काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा चिनियाँ कम्पनीको चासो

२०७४ कार्तिक १४ मंगलबार ०७:३८:०० मा प्रकाशित

दुई चिनियाँ कम्पनीले काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा चासो देखाएका छन्। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सिनो हाइड्रो र चाइना रेलवे कम्पनीले सुरुङमार्ग निर्माणमा चासो देखाएका हुन्। त्यसमध्ये पावर चाइना (सिनो हाइड्रो)का उच्च प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरलाई भेटेरै प्रस्ताव राखेका छन्। रेलवे कम्पनीका प्रतिनिधि भने सुरुङमार्गको स्थलगतसहित सम्पूर्ण प्रतिवेदन अध्ययन गरी चीन फर्किएका छन्।

मन्त्री बलायरले सुरुङमार्ग निर्माण सम्बन्धमा पावर चाइनका प्रतिनिधिसँग गहन छलफल भएको बताए। ‘काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग निर्माण ढिला भइरहेको थियो। अब यसलाई स्थगित नै गर्ने भन्ने मनस्थितिमा सरकार पुगेको थियो। यही समयमा सुरुङमार्ग निर्माणमा चासो देखाउँदै भेट्न आएका पावर चाइनाका प्रतिनिधिसँग छलफल भएको छ। उनीहरूको प्रस्तावमा विश्वस्त हुने केही आधार भेटिएका छन्,’ उनले भने।

सुरुङमार्गको डिपिआर परिमार्जन गर्न प्रस्ताव

पावर चाइनाका प्रतिनिधिले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) परिमार्जन गर्न चाहेको मन्त्री बलायरले बताए। ‘सुरुङमार्ग निर्माणका विषयमा विस्तृत छलफल भयो। उनीहरूले डिपिआरमा केही परिमार्जन चाहेका छन्। त्यसो हुन सके लगानी गर्न सक्ने उनीहरूको आशय थियो। पावर चाइनाको सिनो हाइड्रोले नेपालमा यसअघि पनि धेरै खालका पूर्वाधार निर्माण गरेको छ, सुरुङमार्ग निर्माणमा चासो देखाएकाले विश्वस्त हुने ठाउँ देखियो,’ उनले भने।

सुरुङमार्ग निर्माता नेपाल पूर्वाधार विकास कम्पनीका सञ्चालक सदस्य सुवासचन्द्र ठकुरीले पावर चाइनासँगै सुरुङमार्ग निर्माणमा चाइना रेलवे कम्पनीले पनि तीव्र इच्छा राखेको बताए। रेलवे कम्पनीले लगानीका लागि चिनियाँ बैंकसँग प्रक्रिया नै थालेको उनको दाबी छ। इच्छा राख्ने दुईमध्ये जुन कम्पनी भरपर्दो हुन्छ, उसैसँग सुरुङमार्ग निर्माणको सम्झौता हुने ठकुरीले बताए। ‘सुरुङमार्ग निर्माणमा दुईवटा कम्पनीले इच्छा देखाएका छन्। त्यसमध्ये जुन कम्पनी भरपर्दो हुन्छ, उसैसँग सम्झौता हुन्छ। त्यसलगत्तै निर्माणकार्य अघि बढ्छ,’ उनले भने।

सुरुङमार्ग निर्माणको म्याद थपिने

चिनियाँ कम्पनीसँगको भेटपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सुरुङमार्ग निर्माणको म्याद थप्ने मनस्थितिमा पुगेको छ। अब थप हुने म्याद अवधि भने निर्माता कम्पनीका लागि अन्तिम हुनेछ। ‘सुरुङमार्ग निर्माण गर्न चिनियाँ कम्पनी आएपछि म्याद अवधि थप्ने कि भन्ने मनस्थितिमा मन्त्रालय पुगेको छ। यदि म्याद थप भए त्यो निर्माता कम्पनीका लागि अन्तिम हुनेछ। निर्माता कम्पनीले त्यस अवधिभित्र कुनै हालतमा सुरुङमार्ग निर्माण गरिसक्नुपर्नेछ, नत्र सम्झौता खारेज हुनेछ,’ मन्त्री बलायरले भने।

 

पाँच वर्षभित्र सुरुङमार्ग बनाइसक्ने लक्ष्यका साथ निर्माता नेपाल पूर्वाधार विकास कम्पनीले १७ पुस ०६८ देखि काम सुरु गर्नुपर्ने थियो। निर्धारित समयमा काम सुरु गरिएको भए वर्ष दिनअघि नै सुरुङमार्ग निर्माणको काम सकिइसक्ने थियो। तर, अहिलेसम्म काम शून्य छ। नयाँ पत्रिकाबाट ।

ताजा खबर