सलहले पाँच जिल्लाको ११ सय १८ हेक्टरमा क्षति

२०७७ असार २० शनिबार ०७:१४:०० मा प्रकाशित

– अलिअलि बिरुवा खाए पनि उत्पादनमै असर पुग्दैन : केन्द्र

– शुक्रबारदेखि हावा पूर्वबाट पश्चिम बगेकाले सलह भित्रिने सम्भावना दुई–चार दिनलाई टर्‍यो

काठमाडौँ — अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै भारतबाट नेपाल भित्रिएको सलहले यहाँका पाँच जिल्ला (दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पा) मा बढी क्षति पुर्‍याएको छ । सलहले मकै, तरकारी, फलफूल र भटमास गरी ती जिल्लामा मात्रै करिब ११ सय १८ हेक्टरमा क्षति पुर्‍याएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रले जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहको समन्वयमा अन्य जिल्लाको क्षतिको विवरण संकलन गरिरहेको बताएको छ । केही जिल्लामा सलह बसे पनि क्षति सामान्य नै छ । ‘यो प्रारम्भिक अनुमान हो । खेतमै गएर हेर्दा प्रतिशतमा सामान्य भिन्नता आए पनि क्षेत्रमा फरक आउँदैन,’ केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले भने, ‘सलहहरू छरिएर बसेकाले खासै क्षति भएको छैन ।’ केन्द्रका अनुसार सबैभन्दा बढी दाङमा क्षति पुर्‍याएको छ । दाङमा मकै तथा तरकारी बाली गरेर ५ सय ८० हेक्टरमा क्षति पुर्‍याएको छ । दोस्रोमा प्यूठानमा क्षति पुगेको केन्द्रले तयार पारेको विवरणमा उल्लेख छ ।

सलहले प्यूठानमा मकै, फलफूल, तरकारी तथा भटमास बाली गरेर २ सय ८३ हेक्टरमा सामान्यदेखि मध्यम क्षति पुर्‍याएको सलह सूचना केन्द्रका संयोजकसमेत रहेका सुवेदीले जानकारी दिए । ‘ती क्षेत्रमा उत्पादन नै क्षति हुने गरी कीराले खाएको छैन । बिरुवा अलिअलि खाएको छ, अत्यधिक नोक्सानी देखाउने गरी छैन,’ उनले भने, ‘मध्यम क्षतिको स्तर भनेको करिब १५ देखि २० प्रतिशत हो ।’ केन्द्रका अनुसार प्यूठानमा केही संख्यामा सलह अझै सक्रिय छन् । केही सलह भने उत्तरतर्फ लागेका छन् । कृषि ज्ञान केन्द्र, जिल्ला एवं स्थानीय तहबाट थप अध्ययन र विवरण संकलन भइरहेको सुवेदीले बताए ।

मकवानपुरमा सलहले मकै र तरकारी गरी १ सय ५ हेक्टरमा क्षति पुर्‍याएको छ । यहाँका क्षति पनि सामान्य र मध्यमस्तरका छन् । केन्द्रले यसअघि १ हजार हेक्टरभन्दा बढी क्षेत्रफल सलहले कब्जा गरेको बताउँदै आएको थियो । तर सलहका झुन्ड छुट्टिएपछि क्षति कम भएको केन्द्रको दाबी छ । ‘मकवानपुरमा एक झुन्ड थियो । त्यो छुट्टिएर दुई–तीन गाविसमा बसेको थियो,’ सुवेदीले भने ।

केन्द्रका अनुसार सिन्धुलीमा मकैमा सामान्य क्षति भएको छ । अर्घाखाँचीमा मकै तथा तरकारी गरेर एक सय हेक्टरमा क्षति पुर्‍याएको उनले बताए । पाल्पामा पनि मकै र तरकारी बालीमा ५० हेक्टर क्षति भएको छ । रोल्पामा मकैमा सामान्य क्षति भएको छ । कीराहरू अझै सक्रिय भएकाले थप विवरण संकलन भइरहेको उनले जनाए । ‘रोल्पा, रुकुम र प्यूठानमा खासै क्षति नदेखिए पनि विवरण आउन बाँकी छ,’ उनले भने । केन्द्रका अनुसार शुक्रबारदेखि हावा पूर्वबाट पश्चिमतर्फ बगेको छ । उक्त दिशामा हावा बगे दुई–चार दिन सलह नेपाल नआउने केन्द्रका सुवेदीले बताए । ‘आज पूर्वदेखि पश्चिम गएको छ । त्यही भएर दुई–चार दिन सलह आउँदैन । अब त्यति समस्या छैन,’ उनले भने ।

५२ जिल्लामा फैलियो

केन्द्रका अनुसार साना तथा ठूला समूह गरी ५२ जिल्लामा सलह देखिएको छ । प्रायः जिल्लामा छरिएरका स–साना झुन्ड रहेकाले उल्लेख्य क्षति नभएको केन्द्रले जनाएको छ । विवरणअनुसार असार १३ मा नेपाल प्रवेश गरेको सलह फैलिने क्रम जारी छ । उक्त दिन बारा–पर्साबाट करिब १२ देखि १५ लाखको संख्यामा प्रवेश गरेको सलह अहिले बारा, पर्सा, रौतहट, मकवानपुर हुँदै चितवन पुगेको छ ।

१३ गते नै सर्लाहीबाट करिब ८ देखि १० लाखको संख्यामा भित्रिएको सलह सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोटसम्म पुगेको छ । सोही दिन रूपन्देहीबाट करिब १२ देखि १५ लाख संख्यामा भित्रिएको सलह रूपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा, कास्की, लमजुङ हुँदै गुल्मीसम्म पुगेको छ । १४ गते कपिलवस्तुबाट ८ देखि १० लाखको संख्यामा प्रवेश गरेको सलह कपिलवस्तु, अर्घाखाँची, दाङ, प्यूठान, रोल्पा र रुकुममा पुगेको छ । १५ गते २० देखि २५ लाखको संख्यामा रूपन्देहीमा प्रवेश गरेको सलह रूपन्देही, अर्घाखाँची, दाङ, प्यूठान र रोल्पासम्म पुगेको छ । १६ गते करिब २ हजारको संख्यामा डडेलधुराबाट छिरेर त्यहाँ बसेको छ । सोही दिन आठदेखि १० हजारको संख्यामा कैलाली प्रवेश गरेको सलह पनि त्यतै बसिरहेको छ ।

‘सलहको गणना विधि अनुमानमा आधारित हुन्छ,’ उनले भने, ‘खासगरी एक किलोमिटर स्क्वायरको बथानमा एक करोड कीरा हुन्छन् । झुन्डको लम्बाइ/चौडाइका आधारमा संख्या अनुमान गर्ने हो । ठ्याक्कै यति नै हुन्छ भन्ने पनि हुँदैन ।’
(कान्तिपुर अनलाइनबाट)

 

ताजा खबर