सुकेका ढुंगेधारामा अब पानी आउने

२०७७ असार २१ आइतबार ०८:४६:०० मा प्रकाशित

ललितपुर महानगरपालिकाको महानगरको वडा नं ६ मा रहेको सुन्धारा, १७ को सिन्चा हिटी र मनी मण्डप हिटी हिउँदमा सुक्छन् । अब यी तीनवटा धारामा निरन्तर पानी आउने भएका छन् । यी तीन ढुङ्गे धाराको मुहान संरक्षण भएपछि ती धारामा पानी आउने भएका हुन् । वडा नं १५ स्थित नाय्ख्योमा रहेको मुहान संंरक्षण गर्दै त्यहाँ पोखरी निर्माणको काम सुरु भएको छ ।

महानगरको गौरवशाली योजना अन्तर्गत यो काम थालिएको हो । पहिलो चरणको योजना अन्तर्गत पानी ल्याउन काम थलिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो चरण अन्तर्गत तीन वटा ढुंगेधारामा पानी ल्याउन काम शुरु गरेका हौं , बाँकी ८ वटामा दोस्रो चरणमा काम थाल्छौं । ’ प्रमुख महर्जनले यी धारामा चौबिसै घण्टा, सात दिनै र तीनसय पैसठ्ठी दिन नै पानी आएपछि दोस्रो चरणको काम सुरु गर्ने बताउनुभयो ।

महानगरले ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यो योजना अघि बढाएको हो । प्रमुख महर्जनले भन्नुभयो ‘ सहरको ब्युटीफिकेसन अन्तर्गत मृततुल्य यी ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थालेका हौं । ’ ढुंगेधारा दुलर्भ सम्पत्ति भएको बताउँदै यसको संरक्षण महत्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामीले ध्यान नदिदाँ धेरै यस्ता सम्पदा मासिएको छ, अब पनि वेवास्ता गर्ने हो भने, नातिनातिनालाई दिन सम्पत्ति हुँदैन ।’

ढुंगेधारा संरक्षण अभियन्ता प्रयागलाल जोशीले महानगरको अनुरोधमा गरेको अध्ययनको आधारमा तयार पारिएको प्रतिवेदन अनुसार यी तीनवटा ढुंगेधारामा काम थालिएको हो । उक्त प्रतिवेदनले यी तीन सहित अन्य आठ ढुंगेधारामा पानी झार्न सकिने बताएको छ । उहाँले ढुंगेधाराको मुहान मासिएको र संरक्षण नभएकाले पानी आउन छोडेको बताउनुभयो । ढुंगेधारामा पानी आउन मुहानको संरक्षण हुनुपर्ने उहाँले बताउनुभयो । मुहान संरक्षण गर्ने क्रममा जलभण्डार बलियो हुनुपर्ने स्पष्ट पार्दै भन्नुभयो, ‘त्यसका लागि यहाँ पोखरी बनाउन लागिएको हो ।’

उहाँका अनुसार वर्षातको पानी संकलन सुकेका धारामा पानी ल्याउने महत्वपूर्ण आधार भएको स्पष्ट पार्नुभयो । जोशीले ढुंगेधाराको सतह भन्दा पानीको मुहान माथि भए पानी सजिलै आउने जानकारी दिनुभयो । जोशीले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा महानगरभित्र रहेका ११ वटा ढुंगेधारामा पानी ल्याउन सकिन्छ । उपभोक्ता समितिका अध्यक्ष डा हरिशरण चख्खुले लकडाउनका कारण फागुनको सुरु हुनुपर्ने काम मध्य असारमा पुगेको बताउनुभयो । यो काम सम्पन्न गर्नका लागि सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो । ललितपुर महानगरपालिकाले यो योजनाका लागि करीब ७० करोड रुपैयाँ विनियोजन गरेको छ । यस अघि ललितपुर महानगरपालिकाले यस विषयमा चरणबद्ध रुपमा छलफल गरेको थियो ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर