मेलम्चीको मुख्य सुरुङ परीक्षण

२०७७ असार २२ सोमबार ०७:३५:०० मा प्रकाशित

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाले राजधानी जोड्ने साढे २६ किलोमिटर सुरुङमार्गको आठ सय मिटरमा पानी खसालेर सफल परीक्षण गरेको छ ।

हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानको मुख्य अडिटको ‘जिरो जेनेज’ बाट आठ सय मिटरको अडिटसम्म पानी पठाएर आइतबार परीक्षण गरिएको आयोजनाका साइट इन्जिनियर शेखर खनालले जानकारी दिए ।

‘अहिले आठ सय मिटरसम्म मात्रै थोरै ओभरफ्लो गरेर पानी पठाइएको हो । त्यहाँ गेट लगाउनुपर्छ । यसबाट ओभरफ्लो भएपछि पानी सुन्दरीजल निस्कन्छ,’ उनले भने ।

मुख्य सुरुङको ‘रिभिनिङ पार्ट’, गेट नम्बर १७ लगाउने, अन्य संरचनालगायत थोरै काम बाँकी रहेको खनालको भनाइ छ । दुई/तीन दिनपछि मेन टनेललाई फिलिङ गर्दै अन्य काम बढाइने उनले जानकारी दिए । काठमाडौंको सुन्दरीजलसम्म पानी लैजान महत्त्वपूर्ण मानिने मुख्य सुरुङको मेन गेट वा गेट नम्बर १७ लगाउन तीन साता लाग्ने आयोजनाले बताएको छ । यसअघि अम्बाथानस्थित मुहान क्षेत्रबाट १ किमि तल रहेको अडिट मार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको थियो ।

हेडवर्क्स स्थलको ५० प्रतिशत काम सकिएको र अन्य काम पनि तीव्र रहेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए । अहिलेको अवस्थामै परीक्षण सफल भएमा भदौ अन्तिमबाट जनताको उपभोगका लागि मेलम्चीको पानी वितरण गरिने उनले बताए । इटालियन कम्पनी सीएमसीले आयोजनाको ठेक्का तोडेपछि ६ महिनादेखि कार्यरत चिनियाँ कम्पनी सिनो हाइड्रोले हेडवर्क्स स्थलको ५० प्रतिशत काम सम्पन्न गरिसकेको छ ।

आयोजनाको ड्यामस्थलदेखि सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङको काम करिब सकिएको छ । आयोजनाको गेट र भेन्टिलेसन साफ्टको जिम्मा लिएका आठ वटा साना ठेकेदार कम्पनीले ७५ प्रतिशत काम सकाएको आयोजनाले जनाएको छ । पर्मानेट फाउन्डेसनको काम पनि भइरहेको उनले बताए ।

सिनोले गत असोजमा सुरुङको बाँकी काम गर्न ८५ करोड र १ अर्ब २ करोडमा हेडवर्क्सस्थलको ठेक्का पाएको थियो । सम्झौताअनुसार दुवै काम सक्ने अवधि १५ महिना भए पनि आयोजनाले समयअगावै पूरा गरे ठेकेदार कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत बोनस दिने घोषणा गरेको छ ।

‘पानी छिट्टै उपत्यकामा’

यसैबीच खानेपानीमन्त्री बिना मगरले मेलम्चीका लागि तयार पारिएका अस्थायी संरचना निर्माण सकिएको बताएकी छन् । दन्त्य कथा जस्तै बनेको मेलम्चीको पानी अब छिट्टै काठमाडौं आउने उनले दाबी गरिन् ।

‘प्राविधिक र सामाजिक रूपमा चुनौती थिए । राजनीतिक रूपमा हाम्रो टाउकोमा जिम्मेवारी थोपर्ने काम पनि गरिएको थियो,’ उनले भनिन्, ‘मेलम्चीलाई विफल आयोजनाका रूपमा हेर्ने गरिन्थ्यो । त्यस्तो अवस्थाको अन्त्य भएको छ ।’ पानी पथान्तरणको काम सुरु भएको र छिट्टै उद्घाटन मिति सार्वजनिक गर्ने मन्त्री मगरको दाबी छ । ठेकेदार कम्पनी र प्राकृतिक रूपमा समस्या देखिए पनि अहिले भने त्यस्ता समस्या नरहेको उनको भनाइ छ । ‘छिट्टै खानेपानी आयोजना उद्घाटन गरेर जनताको उपभोगका लागि वितरण गर्नेछौं,’ उनले भनिन् ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर