काठमाडौं उपत्यका कोरोना संक्रमणको थप जोखिममा

२०७७ असार २१ आइतबार ०८:५६:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमणको दृष्टिले काठमाडौं उपत्यका थप जोखिममा पर्दै गएको छ । बाक्लो जनघनत्व, बाहिरी जिल्लाबाट सर्वसाधारणको जथाभावी आवागमन, खुकुलो लकडाउन लगायतका कारण काठमाडौं उपत्यका थप जोखिममा परेको हो ।

हालसम्म काठमाडौं उपत्यकाभित्र १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । काठमाडौंका १ सय ९, भक्तपुरका २८ र ललितपुरका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

– संक्रमितको ट्राभल हिस्ट्री नै देखिएन
– लकडाउन खुकुलो प्रमुख कारण
– उपत्यकामा संक्रमित १५४ पुगे

हालसम्म काठमाडौंका तीनकुने, कपन, खुसुवु, कागेश्वरी, कोटेश्वर, सिनामंगल र टोखामा संक्रमण देखिएको छ । यस्तै, ललितपुरको थसीखेल, चापागाउँ, लुभु, सिद्धिपुर, हात्तीवन, सातदोबाटो, नखिपोट, भैंसेपाटी, प्यूटार, टीकाथली, बुङ्मती र सुनाकोठीमा संक्रमण देखिएको छ । भक्तपुरको बोडे, भोलाछें, चाँगुनारायण र कमलविनायकमा संक्रमण देखिएको छ ।

काठमाडौंमा भेटिएका १ सय १७ संक्रमितमध्ये १२ जनाको कुनै पनि ट्राभल हिस्ट्री नभएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘१ सय १७ मध्ये १२ जना व्यक्तिको कुनै पनि लिंक भेटिएको छैन । उहाँहरू विदेशबाट पनि आउनुभएको छैन । ट्राभल हिस्ट्री पनि देखिएको छैन ।’ उनले भैंसेपाटी क्षेत्रका १ सय १० जनाको प्रतिनिधिमूलक स्वाब संकलन गरिएको बताए ।

ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले लकडाउन खुकुलो हुँदा थप जोखिम बढेको बताए । उनले भने, ‘व्यक्तिगत दूरी कायम नगरी हिँड्दा र व्यक्तिगत सुरक्षाका उपाय अवलम्बन नगर्दा जोखिम बढ्दै जाने देखिन्छ । स्वयं व्यक्ति सचेत हुन जरुरी छ ।’

यसैबीच, हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । शनिबार थप २ सय ३३ जनामा संक्रमण पुष्टि भएँगै संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अुसार पछिल्लो २४ घण्टामा थप २ सय ७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ । कुल संक्रमितमध्ये ३३ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

हालसम्म २ लाख ४६ हजार २ सय ९७ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरीएको छ । हाल देशभर ३३ हजार १ सय २५ जना क्वारेन्टिनमा बस्दै आएका छन् ।

कहाँ कहाँ देखिए संक्रमित ?
काठमाडौं : तिनकुने, कपन, खुसुवु, कागेश्वरी, कोटेश्वर, सिनामंगल र टोखा
ललितपुर : थसिखेल, चापागाउँ, लुभु, सिद्धिपुर, हात्तीवन, सातदोबाटो, नखिपोट, भैंसेपाटी, प्यूटार, टीकाथली, बुङ्मती र सुनाकोठी
भक्तपुर : बोडे, भोलाछें, चाँगुनारायण र कमलविनायक
(राजधानी दैनिकबाट)

ताजा खबर