यार्सा संकलन नहुँदा खानलाउनै समस्या

२०७७ असार २१ आइतबार ०८:४०:०० मा प्रकाशित

कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण यार्सागुम्बा टिप्न नपाएपछि दार्चुलाका अधिकांश स्थानीयलाई के खाने र के लाउने भन्ने अवस्था सिर्जना भएको छ । कोरोना भाइरस फैलिने डरले संकट व्यवस्थापन केन्द्रले यस वर्ष यार्सागुम्बा पाइने लेकहरु बन्द गरेपछि यार्सा संकलन गरी वर्षभरि गुजरा चलाउनेहरुलाई निकै मर्का परेको छ ।

विगतका वर्षमा जेठको अन्तिम सातादेखि यार्सा संकलन गर्न यार्सागुम्बा पाइने वनहरु खुला गर्ने गरिएकोमा यस वर्ष भने संकलन समय लगभग सकिँदासम्म यार्सा संकलकहरुले संकलन अनुमति पाएका छैनन् । विगतमा यार्सा संकलन गरी आम्दानी गरेको पैसाबाट वर्षभरि गुजरा गर्ने दार्चुलाका स्थानीय आम्दानी नहुँदा चरम आर्थिक मारमा परेका छन् ।

एकै घरका ३÷४ जनासम्म यार्सा संकलन गर्न जाने गरेकोमा लकडाउनका कारण सबैको आम्दानी गुमेको छ । गत वर्ष यार्सा संकलन गरी ३ लाख रुपियाँ आम्दानी गरेका अपी हिमाल गाउँपालिका‐६ का विशनसिंह बुढाथोकीले यस वर्ष यार्सा संकलन नै गर्न पाएका छैनन् ।

उहाँले भन्नुभयो– ‘गत वर्ष यार्सा संकलन गरी ३ लाख कमाइ भएको थियो, यस वर्ष यार्सा संकलन गर्न वन नै खुलेन के लाउने के खाने भन्ने अवस्थाको सिर्जना भएको छ ।’ यार्सा संकलन गर्न नपाएपछि बुढाथोकीजस्तै धेरैको रोजगारी गुमेको छ ।

गत वर्ष यार्सा संकलन गरी कमाएको पैसा सकिएपछि ब्याँस गाउँपालिका‐२ दुम्लिङका चञ्चल सिंह जोहारीलाई पनि गुराजा चलाउन मुस्किल नै परेको छ । ४ जनाको परिवार भएका जोहारीले बच्चाहरुको विद्यालय शुल्क तिर्न र हातमुख जोड्न समस्या भएको बताउनुभयो ।

उहाँले प्रश्न गर्नुभयो– ‘यस वर्ष यार्सा संकलन गर्न पाइएन, लकडाउनले सबै गाउँघरतिर आएका छन्, चरम बेरोजगारी सिर्जना भयो, के गरी गुजरा चलाउने हो ।’ स्थानीय सरकारले दिएको बाटोको योजनामा मजदुरी गरेर हातमुख जोड्न बाध्य भएको उहाँले बताउनुभयो ।

बुढाथोकी र जोहारी त प्रतिनिधि पात्र मात्रै हुन् । दार्चुलाका धेरै स्थानीयको चुलो बाल्न समस्या परेको छ । जिल्लाको मार्मा, अपी हिमाल, ब्याँस र नौगाड गाउँपालिकाका अधिकांश स्थानीय यार्सा संकलन गर्न जाने गरेका छन् । अपिनाम्पा संरक्षण क्षेत्रअन्तर्गतका वनहरु अपी, नाम्पा, दुधिवन, लोलु रोखापु, क्षत्ति, धरमघर, चाइमटेलालगायतका क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइन्छ ।

यार्सा संकलन नहुँदा यस वर्ष सरकारलाई प्राप्त हुने ठूलो राजस्व रकमसमेत गुमेको छ । गत आर्थिक वर्षमा दार्चुलाबाट ४ सय ४५ किलोग्राम यार्सा निकासी भएको थियो भने १ करोड २८ लाख ५० हजार राजस्व संकलन भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरले जानकारी दिनुभयो ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर