कालिगण्डकीमा तटबन्ध निर्माण हुँदै

२०७७ असार २३ मंगलबार ०७:४८:०० मा प्रकाशित

जोमसोम : हिमाली जिल्ला मुस्ताङको महत्वपूर्ण पर्यटकीय ट्रान्जिट प्वाइन्ट सदरमुकाम जोमसोम बजारको शीरमा बृहत कालिगण्डकी नदी नियन्त्रण तटबन्ध निर्माण हुने भएको छ। संघीय सरकार अन्र्तगत राष्ट्रिय योजना आयोगले कालिगण्डकीमा तटबन्ध निर्माणको योजना सुरु गरेको हो।

आयोगको बहुवर्षीय नदी नियन्त्रण तटबन्ध आयोजना निर्माणको जिम्मा एपेक्स÷अमित जेभीले लिएको छ। तटबन्धको कुल बजेट ९ करोड ५१ लाख ३२ हजार भएपनि ठेक्का टेन्डर सम्झौता ९ लाख घटेर ९ करोड ४२ लाख ८६ हजारमा भएको हो। तटबन्ध निर्माणको सम्झौता अवधि १५ महिना छ।

कालिगण्डकीको वारी र पारीको दुबै बजारक्षेत्रलाई जोड्ने मोटरेबल पुलदेखि माथि उत्तरतर्फको दुबै भागमा तटबन्ध निर्माण हुने घरपझोङ गाउँपालिकाले जनाएको छ। बर्षेनी हुने नदी कटानलाई न्यूनिकरण गर्नका लागि पश्चिमतर्फ सशस्त्र प्रहरी बलको ३३ नं गुल्मदेखि जोमसोम पक्की पुलसम्मको भागमा एक हजार एक सय ५० मिटर र जोमसोम—कोरला सडकको पूर्वतर्फको भागमा ९ सय मिटर लामो तटबन्ध निर्माण हुने ईन्जिनीयर सकलदेव शर्माले बताए। नदीले वर्षेनी दिशा परिवर्तन गरिरहने भएकाले तटबन्धले जोखिम कम गर्ने मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताए।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर