डा. डीआर उपाध्यायको गिनिज अफ वल्डमा नयाँ कीर्तिमानी

२०७७ असार २३ मंगलबार ०८:३९:०० मा प्रकाशित

काठमाडौं । गीति विधाबाट नेपालको नाममा फेरि एउटा गिनिज अफ वल्र्ड रेकर्ड थपिएको छ । गीत लेखनबाट पहिलोपटक गिनिज अफ वल्र्ड रेकर्ड थपिएको हो । गीतकार डा. डीआर उपाध्यायले १२ लाइनको एउटा गीत १२ भाषामा लेखेर गिजिन अफ वल्र्ड रेकर्डमा आफूसँगै नेपालको नाम दर्ता गराएका हुन् ।

आफ्नो गीतिसंग्रह ‘मायाको सागर’को शीर्ष गीत मायाको सागर…मार्फत उनले गिजिन अफ वल्र्ड रेकर्डमा कीर्तिमानी कायम गरेका छन् । यो गीतलाई नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारी रेकर्ड गरिएको हो । यो गीतलाई गीतकार उपाध्ययसँगै सागर अधिकारी ‘शरद’ र प्रकाश तिमिल्सिनाले संयुक्त रूपमा गाएका छन् । यो गीतमा सन्तोष श्रेष्ठको संगीत दिएका हुन् ।

काठमाडौंमा सामाजिक दूरी कायम गर्दै शनिबार बेलुका आयोजना गरिएको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले गीतकार डा. उपाध्यायलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै मन्त्री यादवले यसरी एउटा गीतकारले विश्व कीर्तिमानीकायम गर्नुले नेपालमा पनि ससक्त प्रतिभा छन् भन्ने प्रमाणित भएको बताए । लक्ष्मी र सरस्वती दुवैको वरदान पाएका गीतका उपाध्यायले गीत लेखेरै विश्वको चर्चित गिनिज अफ वल्र्ड रेकर्डसहित १५ वटा विश्व कीर्तिमानी कायम गरेको जानकारी पाउँदा साह्रै खुसी लागेको यादवले बताए ।

केही समयअगाडि ‘हिरो २०१९’बाट समेत सम्मानित डा. उपाध्यायले वल्र्ड बुक्स अफ अमेरिका, अस्ट्रेलिया, लन्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इन्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जिनस वल्र्ड रेकर्ड, एभरेस्ट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

गिजिन आफ वल्र्ड रेकर्ड ग्रहण गर्दै सो कार्यक्रममा गीतकार डा. उपाध्यायले समाजका लागि आफूले केही फरक शैलीको गीतहरू लेख्दै आएको बताए । यस्ता गीतले आफूलाई आत्मसन्तुष्टि मिलेको पनि जिकिर गरे । देशलाई विश्वमा चिनाउन कला सशक्त माध्यम भएको आफूले प्रमाणित गरेको पनि गीतकार डा. उपाध्यायको कथन थियो ।

अहिले गिनिजमा नाम लेखाएका यी गीतकारले यसअघि एकैपटक सातवटा गीतिसंग्रह ल्याएर विभिन्न १४ वटा विश्व रेकर्ड कायम गरेका थिए । गीतकार डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘सेभेन्थ कड्स’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’जस्ता १९ वटा गीति एल्बमका सयौं गीत सार्वजनिक छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर