कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

२०७७ असार २१ आइतबार ०९:२६:०० मा प्रकाशित

काठमाडौँ । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिने निर्णय सरकारले गरेको जानकारी दिनुभयो । सरकारको यो निर्णयसँगै लामो समयदेखि केन्द्रीय तहबाट सञ्चालन गरिँदै आएको कक्षा ११ को परीक्षा सञ्चालन र विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालय तहमा पुगेको छ । नेपालमा २०४९ सालदेखि कक्षा ११ को पठनपाठन सुरु भएकोमा केन्द्रीय तहबाटै परीक्षा सञ्चालन तथा विद्यार्थीको नतिजा प्रकाशन गर्ने गरिएको थियो ।

कार्यविधि परीक्षा बोर्डले बनाउने
यो निर्णय कार्यान्वयनमा ल्याउन राष्ट्रिय परीक्षा बोर्डले आवश्यक कार्यविधि बनाउने निर्णय पनि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गरेको छ । साथै परीक्षा सञ्चालनको मापदण्ड, विद्यार्थीको मूल्याङ्कन नम्बर दिने मापदण्ड तथा प्रमाणीकरणको आधार लगायतका विषयमा कार्यविधि स्पष्ट गरिने महानिर्देशक दाहालले बताउनुभयो । बोर्डले नै विद्यार्थीको अन्तिम अभिलेख हेर्ने र शैक्षिक प्रमाणपत्र समेत जारी गर्ने भएकाले कार्यविधि बनाउने अधिकार बोर्डलाई दिइएको हो । यसका साथै हाल स्थगित अवस्थामा रहेका कक्षा ११ का परीक्षा सञ्चालन तथा मूल्याङ्कन अब विद्यालयबाटै हुनेछ । विद्यालयले अन्तिम मूल्याङ्कन गरिदिएपछि कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई कक्षा १२ मा अध्ययन गर्ने बाटोसमेत खुल्नेछ । साथै ती विद्यार्थीमा लामो समयदेखि रहेको अन्योलसमेत अब हट्ने भएको छ । गत वैशाखमा सञ्चालन गर्ने भनिएको कक्षा ११ को परीक्षा कोरोना भाइरस सङ्क्रमणका कारण स्थगन छ । यसअघि सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम मूल्याङ्कन गर्ने अधिकार एक पटकका लागि विद्यालयलाई नै दिने निर्णय गरेको थियो । अर्को पटकबाट कक्षा १० को परीक्षा प्रदेशबाट सञ्चालन गर्नेगरी कानुनी व्यवस्थापन गर्ने सरकारी योजना छ ।

कक्षा १२ को परीक्षा पुरानै प्रणालीबाट
माध्यमिक तहको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ । कक्षा १२ को परीक्षाको हकमा कानुन स्पष्ट उल्लेख भएका कारण थप कुनै नीतिगत निर्णय गर्नु नपर्ने र समय अनुकूल भए लगत्तै बोर्डले नै परीक्षा सञ्चालन गर्ने जानकारी सम्बन्धित अधिकारीले दिएका छन् । कक्षा १२ को पनि परीक्षा स्थगनकै अवस्थामा छ । उक्त परीक्षा गत वैशाखमा सञ्चालन गर्ने कार्यतालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको थियो तर सरकारको निर्देशनपछि चैत ५ गते परीक्षा रोकिएको थियो ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर