कोरोनाको मुहान पत्ता लगाउन वुहान जाँदै डब्लुएचओको टोली

२०७७ असार २१ आइतबार ०७:३१:०० मा प्रकाशित

कोरोना भाइरसको उद्गमस्थल मानिने चीनले बेलैमा यसबारे यथार्थ जानकारी नदिएको आरोप लागिरहेको छ। वास्तवमा कोरोना भाइरस कहिले, कहाँबाट उत्पन्न भएको थियो? 

अब यसबारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुसन्धान गर्ने भएको छ। यसका लागि डब्लुएचओको अध्ययन टोली आगामी हप्ता चीन जाँदै छ। 

डब्लुएचओकोको चीन कार्यालयले वुहान नगरपालिका स्वास्थ्य आयुक्तबाट भाइरल निमोनियाबारे सूचना पाएको ६ महिनापछि डब्लुएचओको टोली त्यहाँ जान लागेको हो। 

डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेब्रिएससले जनवरीमा भनेका थिए- यस विषयमा चीनसँग जति छिटो सहमति हुन्छ, त्यति नै छिटो यो काम हुन्छ। उनका अनुसार अन्तर्राष्ट्रिय विशेषज्ञको एक टोली वुहान गएर कोरोना महामारीको सुरुवात कसरी भयो भन्ने पत्ता लगाउने कोसिस गर्नेछ। 

कोरोना संक्रमणका कारण विश्वमा ५ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने मर्ने क्रम रोकिएको छैन। डब्लुएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले समाचार एजेन्सी एनएनआईसँग भनेका छन्– कोरोनाको सुरुवातबारे गहिरोसँग अध्ययन गर्न जरुरी छ। 

बिबिसीका अनुसार यस विषयमा चीनसँग कुरा भइरहेको र कोरोना संक्रमण कसरी र कहाँबाट सुरु भयो भन्ने विषयमा अध्ययन गर्न एउटा टोली चीन जाने तयारीमा रहेको उनले जानकारी दिए।
(नागरिक न्युजबाट)

ताजा खबर