ओली–दाहाल संवादमा नेपालको असन्तुष्टि

२०७७ असार २३ मंगलबार ०६:३२:०० मा प्रकाशित

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई जना बसेर विवाद समाधानका लागि संवाद गर्ने सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।

 

सोमबार ओली र दाहालबीच पार्टीको आन्तरिक विवादमा सहमतिको सूत्र खोज्न दुई अध्यक्षमात्र संवादमा जुट्ने सहमति भएको थियो । यसैलाई लिएर वरिष्ठ नेता नेपालको असन्तुष्टि आएको हो । ओली र दाहालबीचको भेट लगत्तै नेपाल र दाहालबीच भेटवार्ता भएको थियो ।

स्रोतका अनुसार यही भेटवार्तामा नेता नेपालले दुई अध्यक्षको सहमतिलाई लिएर असन्तुष्टि जनाएका हुन् । नेता नेपालसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि दुई अध्यक्षले संवाद साँघुरो बनाएकोमा असन्तुष्ट छन् ।

ओली र दाहालले आइतबारको छलफलमा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मासहित छलफल गरेका थिए । पौडेल र पोखरेल ओली निकट नेता हुन् भने पुन र शर्मा दाहाल निकट मानिन्छन् ।

दुई–दुई जना निकट नेता राख्दा पनि दाहालले आफ्नो समूहका नेता नराखेकोमा नेपालको असन्तुष्टि थियो । यी चार नेतालाई सहमतिको गृहकार्य गर्ने जिम्मा दिइएको बताइए पनि पछि दाहालको सचिवालयले यस्तो नभएको दाबी गरेको थियो । त्यहीबीचमा नेकपाको सहमतिको पाँच बुँदे मस्यौदा नाम दिइएको पत्र बाहिरिएको थियो । यसलाई पनि दाहालको सचिवालयले गलत भन्दै खण्डन गरेको थियो ।

त्यसको अर्को दिन दुई अध्यक्षले आवश्यक परे अरु नेता राख्ने नत्र आफैले संवाद गर्ने सहमति गरेका हुन् । यसले नेकपाभित्र दाहाल–नेपाल समूहमा आंशका बढाएको छ । विगतमा ओली र दाहाल मिलेर आफूलाई किनारा लगाएको नेपाल समूहका नेताहरुको बुझाई छ ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग्नेमा नेपाल समूहका नेता धेरै थिए । तर, सोमवारसम्म ओली कुनै पद नछाड्ने आफ्नो अडानमा कायमै छन् ।

दुई अध्यक्षले समझदारी गर्ने र बैठकमा अनुमोदन गर्ने कुरा स्वीकार्य नहुने नेपाल निकट एक नेताहरुको भनाइ छ । स्थायी कमिटीबाटै निर्णय हुनुपर्ने उनिहरुको भनाइ छ ।

पार्टी प्रवक्ता श्रेष्ठले अध्यक्षहरुले सहमति जुटाउन छलफल अघि बढाए पनि प्रगतिबारे जानकारी नभएको बताए ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर