रसुवागढी नाका खुलाउने तयारी

२०७७ असार २० शनिबार ०८:४८:०० मा प्रकाशित

रसुवा । नेपाल–चीन व्यापार नाका रसुवागढी खुलाउने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीका कारण रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालन हुने भएको छ । गत साता बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति भएपछि नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराइसकेका छन् ।

रसुवा भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिहीबारदेखि चीनको केरुङमा सामग्री लोड हुन थालेको भए पनि सोमबारबाट सामग्री आयात हुने छ । बिहीबारदेखि सामग्री लोड हुन थालेको छ, उहाँले भन्नुभयो, सोमबारदेखि सामग्री आयात हुने चिनियाँ पक्षले बताएका छन्, खड्काले भन्नुभयो ।

रसुवागढी नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने छन् । सुरुमा ट्रायलका लागि चिनियाँ चारवटा ट्रकले सामग्री लिएर मितेरी पुल आउने छन् । मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिने छ । मितेरी पुलबाट चीनतर्फ भने जान पाइने छैन ।

कोरोना भाइरस सङ्क्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ । सुरुमा स्थानीयले कोरोना भाइरस भित्रिन सक्ने त्रासमा नाका नखोल्ने अडान लिएका कारण नाका सञ्चालनमा आउन सकेको थिएन । ०७१ मङ्सिर १५ गते यो नाका औपचारिक रूपमा खुला भएको हो । राजधानीबाट केरुङ १४८ किमी टाढा छ । केरुङबाट सिगात्से पाँच सय ४८ किमी टाढा छ । सिगात्सेसम्म रेल आएको र रसुवागढी नाकासम्म रेलमार्गले जोड्ने चीनको योजना छ । नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।  
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर