क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षलाई कोरोना संक्रमण

२०७७ असार २० शनिबार ०७:५४:०० मा प्रकाशित

राजविराज : क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय सप्तरीका एक वडाध्यक्ष कोरोना संक्रमित भएका छन् । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ का ५८ वर्षीय वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको तिलाठी कोइलाडी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका जनप्रतिनिधीहरु, कर्मचारी, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकमीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा वडा अध्यक्षको रिपोर्ट पोजिटिभ आएको हो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणबाट रिपोर्ट पोजिटिभ आएपछि उनलाई आफ्नै निवासमा आइसोलेसन गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए ।

वडा अध्यक्ष र अग्निसाईर कृष्णसवरण गाउँपालिकाका १२ वर्षीय बालक संक्रमित भएपछि समुदायमा संक्रमण फैलिएको पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । पछिल्लो दुई सातामा तिलाठी कोइलाडी गाउँपालिकामा संक्रमितको सङ्ख्या ह्वात्तै बढेर ४२ पुगेको छ । सप्तरीको संक्रमित हुनेको सङ्ख्या १ सय ५० नाघेपछि असार २ गते मात्र तिलाठी कोइलाडी गाउँपालिकामा पहिलो संक्रमित फेला परेको थियो । पहिलो संक्रमित भारतको हरियाणाबाट आएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ३९ वर्षीय पुरुष हुन् । भारतको सीमावर्ती तिलाठी कोइलाडी गाउँपालिकामा दुई साताको अवधिमा ४२ संक्रमित पुष्टि भएर जिल्लाकै सबैभन्दा दोस्रो बढी संक्रमित हुने स्थानीय तह बनेको छ । भारतको सीमावर्ती बलान बिहुल गाउँपालिकामा संक्रमित ४४ पुगेको छ ।

भारतबाट आउनेको चाप कमी भएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा कमी आएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित क्वारेन्टाइन खाली भएको छ भने वडा नम्बर ७ स्थित बभनगामा कट्टीको क्वारेन्टाइनमा ४० जना रहेको झाले बताए । जिल्लामा पहिलो पटक सञ्चालनमा आएको क्वारेन्टाइन पनि बभनगामास्थित क्वारेन्टाइन हो । उक्त क्वारेन्टाइनमा बसेका करिब २७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत झाले बताए । 

सप्तरीमा चार दिनको अवधिमा ५८ जनामा कोरोना पुष्टि भएपछि कूल संक्रमितको सङ्ख्या २ सय ६७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । गत सोमबार १७, मङ्गलबार २२, बुधबार १० र बिहीबार ९ जना गरी ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

बिहीबार संक्रमण पुष्टि भएकामध्ये ८ जना बलान बिहुल गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका र एक जना सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका सिरहा निवासी रहेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले बताए । बुधबार थप भएका १० जना संक्रमितहरु सुरुङ्गा नगरपालिकाका रहेका छन् भने मङ्गलबार थपिएका २२ संक्रमितहरुमा तिलाठी कोइलाडी गाउँपालिकाका १०, महादेवा गाउँपालिकाका १० तथा अग्निसाइर कृष्णसवरन गाउँपालिका र राजगढ गाउँपालिकाका १/१ जना रहेका छन् । त्यस्तै सोमबार कोरोना पुष्टि भएका १७ जनामध्ये तिलाठी कोइलाडी गाउँपालिकामा १५ तथा रुपनी गाउँपालिका र महदेवा गाउँपालिकामा १/१ जना रहेका छन् ।

यससँगै बलान बिहुल गाउँपालिका ४४, तिलाठी कोइलाडी गाउँपालिकामा ४२, हनुमाननगर कंकालिनी नगरपालिकामा ३८, बोदेबर्साइन नगरपालिकामा ३४, छिन्नमस्ता गाउँपालिकामा २३, राजगढ गाउँपालिकामा १९, राजविराज नगरपालिकामा १५, सुरुङ्गा नगरपालिकामा १३, महदेवा गाउँपालिका १२, डाक्नेश्वरी नगरपालिकामा १२ र तिरहुत गाउँपालिकामा चार जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख यादवले बताए ।

यसैगरी सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, खडक नगरपालिका, अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा २/२ जना, शम्भुनाथ नगरपालिका, विष्णुपुर गाउँपालिका र रुपनी गाउँपालिकामा १/१ जना कोरोना संक्रमित फेला परेका छन् । सप्तरी जिल्लामा कोरोना जितेर निको हुनेको सङ्ख्या १ सय ३९ पुगेको छ भने राजविराजस्थित साईकृष्णा आइसोलेशन कक्षमा १ सय २६ जनाको उपचार भइरहेको छ । राजविराजस्थित साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा बेड सङ्ख्या १ सय ३ रहेकोमा संक्रमितको सङ्ख्या बढ्दै गएपछि ७५ वटा शैया थप गरी १ सय ७८ पुर्‍याएको कोभिड १९ व्यवस्थापन संयोजक समेत रहेका गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले बताए । 
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर