कलह केवल पद र शक्तिको आशक्तिले उत्पन्न समस्या भएको एकजना कानूनविद्ले बताएका छन् । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, संसद् र राष्ट्रपति सबैको अमर्यादा गर्दै दुरुपयोग गरिरहेको आरोप पनि ती विज्ञले लगाएका छन् ।

 प्रधानमन्त्री ओलीको नेतृत्वमा मिचिएको भूभागसहितको नयाँ नक्शा जारी गर्ने कार्य देशका लागि अभूतपूर्व उपलब्धी भएकोमा यसका लागि ओलीलाई धन्यवाद दिन कुनै कञ्जुस्याईँ गर्न नहुने बताउँदै ती संविधानविद्ले त्यसपछि ओलीले गरेका कार्य आपत्तिजनक रहेको बताए । 

संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले एपीवान टिभीसँगको कुराकानीमा चर्चा गरेका प्रसंगहरु संक्षेपमाः

 - ०७ का परिवर्तन मातृकाप्रसाद कोइरालाले समाप्त गरे । ०४७ को उपलब्धी गिरिजा प्रसाद कोइराला र प्रचण्डले समाप्त गरे । पछिल्ला गतिविधिले ०६२ को उपलब्धी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण समाप्त हुने जोखिम छ ।

- पार्टीको आन्तरिक जीवनमा अनेक विवाद हुन्छन् । सहमति असहमति हुन्छन् । तर विधि पद्धति र कानुन संविधान भन्दा पनि मेरालागि पद महत्वपूर्ण हो, म जे चाहन्छु त्यो गर्छु भन्ने म्यासेज दिँदै अनौठो ढंगले संसद नै अन्त्य गरे ओलीले । उनले त राष्ट्रपतिलाई पकेटको व्यक्ति जस्तो बनाएको देखियो ।

- ओलीमा सत्ता र पदका लागि जतिसुकै हदसम्म जानसक्छु भन्ने भावना देखिन्छ । कसैलाई पनि नटेर्ने, उनले आफ्नै मन्त्रीहरुलाई मेरो पक्षमा छैनौ भने कित्ता छुट्याउ भन्नु भन्दा आश्चर्य के होला अरु ! यसले ओलीको मनोविज्ञान स्प्ष्ट गर्छ । पदका लागि व्यवस्थालाई नै दाउमा राखेको देखिन्छ । त्यसैले व्यवस्था अन्त्य हुन्छ कि भन्ने मुख्य चिन्ता हो ।

- मुलुक कस्तो दुर्भाग्यमा फसेको छ भने यसरी संसद बन्द हुँदासमेत कांग्रेस चुइँक्क बोल्दैन । र दुर्भाग्यपूर्ण संयोग यस्तो छ कि– व्यवस्था नै किस्तीमा राखेर राजालाई बुझाउने ब्यक्ति प्रमुख प्रतिपक्षी दलका नेता छन् । यो व्यवस्था विरुद्ध सशस्त्र विद्रोह गर्ने व्यक्ति प्रचण्ड सत्तारुढ दलको अध्यक्ष छन् । अर्कोतिर यस धर्तीमा रहेसम्म पद र म भनेको एकै हो । अलग हुने कुरा पृथ्वीमा सम्भव छैन भन्ने मान्यताका नेता प्रधानमन्त्री छन् । स्वार्थ र पदका खातिर मुलुकको जुनसूकै चिज अन्त्य गर्न तयार देखिएको छ ओली र उनको समूह ।

- राम्रो काम गर्दा गर्दैपनि मलाई हटाउन यतिसम्म गरे भनेर संसदमा भनेको भए कति गर्विलो हुन्थ्यो बरु । कुनै पनि प्रधानमन्त्री हाउसबाट भाग्छ भने उ अरु इमानमा काम गर्छ भन्नु बेकार हो । उल्टा आफुले जे गरेपनि सबैले जयजयकार गर्नुपर्छ भन्ने मनसाय ओलीमा देखियो ।

- पद जोगाउनकै लागि ओली मुलुकका लागि अहितकारी एमसीसीका लागि ज्यान फालेर लागेका छन् । पार्टी नै फुटाएर देउवासँगको अपवित्र साँठगाँठको तयारीको कारण एमसीसी हो ।

- ओलीलाई जे गर्नु छ गर्नुस् मनमर्जीले भनेर छोडदिए अर्कै हो । नत्र प्रचण्डले चाहेर ओलीलाई बाँध्न सक्दैनन् । नभए त ओलीका विरुद्धमा प्रधानमन्त्री भईसकेका र स्थायी कमिटीमा अधिकांश नेताहरुको बहुमत हुँदाहुँदै पनि एक्सन गर्ने अवस्था किन छैन ? रहस्य यहीँनेर हो । ओलीले गल्ती गर्यो पनि भन्ने, बहुमत पनि आफुहरुसँगै छ पनि भन्ने, तर गर्न चैं केही नसक्ने ? त्यसैले ओलीलाई प्रचण्ड नेतृत्वले नजिस्काए हुन्छ । किन कि ओलीले प्रचण्डका अनेकौं कमजोरीमाथि खेलिरहेका छन् । ओलीले प्रचण्डलाई भुसुना सरह पनि मान्दैनन् भन्ने त यसबीचमा ओलीका अनेकांै क्रियाकलापले प्रशस्त म्यासेज दिएको छैन र ?

- प्रचण्डका व्यक्तिगत कमजोरीमाथि ओलीले जति रजाइँ गरे फरक पर्दैन, तर विधि र पद्धति, मुलुक र संविधानलाई आफ्नो पदका लागि दाउमा लगाउन पाइन्न ।
 

ताजा खबर