उपाधि अभियानमा युभेन्ट्स

२०७७ असार २३ मंगलबार ०७:५३:०० मा प्रकाशित

मिलान : साविक विजेता युभेन्ट्स इटालियन सिरिए फुटबलको उपाधि रक्षातर्फ लम्किएको छ। लिगअन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४-१ गोलले हरायो।

घरेलु मैदानमा सानदार जित निकाल्न युभेन्ट्सका पाउलो डिबाला, जुआन क्वाडराडो र क्रिस्टियानो रोनाल्डोले गोल गरे। युभेन्ट्सले अर्को गोल टोरिनोबाट उपहार पाएको थियो। टोरिनोका आन्द्रेय बेलोट्टीले सान्त्वना गोल गरेका थिए।

युभेन्ट्सले खेलको दोस्रो मिनेटमै खाता खोलेको थियो। पाउलो डिबालाले गोल गर्दै घरेलु टोलीको उत्साह जगाएका थिए। उनले जेआन क्वाडराडोको पासमा गोल गरेका थिए। त्यसपछि २९औं मिनेटमा क्वाडराडोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए। उनले क्रिस्टियानो रोनाल्डोको पासमा उत्कृष्ट गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा टोरिनोले पेनाल्टीमार्फत गोल फर्कायो। डिबक्सभित्र युभेन्ट्सका म्याथिज डी लिग्टले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई आन्द्रेयले सदुपयोग गरेका थिए। तर, दोस्रो हाफमा युभेन्ट्सले थप आक्रामक प्रदर्शन गरेको थियो।

६१औं मिनेटमा रोनाल्डोले करिब २५ यार्ड टाढाबाट फ्रिकिकमा सोझै गोल गरेका थिए। युभेन्ट्समा रोनाल्डोको यो पहिलो फ्रिकिक गोल पनि हो। उनले यससँगै सिरिएमा ६० वर्षको कीर्तिमानसमेत भंग गरेका छन्। उनले जारी सिजन सर्वाधिक २५ गोल गर्दै यसअघि सन् १९६० मा ओमार सिभोरीले बनाएको कीर्तिमान तोडेका हुन्। उच्च लयमा रहेका रोनाल्डोले सिरिएमा यस सिजनमा २६ खेल खेलेका छन्।

दोस्रो हाफमा सशक्त प्रदर्शन गरेको युभेन्ट्सले ८७औं मिनेटमा आत्मघाती गोल उपहार पायो। बल बचाउने क्रममा टोरिनोका कोफी जीजीको प्रहार आफ्नै पोस्ट्मा छिरेपछि युभेन्ट्सले फराकिलो जित निकाल्यो।

यस जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सको ३० खेलबाट ७५ अंक पुगेको छ। युभेन्ट्स दोस्रो स्थानमा रहेको लाजियोभन्दा सात अंकले अगाडि छ। ३१ अंक बनाएको टोरिनो १५औं स्थानमा छ। शनिबार राति नै भएको खेलमा दोस्रो स्थानको लाजियो एसी मिलानसँग ३-० गोलले पराजित भएपछि युभेन्ट्सलाई थप फाइदा पुगेको छ। हारले लाजियोको उपाधि होड कमजोर बनेको छ। लाजियोलाई उसैको मैदानमा हार चखाउन मिलानका लागि हकान चाल्हानोग्लुले २३औं मिनेटमा खाता खोले। भेट्रान ज्लाटन इब्राहिमोभिचले ३४औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे। एन्टे रेविकले ५९औं मिनेटमा गोल गर्दै मिलानलाई सजिलै जिताए। खेलभर मिलानको दबाब झेलेको लाजियोको गोल फर्काउने प्रयास सफल बन्न सकेन। हारे पनि दोस्रो स्थानमा रहेको लाजियोको ६८ अंक छ। लाजियोलाई हराएको मिलान ४६ अंकसहित छैटौं स्थानमा छ। शनिबार राति नै भएको अर्को खेलमा ससौलोले लिसेलाई ४-२ गोलले स्तब्ध बनाएको छ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर